समाज


बच्चा जन्माएको डेढ घण्टापछि आमाको मृत्यु

बच्चा जन्माएको डेढ घण्टापछि आमाको मृत्यु

नेपालखबर
बैशाख १०, २०८१ सोमबार १७:२२, हुम्ला

हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका–७ रोडिकोटमा सुत्केरी भएको केही समयपछि एक जना महिलाको मृत्यु भएको छ।
    

स्वास्थ्यचौकीमा प्रसूति गराउन गएकी २८ वर्षीया रिता देवकोटाको आइतबार राति १२ः३० बजे रोडिकोट स्वास्थ्यचौकीमा मृत्यु भएको हो। देवकोटाले बच्चालाई जन्म दिएको १ः३० घण्टा पछि मृत्यु भएको हो।

मृतक देवकोटालाई शुक्रबारदेखि पानी बग्ने समस्या देखिए पनि आफन्तले ढिला आइतबार बिहान ११ बजे मात्रै स्वास्थ्यचौकी पुर्याउँदा समस्या उत्पन्न भएको स्वास्थ्यचौकीका इञ्चार्ज टिका बोहराले बताए।

इञ्चार्ज बोहराका अनुसार, आफन्तले भूतप्रेत लागेको भन्दै सुत्केरी ब्यथाले च्यापेको एक दिनपछि मात्रै स्वास्थ्यचौकीमा ल्याउँदा समस्या भएको हो। रोडिकोट स्वास्थ्यचौकीमा कार्यरत अनमी लगायत सबै स्वास्थ्यकर्मी लागि परेर रातिको १०ः३० बजे बच्चा जन्माउन सफल भए पनि त्यसको केही समयपछि देवकोटाको मृत्यु भएको उनले बताए।

उनले भने, ‘बच्चा जन्माउनु अगाडि रगत बग्ने समस्या थियो। बच्चा जन्माएपछि रगत बग्न रोकिए पनि त्यसको केही समयपछि मृत्यु भयो।’
    

मृतक देवकोटाको उद्धारका लागि खबर गर्न रात परिसकेको हुनाले थप समस्या निम्तिएको उनको भनाइ छ। गाउँपालिका स्वास्थ्य शाखालाई खबर गर्न फोन गर्दा फोन नउठेको उनको भनाई छ।

यता जिल्ला अस्पतालका वरिष्ठ अनमी सरिता बोहरासँग परामर्श लिएर बच्चा सकुशल जन्माएको उनले बताए। तर दुर्भाग्यबस आमाको मृत्यु भयो। यसअघि देवकोटालाई सर्केगाड स्वास्थ्य शाखामा उपचार गराउँदा समस्या रहेको बताउँदा घरपरिवारले कुनै चासो नराखेको उनको भनाइ छ।

देवकोटाले पहिलो सन्तानका रुपमा छोरीलाई जन्म दिएकी थिइन्। दुर्गम हुम्लाका अधिकांश महिलाले कहिले उद्धार त कहिले उपकरणका साथै विज्ञ स्वास्थ्यकर्मीबाट सेवा नपाउँदा अकालमै ज्यान गुमाउनु परेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .