समाज


रातो मच्छिन्द्रनाथको रथ आज जावलाखेल पुर्‍याइँदै

रातो मच्छिन्द्रनाथको रथ आज जावलाखेल पुर्‍याइँदै

फाइल तस्बिर


नेपालखबर
साउन १७, २०८१ बिहिबार १३:४५, काठमाडौँ

वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मछिन्द्रनाथको रथ आज ललितपुरकाे जावलाखेल पुर्‍याइँदै छ।

गुठी संस्थान ललितपुरका प्रमुख वैकुण्ठ आचार्यले दिएकाे जानकारी अनुसार, ललितपुर महानगरस्थित पुल्चोकका स्थानीयसहित चन्द्रागिरि र कीर्तिपुर नगरपालिकाका सात गाउँवासीले संयुक्त रूपमा रथलाई तानेर आज जावलाखेल पुर्‍याइनेछ।

सातगाउँमा सतुंगल, नैकाप, मच्छेगाउँ, पाँगा, नगाउँ, बोसीगाउँ र कीर्तिपुर छन्। चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले परम्परागत बाजा, झाँकीसहित रातो मच्छिन्द्रनाथको रथ तानिने जानकारी दिए। ‘परम्परागत जात्रा, पर्व, धर्म संस्कृतिको संरक्षण गर्ने नगरपालिकाको नीति रहेको छ,’ उनले भने।

आज दिउँसो ४ बजेपछि रथ तान्न सुरु हुने जनाइएको छ। गुठी संस्थान प्रमुख आचार्यले भने, ‘रथ तान्ने सबै तयारी भइसकेको छ। बाजागाजासहित जावलाखेल पुर्‍याइएको चार दिनपछि  राष्ट्रप्रमुखको उपस्थितिमा भोटो देखाउने प्रचलन छ।’

गत वैशाख २७ गते बिहीबार रातो मच्छिन्द्रनाथको मूर्तिलाई पुल्चोकमा रथारोहण गरेसँगै यो जात्रा सुरु भएको थियो। रातो मच्छिन्द्रनाथको मूर्ति मच्छिन्द्रबहालस्थित मन्दिरबाट बोकेर रथारोहण गरेपछि उक्त जात्रा विधिवत् सुरु भएको थियो। रथयात्रा आरम्भ भएपछि नगरका विभिन्न ठाउँ गावहाल, मंगलबजार, सुन्धारा, लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाउँदै समापन गरिन्छ।

यो जात्रा काठमाडौं उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रा पनि हो। करिब १६ सय वर्षअघि सुरु भएको मच्छिन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना चल्छ।

‘भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङमती पुर्‍याउनुपर्ने परम्परा रही आएको छ,’  आचार्यले भने, ‘६ महिनासम्म बुङमतीमा रथ राखेपछि साइत हेरेर पाटन मच्छिन्द्रबहालमा ल्याइन्छ। यसरी रातो मच्छिन्द्रनाथको रथलाई ६ महिना पाटन र ६ महिना बुङमतीमा राख्ने गरिन्छ।’

ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनका अनुसार, रातो मच्छिन्द्रनाथको रथ जात्रा सम्पन्न भएको जानकारी दिन यसपालिदेखि भोटो देखाएको भोलिपल्ट सप्तपातल पोखरीमा माछा छोडिनेछ।

‘रातो मच्छिन्द्रनाथको जात्रा सकिएपछि जोडी परेवा उडाएर मत्र्यमण्डलमा र पोखरीमा जोडी माछा छोडेर पालाल जानकारी दिनुपर्छ, भन्ने किम्बदन्ती छ। सप्तपाताल पोखरीको विनाशसँगै यो प्रचलन रोकिएको थियो। यसपटक हामीले पोखरीको पुनःनिर्माण गरिसकेका छौँ। अब यो परम्परा पुनःजीवित हुनेछ।’

ललितपुरमा हरेक वर्ष हुने रातो मच्छिन्द्रनाथको रथजात्रा काठमाडौँ उपत्यकाको पुरानो र सबैभन्दा लामो जात्राका रूपमा चिनिन्छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad