समाज


तीज साँच्चै भड्किलो भएको कि प्रशासनले महिलाको खुसी देख्न नसकेको?

तीज साँच्चै भड्किलो भएको कि प्रशासनले महिलाको खुसी देख्न नसकेको?

गीता चिमोरिया
भदौ १७, २०८१ सोमबार ७:११, काठमाडौँ

गएको बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले तीज पर्व भड्किलो नबनाउन भन्दै एउटा विज्ञप्ति निकाल्यो। 

सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाको हस्ताक्षर रहेको उक्त विज्ञप्ति सोही दिन नै सामाजिक सञ्जालमार्फत् धेरै मानिससम्म पुग्यो। प्रशासनको यस्तो भनाइ आएपछि महिलाहरूको पर्वलाई संकुचित बनाउन खोजिएको भन्दै विभिन्न टिप्पणी भइरहेको छ। 

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत साँस्कृतिक पर्वको रूपमा रहेको तीज खर्चालु र तडकभडकको चाड नबनोस् भनेर प्रशासनले यस्तो विज्ञप्ति निकालेको बताउँछन्। प्रशासनले कोही व्यक्ति वा कुनै कार्यक्रम लक्षित नगरेको उनको भनाइ छ। 

‘यस्तो सूचना पहिलोपटक होइन। साँस्कृतिक पर्व तीज पहिलाचाहिँ एकदिन दर खाने अनि भोलिपल्ट व्रत बसेर मनाउने खालको पर्व हो,’ उनले भने, ‘अहिले मनोरञ्जनका नाममा अलि खर्चालु, अलि भड्किलो पनि हुँदै जाने, विभिन्न खालका कुराहरू सामाजिक सञ्जालमा पनि देखिने भएर यसलाई अलि मर्यादित र अनुशासित होस् अनि आफ्नो परम्परा जगेर्ना गर्ने हिसाबले मनाउनुपर्छ भनेर हामीले सार्वजनिक आह्वान गरेको हो।’

प्रशासनको विज्ञप्तिमा तीजमा तडकभडक र खर्च कम गर्न र ‘भड्किलो’ तरिकाले नमनाउन आग्रह गरिएको छ। 

‘विगतको तुलनामा हालका वर्षहरूमा तीज मनाउने क्रममा अनावश्यक तडकभडक सहितका खर्चिला कार्यक्रमहरू बढ्दै गएको देखिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ आफ्नो परम्परा एवम् सामाजिक रीतिरिवाजलाई मौलिक रूपमा संरक्षण र संवद्र्धन गर्ने बाहेक अन्य कुनै पनि खालका तीजसँग सम्बन्धित खर्चिला एवम् भड्किलो कार्यक्रम सञ्चालन नगर्नु/नगराउनु हुन हार्दिक अनुरोध छ।’  

तर प्रशासनसँग ‘भड्किलो’ को परिभाषा छैन। खासमा महिलाले तीजमा के के गर्न मिल्ने हो, के चाहिँ नमिल्ने हो? केही मापदण्ड छ? 

यस प्रश्नमा प्रमुख जिल्ला अधिकारी बस्नेतले भने, ‘भड्किलोको मापदण्डभन्दा पनि यसमा के हो भने, विभिन्न खालका रवाफ देखाउने, सबैले मनाउन सक्नेभन्दा पनि फरक ढंगबाट जानेखालको देखिएको भएर यो सबै आम नेपाली दिदीबहिनीहरूले मनाउन सक्ने खालको मर्यादित, व्यवस्थित होस् भन्ने हो। भड्किलो, तडकभडक नहोस् भन्न खोजेको त्यति मात्रै हो हामीले।’

प्रशासन कार्यालयले सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ र सामाजिक व्यवहार (सुधार) नियमावली, २०३३ सम्झाउँदै धार्मिक, सामाजिक तथा साँस्कृतिक पर्वहरू मनाउने विषयलाई यसले व्यवस्थित र नियमन गरेको उल्लेख गरेको छ। 

सामाजिक व्यवहार (सुधार) नियमावली, २०३३ को दफा १२ मा तीजमा दर पठाउने विषय उल्लेख छ। जसमा भनिएको छ, ‘तीज पर्वमा दर पठाउँदा आ–आफ्नो परम्परा अनुसार मिठाई र फलफूल जस्ता चिजबिजहरू सबै गरी बढीमा दुई किस्तीबाहेक अन्य कुनै सामग्री पठाउन हुँदैन।’ 

तर, पाँच दशकअघिको जस्तो तीजको अपेक्षा राख्न नहुने महिलाहरुको तर्क छ। आफ्नो समय मिलाएर साथीभाइ भेटघाट र मिठो मसिनो खाएका महिलालाई यसो नगर भन्ने अधिकार प्रशासनलाई नभएको उनीहरूको भनाइ छ। 

महिला अधिकारकर्मी दुर्गा कार्की वर्षभरि आफ्नो काममा व्यस्त हुने महिलाहरूले तीजको अवसर पारेर गरेको चहलपहल स्वीकार गर्न प्रशासनलाई गाह्रो परेको टिप्पणी गर्छिन्। 

‘महिलाहरू सधैँ एउटै ठाउँमा बसेको पनि होइन। उनीहरूको आफ्नो समूह, संघसंस्था वा आफ्नो साथी सर्कलमा आफूले सकेको योगदान गरेर, २००/४०० पैसा उठाएर कहिले कसकोमा कहिले कसकोमा बसेर खाने, रमाइलो गर्ने गरिरहेका छन्। सबैजनाको एकैदिन नमिल्ने भएर पनि पालैपालो भेटघाट गर्ने गरेको हुँदा अलि लामो समयजस्तो देखिएको हो,’  कार्कीले भनिन्, ‘अरू सबैदिन महिलाहरू शान्त हुन्छन्, यो तीजको समयमा चाहिँ केही दिन भिजिबल भएको प्रशासनलाई स्वीकार गर्न गाह्रो भएको हो।’

यो प्रशासनको नियन्त्रणमुखी सोचको उपज भएको उनको ठहर छ।

‘यिनीहरू चुपचाप बस्नपर्छ, हामीले भनेको मान्नुपर्छ भन्ने सोचाइले काम गरेको देखिन्छ।’ उनी थप्छिन्, ‘महिलाहरूले न देशको शान्ति सुरक्षामा खलल पु¥याएका छन्, न समाजमा कुनै विकृति ल्याएका छन्, उनीहरूले आफ्नो क्षमताले भ्याए अनुसार रमाइलो गरेका छन्, साथीभाइ भेटेर मीठो मसिनो खाएका छन्। अनि सीडीओले हरेक वर्ष किन यसरी विज्ञप्ति निकाल्छन्?’

सांसद सुमना श्रेष्ठले पनि प्रशासनको नियतमाथि प्रश्न उठाएकी छन्। उनले महिलाको खुसी सानै भए पनि भड्किलो देख्ने सोच पितृसत्तात्मक भएको उल्लेख गरेकी छन्।

लेखक तथा अधिकारकर्मी अमृता लम्साल महिलाले माइत जान पाइनँ भनेर रुने समय अहिले नभएको बताउँछिन्। 

‘त्यो समय होइन अहिले, महिलाहरू धेरै सशक्त भइसकेका छन्। आमा समूह छ, दिदीबहिनी समूह छ, सहकारीका समूहहरू छन्, उनीहरूले काम गर्ने कार्यालय छ, उनीहरूले पढाउने क्याम्पसहरू छ। यी ठाउँहरूमा आफ्नो अनुकूलतामा मीठो मसिनो खाने, रमाइलो गर्ने हुन्छ,’ उनी भन्छिन्, ‘समाजमा जहिले पनि महिलाहरूचाहिँ हात फैलाएरै बसून्, रोएरै बसून्, उनीहरूकै अन्डरमा बसून् भन्ने मानसिकता देखिन्छ। तीजमा पुरुषले पनि उसैगरी मनाउने भए यस्तो आउँदै आउँदैनथ्यो।’

हाल चितवनको रत्ननगर नगरपालिकामा कार्यरत शिक्षा अधिकृत सामना पहाड तीजको सन्दर्भ नै फेरिइसकेको बताउँछिन्।

‘हिजो छोरीले आमाबुवा भेट्न वर्षदिन कुर्नुपर्ने हुन्थ्यो, आज हरेक दिन माइतीसँगै हुन्छन्। प्रविधि छ। हरेक दिन कुराकानी हुन्छ। आज महिलाहरूले तीजलाई आफ्नो दुःख सुनाउने मात्रै होइन, सामाजिक विषयमा छलफल र बहस गर्ने पर्वको रूपमा मनाइरहेका छन्,’ उनी भन्छिन्, ‘खानपिन र रमाइलोमात्रै होइन, छलफल र बहसको पर्वको रूपमा पनि मनाइरहेका छन्।’

रत्ननगर नगरपालिकाले यसपटक तीजलाई मानव बेचविखनविरुद्धको अभियानका रूपमा मनाएको जानकारी उनले दिइन्।

‘विभिन्न खालका छलफल भए। विचारविमर्श भए। तीजमा क्षमता अनुसार खानपान गर्नु स्वाभाविक हो, आफ्नो आर्थिक क्षमताले नै नभ्याउनेगरी महिलाहरूले तीजमा खर्च गर्छन् जस्तो लाग्दैन। आफ्नो खर्चले धान्न नसक्नेगरी मनाउनु चाहिँ राम्रो होइन,’ उनले भनिन्।

साहित्यकार निरूपा प्रसुन समयसँगै हरेक कुरा बदलिने भएकाले अहिले पनि तीजलाई दुःख र वेदना पोख्ने पर्वका रूपमा मात्रै बुझ्न नहुने बताउँछिन्। 

प्रसुनले भनिन्, ‘आर्थिक क्षमता भएकाले हरेक कार्यमा खर्च गरिरहेकै हुन्छन्, विवाहमा गर्छन्, व्रतबन्धमा गर्छन्, गुन्युचोलीमा गर्छन्। त्योचाहिँ भड्किलो नहुने अनि महिलाहरूले आफ्नो कमाइले चाडबाड मान्दा, रमाइलो गर्दा समाज बिग्रिने रे, विकृति ल्यायो रे! समाज पहिलेदेखि नै पितृसत्तात्मक छ नि त, समाजलाई नेतृत्व गर्नेहरू पनि त्यही सोचका छन्, त्यही भएर यस्तो भनिएको हो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad