सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने ‘जितिया पर्व’ आज सम्पन्न हुँदैछ। विशेषगरी मिथिलाञ्चल क्षेत्रमा बढी लोकप्रिय यो पर्व सोमबार नहा खा (नुहाएर खानु) गर्दै धार्मिक विधिअनुसार सुुरु भएको हो।
श्री जानकी भित्तेपात्रोमा रहेको मिथिला पञ्चाङ्गमा मिथिलाञ्चलभरिमा असोज ७ गते सोमबार ओंगठन, असोज ८ गते मंगलवार जितिया व्रत र असोज ९ गते बुधबार साँझ ५:१५ बजे जितिया व्रत पारण गरिने उल्लेख छ।
नहा खा (नुहाएर खाने) विधिबाट सुरु हुने जितिया पर्वमा पर्व सुरु भएको भोलिपल्ट बिहानबाट अर्को दिन दिनभर उपवास बस्नुपर्ने मान्यता छ। जसअन्तगर्त व्रतालु महिलाहरू मंगलबार बिहानदेखि बुधबार दिनभर उपवास बस्नुपर्ने हुन्छ।
पञ्चाङ्गमा उल्लेख भएअनुसार यस वर्षको व्रत बुधबार (आज) साँझ ५:१५ बजे पारण गर्दै सम्पन्न गरिनेछ। व्रतालुहरूले जितिया पर्वको शुभकामना दिँदै आफ्ना बालबालिकाको दीर्घ जीवनको कामना गर्ने गर्दछन्।
मिथिलाञ्चलमा मनाइने व्रतहरूमध्ये जितिया व्रतलाई पवित्र व्रतका रूपमा मानिन्छ। उपवास बसेका दिन महिलाहरुले डकार गरे अथवा मुखले खकार वा जिब्रो टोके भने व्रत असफल भएको मानिने धार्मिक मान्यता छ।
काठमाडौँको कमलादीस्थित सांस्कृतिक नाचघरमा पनि आज जितिया पर्व मनाइएको छ। केही तस्बिर:

























Shares

प्रतिक्रिया