समाज


वुहानबाट बिहानै काठमाडौं ल्याइएका १७५ नेपालीलाई पुर्‍याइयाे खरिपाटी

वुहानबाट बिहानै काठमाडौं ल्याइएका १७५ नेपालीलाई पुर्‍याइयाे खरिपाटी

नेपालखबर
फागुन ४, २०७६ आइतबार १:१७,

सुरुमा कोरोना भाइरसको संक्रमण फैलिएको चीनको वुहानबाट उद्धार गरी आज (आइतबार) बिहानै काठमाडौं ल्याइएका नेपालीलाई भक्तपुरको खरिपाटी पुर्‍याइएकाे छ।  

नेपाल वायु सेवा निगमको वाइडबडी जहाजमा ल्याइएका १ सय ७५ नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओराल्नेबित्तिकै क्वारेन्टाइन व्यवस्था गरिएको ठाउँ खरिपाटी लगिएको हो।

अवतरणलगत्तै विमानमा दिइएको खानेकुरा उनीहरुलाई डिस्पोजल गर्न लगाइएको थियो। लगत्तै त्यही स्टन्डबाई राखिएका बसहरुमा उनीहरुलाई राख्दै खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र पुर्‍याइएकाे हाे। 

promaaaa

चिनियाँ समयअनुसार चीनकाे वुहानबाट शनिबार राति १२ बजे उडेका उनीहरु आइतबार बिहान ४ बजेतिर त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए।

विमानस्थलमै आपुगेका ६ वटा बसले आफूहरुलाई खरिपाटी लिएर गएकाे वुहानबाट फर्किएका विद्यार्थी अशोक साहले नेपालखबरलाई जानकारी दिए। 

ती बससँगै एम्बुलेन्स, स्वास्थ्यकर्मीकाे टाेली तथा एपीएफको गाडी पनि खरिपाटी पुगेका थिए।

त्यहाँ उनीहरुलाई त्यहाँ १४ दिनसम्म राखिनेछ। परिवारसँग भेट्न दिइने छैन। 

कोरोना भाइरस संक्रमण छ छैन परीक्षण गरी स्वस्थ रहेको पाइएमा मात्र उनीहरूलाई १४ दिनपछि आफ्नो घर जान दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए।

‘कुनै पनि शंकास्पद लक्षण देखिए उनीहरूलाई तुरुन्त अस्पताल लगिनेछ,’ प्रवक्ता श्रेष्ठले भने, ‘कथं कोरोना संक्रमण रहेछ भने अरूलाई नफैलियोस् भनेर सुरक्षा अपनाइएको हो।’

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमण भइसकेको भए पनि त्यसका लक्षण देखिन कम्तीमा २ हप्ता लाग्ने भनेकाले वुहानबाट ल्याइएका नेपालीलाई १४ दिन क्वारेन्टाइन अर्थात् सुरक्षित स्थलमा राख्न लगिएको हो।

तर कुनै पनि स्वास्थ्य समस्या देखिएमा चीनले उताबाट नेपाल जान नदिने भएकाले आएका यी १७५ नेपालीमा कोरोना संक्रमण नभएको अनुमान गर्न सकिन्छ।

उनीहरूसँगै नेपाल आउन ठिक्क परेका ६ जना नेपालीलाई विमान चढ्ने बेला वुहानको विमानस्थलमा परीक्षण गर्दा ज्वरो आएको पाइएपछि उतै रोकिएका छन्। यस हिसाबले पनि यता आएका नेपालीमा संक्रमण नभएको अपेक्षा गर्न सकिन्छ।

वुहानबाट ल्याइएका १ सय ७५ नेपालीमध्ये १ सय ७० विद्यार्थी, दुई जना चीन घुम्न गएका पर्यटक, दुई बालबालिका र एक जना कामदार छन्। जसमा १३४ पुरुष र ४१ महिला छन्।

कोरोना भाइरस (कोभिड १९) को संक्रमण चीनभर र अन्य दुई दर्जन मुलुकमा फैलिएपछि हुबेईमा रहेका १ सय ८५ नेपालीले घर फर्कन बेइजिङस्थित नेपाली दूतावासमा निवेदन दिएका थिए।

 दूतावासका अनुसार तीमध्ये ४ जनाले उतै बस्ने निर्णय गरेको र अरू ६ जना भने चाहेर पनि फर्कन पाएनन्। कारण ४ जनामा ज्वरो देखिएकाे र दुई जना उनीहरूको परिवारका सदस्य हुनाले नेपाल आउन नपाएका हुन्।

नेपालीको उद्धारका लागि काठमाडौंबाट गएको नेपाली ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी विमान चिनियाँ समयअनुसार करिब १० बजे नेपाली समय राति करिब ८ बजे वुहानको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।

नेपाली समयअनुसार करिब १० बजे उडेको विमान बिहान ४ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो।

याे पनि

वुहानबाट काठमाडौं आइपुगे १७५ नेपाली, अरू १० जना किन उतै रोकिए?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad