नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरूद्ध अदालतको अवहेलनासम्बन्धी कारबाही अघि बढेको छ।
सर्वोच्च अदालत प्रशासनले प्रतिवेदन उठाएर अवहेलनामा कारबाही अघि बढाएको हो। सोमबार घिमिरेविरूद्ध मुद्दा दर्ता गरिएको र मंगलबार सुनुवाइका लागि पेसी तोकिएको सर्वोच्चका एक अधिकारीले जानकारी दिए।
गत असोज ११ गते घिमिरेले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आर्थिक लेनदेनको आधारमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको गम्भीर आरोप लगाएपछि सर्वोच्चले घिमिरेविरुद्ध मुद्दा अघि बढाएको हो।
आजै बिहान सर्वोच्च अदालतका सबै न्यायाधीशहरूको बैठक (फुलकोर्ट) दुई घण्टासम्म बसेको थियो। फुलकोर्टले घिमिरेको अभिव्यक्ति गम्भीर भएकाले कानुनी उपचारमा जानुपर्ने निष्कर्ष निकालेको थियो।
न्याय परिषद्ले पनि सोमबार एक विज्ञप्ति जारी गरी परिषदबाट सर्वसम्मत निर्णय भएको विषयलाई अन्यथा अर्थ लगाउनु कपोलकल्पित र दुरासयपूर्ण रहेको भनेको छ। घिमिरेको टिप्पणी ‘आधारहीन कलुषित भावनाबाट ग्रसित एवं पूर्वाग्रही मनोदशाबाट गरिएको’ भनी परिषद्को विज्ञप्तिमा उल्लेख छ।
न्यायाधीश सिफारिस सामूहिक निर्णय हो, प्रधानन्यायाधीशमाथिको आरोप दुराशयपूर्ण : न्याय परिषद्
प्रधानन्यायाधीशलाई बार अध्यक्षको गम्भीर आरोप– लेनदेनको आधारमा न्यायाधीश नियुक्तिको सिफारिस भयो
Shares

प्रतिक्रिया