समाज


जया प्रदासँग ओली प्रसन्न हुँदा आइफा अवार्ड निर्णय

जया प्रदासँग ओली प्रसन्न हुँदा आइफा अवार्ड निर्णय

कृष्ण आचार्य
असार १७, २०७६ मंगलबार १६:५७,

२३ चैत २०७४। प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा थिए। प्रधानमन्त्रीको भ्रमण दलमा सँगै थिए नेपाली कलाकारहरु राजेश हमाल र दिनेश डिसी।

उनीहरु किन पनि टोलीमा थिए भने दिल्लीमा प्रधानमन्त्रीले बलिउड कलाकारसँग अन्तरक्रिया गर्ने तालिका थियो।

बलिउड कलाकारसँग गर्ने भनिएको अन्तरक्रियामा शाहरुख खान, रणवीर सिंह, दीपिका पादुकोडजस्ता अब्बल कलाकार उपस्थित भएनन्। जया प्रदा, राजपाल यादव, अमिसा पटेलसहित अन्य बलिउड सेलिब्रेटी उपस्थित भए।

प्रधानमन्त्री र भारतीय कलाकारबीच भएको छलफलमा बलिउडको चर्चित ‘जी सिने अवार्ड’ नेपालमा आयोजना गर्ने विषय उठ्यो। जी टिभीका मालिक डा.सुभाश चन्द्रले भारतीय कलाकारमार्फत त्यो प्रस्ताव प्रधानमन्त्री ओलीसमक्ष राखेका थिए। प्रस्तावमा ओली सकारात्मक देखिए। उनी स्वदेश फर्किएसँगै केही सञ्चार माध्यममा खबर पनि आयो, ‘काठमाडौंमा जी सिने अवार्ड हुने भयो।’

मिति घोषणा समेत भइसकेपछि काठमाडौंमा हुने भनिएको सो अवार्ड रद्द भयो। के कारणले त्योहुन सकेन भन्ने कुरा अहिलेसम्म गोप्य छ।
जानकारहरुका अनुसार अहिले विवादमा परेको आइफा अवार्ड काठमाडौंमा आयोजना गर्ने विषय त्यही विन्दूबाट सुरु भएको हो।

केही महिनाअघि ओडिसी इन्टरटेन्मेन्टले बलिउडका हस्ती सलमान खान र कपिल शर्माको कार्यक्रम टुँडिखेलमा गर्ने तयारी गरेको थियो। टिकट बिक्री भयो। मञ्च निर्माणको काम सुरु भयो। तर अन्तिममा आएर सुरक्षा खतरा देखाउँदै उनीहरु पछि हटे। यही कारण जी सिने अवार्ड पनि रद्द भएको कतिपयको बुझाइ छ।

‘नेपालीबीच हिन्दी संगीत र बलिउड फिल्म लोकप्रिय छन्। तर त्योभन्दा बढी उनीहरुमा भारतविरोधी भावना छ’, जी सिने अवार्ड रद्द हुनुको सम्भावित कारण खोतल्दै एक उच्च प्रहरी अधिकारी भन्छन्, ‘त्यसले गर्दा बलिउड कलाकारका लागि जुनकुनै बेला काठमाडौंमा सुरक्षा खतरा हुनसक्छ।’

२०७४ चैतमा भारतको भ्रमण पूरा गरी प्रधानमन्त्री ओली काठमाडौं फर्किए। त्यहाँ बाचा गरेको जी सिने अवार्ड भएन तर जया प्रदासँग प्रधानमन्त्रीको राम्रो सम्बन्ध स्थापित भयो। २०७५ असोजमा प्रधानमन्त्रीले उनलाई नेपालको पर्यटन प्रवद्र्धन दूत नै बनाए। त्यो पनि मन्त्रिपरिषदबाट निर्णय गराएर। सन् ७० र ८० को दशककी कलाकार उनी समाजवादी पार्टी हुँदै पछिल्लो समय भारतीय जनता पार्टीको राजनीतिमा छिन्। सन् २००० देखि सक्रिय राजनीतिमा रहेकी उनी ८ वर्षदेखि कलाकारितामा निस्क्रिय छिन्।

पर्यटन दूत बनेपछि जयाको काठमाडौं आगमन अझ बाक्लियो। उनी काठमाडौं आएसँगै प्रत्येक पटक प्रधानमन्त्री निवास बालुवाटार पुग्थिन्। पार्टीका बरिष्ठ नेता तथा मन्त्रीहरुलाई उपलब्ध नहुने ओलीको समय जया प्रदाका लागि सहजै उपलब्ध हुन्थ्यो। ‘प्रधानमन्त्रीसँगको सुमधुर सम्बन्ध उपयोग गर्दै एक दिन उनले अन्तर्राष्ट्रिय इण्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) नेपालमा गर्न प्रस्ताव राखिन्। भिजिट नेपला २०२० का लागि त्यो कोशेढुंगा हुने उनको विचार थियो। प्रस्तावमा प्रधानमन्त्री ओली सहमत भएपछि यसको थालनी भएको हो’, प्रधानमन्त्री निकट स्रोत भन्छ।

बालुवाटारमा प्रधानमन्त्री स्वयंको उपस्थितिमा पटक–पटक भएका छलफलपछि आइफाको विशेष टोली काठमाडौं आयो। उसले काठमाडौंका सम्भाव्य स्थानको अवलोकन ग¥यो। आर्मी मुख्यालयमा रहेको खेल मैदानको समेत अवलोकन गर्ने काम भयो। समारोहस्थल त्यहीँ बनाउने सहमति भयो। यद्यपि प्रधानसेनापतिसहितका बरिष्ठ सैनिक अधिकारीहरु यो विषयमा आफू जानकार नभएको बताउँछन्।
यो विषय यति गुपचुप भएको थियो कि प्रधानमन्त्री निवासमा पनि सबैले थाहा पाएनन्। जयाको बाक्लो बालुवाटार आवत–जावत भने सबैले नियालिरहेका थिए।

‘जयाजी प्रधानमन्त्रीलाई भेट्न बालुवाटार आउने–जाने गरिरहनुहुन्थ्यो। आइफाको विषयमा अलिअलि हल्ला त सुनेका हो तर यो कुरा मन्त्रिपरिषदबाटै निर्णय भएर आउला र यहाँसम्म पुगेको होला भन्ने कल्पना पनि गरिएको थिएन’, बालुवाटार स्रोतले नेपालखबरसँग भन्यो, ‘पर्यटन बोर्डले यसको तालमेल मिलाएको हो। प्रधानमन्त्रीले बोर्डसँगै कुरा गरेर सबै सेट गर्ने काम भएको हो।’

ओलीको जन्मदिनमा जयाको केक
प्रधानमन्त्री निवासमा अरु दिन जस्तै २०७५ फागुन ११ मा पनि आगन्तुको भिड थियो। नेकपाका नेता एवं सरकारी निकायका प्रमुखहरु प्रधानमन्त्रीको समय पाउन लाइनमा थिए। त्यती नै बेला उनै जया एउटा ठूलो केक बोकेर बालुवाटार पुगिन्। डफली वाले बोलको गीतकी हिरोइनका प्रशंसक ओलीले उनी स्वयंले ल्याइदिएको केक अस्वीकार गर्ने कुरै थिएन। सचिवालयका सहयोगी बोलाएर प्रधानमन्त्रीले केक काटे।

‘ह्याप्पी बर्थ डे टू यु पिएम ओली’, बालुवाटारमा गुञ्जियो।

प्रधानमन्त्री निवास स्रोतका अनुसार जया सद्भावना दूत भएपछि प्रधानमन्त्री र उनीबीच कम्तिमा ५ पटक बालुवाटारमा छलफल भएको छ। जयालाई सरकारले पर्यटन सद्भावना दूत बनाएको मिति २०७५ असोजमा हो। ती छलफलहरु आइफा अवार्डमै केन्द्रित थिए।

स्रोतहरुका अनुसार प्रधानमन्त्रीले पहिलो भेटमै जयालाई आफूले जेलमा छँदा ‘डफली वाले’ गीत सुनेको र त्यसपछि फ्यान भएको बताएका थिए। ‘पहिलो पटक बालुवाटारमा भएको भेटमा भारतीय समाजवादी पार्टीका तत्कालीन महासचिव अमर सिंह पनि थिए’, स्रोतले भन्यो। पछिल्लो समय भारतीय जनता पार्टी प्रवेश गरेकी जया कुनै बेला समाजवादी पार्टीमा थिइन्। ओली र जयाबीच भेटघाटको समाजवादी पार्टीका उनै नेता अमरले मिलाइदिएका हुन्।

सचिवालय स्रोतहरुका अनुसार जयाको सम्बन्ध ओलीसँग मात्र नभएर ओली पत्नी राधिका शाक्यसँग पनि राम्रो छ। उनीहरु भेटमा लामै गफिन्छन्।

बलिउड रिटायर्ड जय पर्दा पछिल्लो समय भारतको सत्तारुढ जनता पार्टीमा छिन्। उनलाई सद्भावना दूत बनाएर ओलीले पर्यटन प्रवद्र्धन खोजेका हुन् अथवा भारतीय संस्थापनसँग सम्बन्ध विस्तारका लागि उपयोग गरेका हुन् भन्ने स्पष्ट छैन। स्पष्ट यो हो कि पर्यटन बोर्डले गर्न सक्ने कार्यक्रमलाई मन्त्रिपरिषदबाटै निर्णय गराएर ठूलो झ्याली पिट्न खोज्दा आइफा अवार्ड  विवादको घेरामा परेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .