भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकामा रहेका स्कूलका सञ्चालकलाई विद्यालयहरुका विद्यार्थीलाई कोरोना भाइरसको संक्रमणका बारेमा जानकारी दिने गरी जनचेतना अभिवृद्धि गर्न निर्देशन दिएका छन्।
नगरका विद्यालयका विभिन्न परीक्षा समितिका सरोकार पक्ष तथा प्रधानाध्यापकबीच छलफल गर्दै उनले यस्तो निर्देशन दिएका हुन्।
कार्यक्रममा मेधा माविका प्रअ गंगाधर हाडाले कोभिड–१९ को त्रासलाई ध्यानमा राखेर समयमै परीक्षा सञ्चालन गर्नुपर्ने र केही कारणवश परीक्षा छुटेका विद्यार्थीलाई मौका परीक्षाको व्यवस्था गर्नुपर्ने बताए।
इसान भक्तपुर जिल्ला अध्यक्ष पुरुषोत्तम ग्वाछाले कोरोनाको खतराबाट जोगिन सरकारको निर्देशनलाई पालन गरी निर्धारित समयमै परीक्षा गर्नु उपयुक्त हुने बताए। एनप्याब्सन भक्तपुरका उपाध्यक्ष पुण्यराम कवांँले विद्यार्थी र अभिभावकमा कोरोनाको त्रास धेरै देखिएकाले विद्यालयमा मनोसामाजिक परामर्शको खाँचो औँल्याए। रासस

प्रतिक्रिया