समाज


विश्वविद्यालयबाट विद्यार्थीहरू चरित्रवान् भएर निस्कनुपर्छ : प्रधानमन्त्री

विश्वविद्यालयबाट विद्यार्थीहरू चरित्रवान् भएर निस्कनुपर्छ : प्रधानमन्त्री

नेपालखबर
बैशाख ९, २०८१ आइतबार १५:२५, काठमाडौँ

पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र तीव्ररूपमा रुपान्तरण गर्नका लागि वैज्ञानिक एवं प्रविधिक जनशक्ति आवश्यकता पर्ने बताएका छन्।

सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति प्रचण्डले युग सुहाउँदो जनशक्ति देशलाई खाँचो पर्ने बताए।

विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभई व्यावहारिक, जीवनोपयोगी तथा सामाजिक रूपान्तरणका लागि सहयोगी हुनुपर्नेमा जोड दिँदै उनले राष्ट्र र जनताप्रति उत्तरदायी भएर कर्तव्य निर्वाह गर्न सक्ने जनशक्ति उत्पादनमा विश्वविद्यालयको ध्यान जानुपर्ने धारणा राखे।

‘युवाहरू राष्ट्रका भविष्य हुन्। तसर्थ विश्वविद्यालयबाट निस्कँदा उनीहरू चरित्रवान् र अनुशासित हुनुका साथै राष्ट्र र जनताप्रति उत्तरदायी भएर कर्तव्य निर्वाह गर्न सक्ने हुनुपर्दछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘मुलुकको लोकतान्त्रिक प्रणालीलाई थप सबल तथा सुदृढ बनाउन र अर्थतन्त्रलाई तीव्र रूपान्तरण गर्न वैज्ञानिक जनशक्ति चाहिन्छ। उनीहरू सिर्जनात्मक र युगसुहाउँदो हुनुपर्छ।’

विश्व शैक्षिक बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनका लागि विश्वविद्यालयले शैक्षिक तथा व्यवस्थापकीय क्षेत्रमा समयानुकूल सुधार गर्दै अघि बढ्न जरूरी रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो। 

सुदूरपश्चिम प्रदेशका नागरिकहरूको उच्च शिक्षामा पहुँच विस्तार गर्न विश्वविद्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको उल्लेख गर्दै उनले विभिन्न विधामा गुणस्तरीय जनशक्ति उत्पादन गरी मुलुकमा आवश्यक दक्ष जनशक्तिको खाँचो पूरा गर्न विश्वविद्यालयले सहयोग गरेको उल्लेख गरे। 

प्राविधिक धारतर्फ स्वास्थ्य विज्ञान सङ्कायअन्तर्गत चिकित्सा शिक्षाको पठनपाठन सुरू गरिसकेको विश्वविद्यालयले सेवा विस्तार गर्नुपर्ने उनको धारणा थियो।

गेटामा राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय स्थापना भएपछि सुदूरपश्चिम क्षेत्रमा विशेषज्ञ उपचार सेवामा पहुँच सुनिश्चित गर्न सकिने उनको भनाइ थियो। 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad