आज (मंगलबार) मध्य र पूर्वी क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त्यस्तै पश्चिमी क्षेत्रमा पनि थोरै स्थानमा पानी पर्ने संकेत देखिएको महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए।
अहिले देशका धेरैजसो भू भागमा मौसम सामान्य बदलीको अबस्था छ। काठमाडौँ उपत्यकामा पनि आंशिक बदली छ।
‘आज दिउँसो र साँझपख काठमाडौँ उपत्यकासहित मध्य र पूर्वी भेगमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ,’ मौसमविद् श्रेष्ठले नेपालखबरसँग भने, ‘पश्चिमका पहाडी क्षेत्रमा पनि पानी पर्ने सम्भावना छ।’
गएराती काठमाडौँ उपत्यकामा २८ मिलिलिटर वर्षा भएको छ। तर, आधा असार वितिसक्दा समेत नेपालमा पर्यााप्त वर्षा हुन भने सकेको छैन।
मनसुन कमजोर हुँदा यस वर्ष कम वर्षा भएको मौसमविद् श्रेष्ठले बताए।
पर्याप्त वर्षा कहिले हुन्छ?
लगातार झरी सुरु हुन भने अझै केही दिन लाग्ने मौसमविद् श्रेष्ठको अनुमान छ। यस वर्ष मनसुन नै ढिला गरी भित्रिएकाले लगातार वर्षा हुन समय लागेको उनले बताए।
सामान्यतया जुन १० मा मनसुन नेपाल प्रवेश गर्ने गर्छ। तर, यस वर्ष १० दिन ढिला गरी मनसुन नेपाल भित्रिएको थियो।
‘पर्याप्त पानी पर्न न्यूनचापिय रेखाको विकास हुनुपर्छ,’ श्रेष्ठले भने, ‘त्यो रेखा अहिले भारतको उत्तर प्रदेशमा छ। नेपालतर्फ त्यो रेखा नसरी पर्याप्त बर्षा हुँदैन।’
न्यूनचापिय रेखा नेपाल तर्फ सर्नेक्रममा रहेको श्रेष्ठले बताए।
महाशाखाको तीनको मौसम पूर्वानुमान यस्तो छ
महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गर्ने गरेको छ।
महाशाखाले मंगलबार सार्वजनिक गरेको मौसम पूर्वानुमान यस्तो छः देशभर सामान्य बदलि भई पूर्व र मध्य क्षेत्रका केही स्थानहरुमा र पश्चिमका थोरै स्थानहरूमा मेघगर्जन सहितको हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया