प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीलाई बिदाइ गरिएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले मंगलबार उनलाई एक कार्यक्रमकाबीच बिदाई गरेको हो।
बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले सेवा निवृत्त हुन लागेका एआईजी ज्ञवालीले संगठनबाट सुम्पिएको जिम्मेवारी उच्च व्यावसायिकता, संगठनप्रतिको निष्ठा, लगनशीलता र इमानदारीताका साथ सम्पन्न गरेको बताए।
अपराध न्यूनीकरण तथा अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन, नीति निर्माण, सांगठनिक सुदृढीकरणका साथै संगठनको रणनीतिक कार्ययोजना कार्यान्वयनमा ज्ञवालीले अतुलनीय योगदान गरेको भन्दै कुँवरले चर्चा गरे।
सेवा निवृत्त जीवन पश्चात पनि संगठनको हितको लागि सदैव रचनात्मक सल्लाह, सुझाव एवम् सहकार्य निरन्तर प्राप्त हुने विश्वास व्यक्त गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
ज्ञवालीले बिदाइ कार्यक्रममा आफ्नो सेवा अवधिका अनुभव सुनाएका थिए।

ज्ञवाली एआईजीको उमेर हदका कारण ३० वर्षे सेवा अवधि अघि नै अवकाश भएका हुन्। उनी प्रहरीमा भर्ना भएको आगामी चैत ५ गते मात्रै ३० वर्ष पूरा हुन्छ।
सरकारले उमेर हद र सेवा अवधिका कारण हुने अवकाशमा पुर्नरावलोकन गर्दै नयाँ प्रहरी ऐन ल्याउने तयारी गरिरहेको छ। यी दुवै व्यवस्था संशोधन गर्ने सहमती सहित मस्यौदा तयार गरिसकेर गृहमन्त्रालयले अर्थ मन्त्रालयमा सहमतीका लागि पठाइसकेको छ।
तर नयाँ ऐन आउनु अघि नै ज्ञवाली भने अवकाश भएका हुन्। उनले उमेर हदका कारण हुने अवकाश रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर पनि गरेका छन्।
सर्वोच्चले उनको माग अनुसार अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश मात्रै जारी गरेको छ। त्यसअघि नै ३० वर्षे सेवा अवधि हटाउने अन्तरिम आदेश दिएर पनि सर्वोच्चकै संयुक्त इजलासले त्यसलाई बदर गरिदिएको थियो। त्यसपछि ९० जनना प्रहरी एकसाथ अवकाश भएका थिए।
सर्वोच्चमा रिटको पूर्ण सुनुवाई भइनसक्दै ज्ञवालीलाई प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले मायाको चिनोसहित बिदाई गरेका हुन्। ज्ञवाली महानिरीक्षक कुँवरकै ब्याची हुन्। साथै उनी पूर्वमहानिरीक्षक ठाकुर ज्ञवालीका सहोदर भाइ हुन्।

उनीहरू २०५१ साल चैत ५ गते एकसाथ प्रहरी निरीक्षकमा भर्ना भएका थिए। त्यसपछि अतिरिक्त महानिरीक्षकसम्म एकसाथ बढुवा हुँदै आए पनि सरकारले डीआईजीबाट कुंवरलाई अगाडी बढाएर आईजीपी बनाउने निर्णय गरेको थियो।
त्यसअघि कुँवर ज्ञवालीभन्दा वरियतामा पनि पछाडी थिए।
तर, वर्तमान सत्ता गठबन्धनले भने नक्कली भुटानी शरणार्थी प्रकरणपछि ज्ञवालीलाई निशानामा पार्दै आएको थियो। खासगरी नेपाली कांग्रेसले बालकृष्ण खाँण पक्राउपछि उनलाई रुचाएको थिएन।
पछिल्लो समय विभिन्न आरोप लगाउँदै उनीमाथि छानविन समेत गरिएको थियो। सीआईबीबाट सरुवा गर्नु पहिले उनीविरुद्ध महानिरक्षिक कुंवरले नै एआईजी टेकप्रसाद राईको नेतृत्वमा छानविन समिति गठन गरेका थिए।
तर, उक्त समितिले ज्ञवालीमाथि लगाइएका आरोप पुष्टि नभएको निस्कर्षसहित प्रतिवेदन दिएको छ। यससँगै नेपाल प्रहरीमा एक जना एआईजीको दरबन्दी रिक्त भएको छ।



तस्बिर : नेपाल प्रहरी
Shares

प्रतिक्रिया