समाज


दलहरूले शैक्षिक क्षेत्रमा भ्रातृ संगठनको परिचालन गर्न रोक्नुपर्छ : उपकुलपति बराल

दलहरूले शैक्षिक क्षेत्रमा भ्रातृ संगठनको परिचालन गर्न रोक्नुपर्छ : उपकुलपति बराल

नेपालखबर
बैशाख २७, २०८१ बिहिबार १८:५२, काठमाडौँ

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले राजनीतिक दलहरुले शैक्षिक क्षेत्रमा भ्रातृ संगठनलाई परिचालन गर्न रोक्नुपर्ने बताएका छन्।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उपकुलपति बरालले शैक्षिक क्षेत्रमा राजनीतिक दलका भ्रातृ संगठनहरुलाई परिचालन गर्न रोक्नुपर्ने बताएका छन्। 

‘हामीले परिक्षा लिन्छौँ तर नतिजा महिनौँ ननिस्किएको कुरा सत्य हो। तथ्यलाई हामीले स्वीकार्नु पर्छ। परीक्षालाई सुधार्न मेरो टिम लागिराखेको छ। परीक्षा क्यालेण्डर बनाउने, परीक्षा सुधार्ने र समयमा रिजल्ट निकाल्ने भन्ने कुरा हाम्रो पहिलो प्राथमिकता भएको हुनाले अब आउने एक वर्षभित्रमा क्यालेण्डर लागू गर्ने र परीक्षालाई समयमै निकाल्ने हाम्रो योजना छ,’ उनले भने, ‘सबैले स्वीर्कानुपर्ने कुरा के हो भने जति दल छन्, ति दलका विद्यार्थी संगठन, कर्मचारी संगठन र प्राध्यापक संघ पनि छन्। एक दिन एउटा पार्टीको आउँछ। अर्कोदिन अर्को पार्टीको आउँछ। त्यसैमा हामी धेरैजसो अल्झिराख्नु परेको छ। हामीले अनावश्यक रुपमा आफ्नो भ्रातृ संगठनलाई परिचालन गर्न रोक्नुपर्छ।’

हरेक दलको विद्यार्थी, कर्मचारी र प्राध्यापक संगठन रहेका भन्दै उनले हरेक दिन उनीहरुसँग नै अल्झिरहनु परेको बताउँदै उनले विगतमा भ्रातृ संगठनहरु आवश्यक भएपनि अबका दिनमा शैक्षिक संस्थामा भातृ संगठनहरुको उपयोगिताको सम्बन्धमा दलहरुले सोच्नुपर्ने बेला आएको बताए। 

आफूहरूले पनि विश्वविद्यालयलाई कसैमाथि आग्रह, पूर्वाग्रह नराखि शुद्ध किसिमले चलाउने बताए।

‘अब शैक्षिक क्षेत्रमा, शैक्षिक संस्थाहरुमा भ्रातृ संस्थाहरुलाई परिचालन गर्नुपर्ने छ कि छैन भन्ने कुरामा यहाँहरुले पनि सोच्नुपर्ने बेला आएको छ। हामीले पनि शुद्धगरी, केही बायस नगरी विश्वविद्यालय सञ्चालन गर्ने भनेका छौँ। भागबण्डा लगाउनु हुन्न भन्नेकुरा छ,’ उनले भने। 

उनले त्रिभुवन विश्वविद्यालयले मात्रै क्यालेण्डर प्रणाली लागू गर्छु भनेर नहुने भन्दै एसईई परीक्षा लगायतका परिक्षाहरु र अन्य विश्वविद्यालयको क्यालेन्डरसँग पनि सम्बन्धित हुने पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .