दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ११ ले सुत्केरीलाई भाले उपहार दिन थालेको छ।
आजदेखि सुत्केरीलाई भाले वितरण सुरु गरिएको वडाध्यक्ष मानबहादुर रावतले जानकारी दिए। उनले आज दुई जना सुत्केरीलाई भाले उपहार दिएर कार्यक्रमको औपचारिक सुरुआत गरे।
हस्नापुर निवासी २१ वर्षीया सुजाता खड्का र बेल्टाकुरा निवासी ३१ वर्षीया लक्ष्मी चौधरीलाई स्थानीय जातको कुखुरा वितरण गरिएको हो। आमा र बच्चाको स्वास्थ्य राम्रो बनाउनका लागि यो कार्यक्रम सुरु गरिएको वडाध्यक्ष रावतले बताए।
‘आमा र बच्चाको स्वास्थ्य राम्रो बनाउनका लागि हामीले सन्देश दिन भाले वितरण थालेका हौँ’, उनले भने।
गर्भवती हुँदा नियमित आठ पटक स्वास्थ्य जाँच गराउनु पर्ने, अस्पतालमै बच्चा जन्माउनु पर्ने, आमाको उमेर २० वर्ष पुगेको हुनुपर्ने सन्देश दिन पनि यो कार्यक्रम सुरुआत गरिएको वडाध्यक्ष रावतको भनाइ छ।
यी कार्य नगरेमा यो सुविधा उपलब्ध नहुने उनले बताए। भाले वितरण कार्यक्रमका लागि वडाले रु एक लाख ५० हजार बजेट विनियोजन गरेको छ। रासस
Shares

प्रतिक्रिया