समाज


जानकी मन्दिरलाई महन्तबाटै खतरा, कसैलाई थाहै नदिई फेरे गर्भगृहको चाँदी

 जानकी मन्दिरलाई महन्तबाटै खतरा, कसैलाई थाहै नदिई फेरे गर्भगृहको चाँदी

शैलेन्द्र महतो
फागुन २६, २०७६ सोमबार ७:३९,

धार्मिक तथा ऐतिहासिक महत्व बोकेको जनकपुरधामको जानकी मन्दिरलाई महन्तबाटै खतरा रहेको छ।

विश्वसम्पदा सूचीमा सूचीकृत गराउन चौतर्फी प्रयास भइरहेको बेला मन्दिरको गर्भगृहमा लगाइएका पुराना चाँदी महन्त रामतपेश्वरदासले गैरकानुनी रुपमा फेरेको खुलासा भएको छ।

मन्दिरको जग्गा बेचेको आरोप लाग्दै आएका महन्त दासले पुरातात्विक सम्पदालाई असर पर्ने गरी पुरानो चाँदी फेरेको खुलासा भएको हो।

स्थानीय प्रशासन, गुठी संस्थानलगायतका सरोकारवालासँग अनुमति लिएर मात्र सार्वजनिक प्राचीन स्मारकमा कुनै किसिमको काम गर्न पाइने कानुनी प्रावधान रहेको छ। तर, महन्त दासले कसैलाई कुनै जानकारी नै नदिइ गर्भगृहको चाँदी फेरेका हुन्। चाँदी फेरेको कुरा महन्त दासले स्वीकार गरेका छन्।

चाँदी फेर्न होत्तरीको महदैयाका सिताराम साहले २९ किलो नयाँ चाँदी उपल्बध गराएको खुलेको छ। महन्त दासले गर्भगृहको फेरेको पुरानो चाँदी पुरातात्विक नभएको दावी गरेका छन्। ‘सय वर्षमाथिको पुरातात्विकमा जान्छ। यो हाम्रो दादागुरुजीको पालामा बनेको थियो’, उनले भने, ‘यो मुस्किलले ५०–६० वर्ष भएको छ। यो पुरातत्वमा जाने कुरा छैन।’

स्थानीय प्रशासन र गुठीसँग अनुमति लिएर पुरानो चाँदी फेरेको समेत महन्त दासले दावी गरे। तर, गुठी संस्थान र स्थानीय प्रशासनले गभगृहको चाँदी फेरेको विषयमा अनभिज्ञता प्रकट गरेका छन्। गुठी संस्थान जनकपुरका प्रमुख बैकुण्ठ रेग्मीले गर्भगृहको चाँदी फेर्ने विषयमा मन्दिरले स्वीकृति नलिएको बताए।

यता धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले पनि जानकी मन्दिरको गर्भगृहको चाँदी फेर्ने विषय प्रशासनसँग कुनै स्वीकृति नलिएको बताए। ‘जानकी मन्दिरको कुनै पनि गरगहना वा समान फेर्न गुठी संस्थान, पुरातत्व विभाग र स्थानीय प्रशासनको पूर्व स्वीकृति लिनुपर्छ। पूर्वस्वीकृति नलिइकन आफूखुसी काम कसैले पनि गर्न मिल्दैन। म आएको १५ महिनामा यहाँबाट कुनै लिखित तथा मौखिक स्वीकृति लिएको छैन’, प्रजिअ कँडेलले भने।

पछिल्लो समय जानकी मन्दिरलाई विश्वसम्पदाको सूचीमा सूचीकृत गराउन विभिन्न संघ–संगठनहरुले प्रयासहरु गरिरहेका छन्। तर, महन्तको कार्यले विश्वसम्पदामा सूचीकृत गराउन समस्या आउने स्थानीयहरुको भनाइ छ।

कुनै पुारतत्वीक वस्तुलाई अनाधिकृतरुपमा वा परिर्वतन गरेमा बिगो बमोजिम रकम असुल उपरगरि ५ हजारदेखि १ लाख रुपैयाँसम्म जरिबाना वा ५ वर्ष सम्म कैद वा दुबै सजाय हुने प्राचीन स्मारक संरक्षण ऐनको दफा १२ को (ग) मा उल्लेख छ।

विश्वका हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र र प्रदेश २ कै धार्मिक धरोहरको रुपमा रहेको जानकी मन्दिर सन् १९९१ मा १६ वर्ष लगाएर पुनःनिर्माण गरिएको थियो। यो ४ हजार ८ सय ६० बर्गफिटमा फैलिएको छ।

त्यसैले यो मन्दिर पुरातात्विक सम्पदाभित्र पर्दछ। पछिल्लो समय यस मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन विभिन्न गृहकार्य चलिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad