प्रकृति आफैँमा एक पाठशाला हो। प्रकृतिबाट ज्ञान, विज्ञान, जीवन र जगत् सिक्न अनि बुझ्न सकिन्छ। अनुभव र अनुभूति गर्न सकिन्छ। तर प्रकृतिका सम्बन्धमा किताबी ज्ञान र परिभाषा पढ्ने पढाउने र रट्ने रटाउने अभ्यास नै बढी हुने गरेको पाइन्छ। थुप्रै स्कुले विद्यार्थीलाई प्रकृति भन्नाले के बुझ्छौ भनेर सोध्यो भने धेरैको उत्तर हुन्छ नेचर। प्रायःको जवाफ यत्तिकैमा सकिन्छ।
वनस्पतिशास्त्री डा. तीर्थबहादुर श्रेष्ठ भन्छन्, ‘सूर्य र चन्द्रमा कसले बनायो? फूल कसले बनायो? नदी कसले बनायो? आकाश र धर्ती कसले बनायो? यी प्रश्नहरू उनीहरूलाई सोध्नुस। उनीहरूले मानिसले बनाएको होइन भन्ने थाहा पाउँछन् र प्रकृति बुझ्छन्।’
तर यति थाहा पाउनु मात्र प्रकृति बुझ्नु होइन।
‘रुख प्रकृतिको एक अभिन्न अंग हो भन्ने थाहा पाएपछि रुखको प्रकृति के हो भनेर उनीहरूलाई बुझाउनुपर्छ। रुखको प्रकृति छहारी दिने हो। रुखले सास फेर्नलाई हावा दिने हो। पशुपंक्षीलाई बासस्थान दिने हो। पानीलाई सोसेर राख्ने र पहिरोलाई रोक्ने हो। रुखले आध्यात्मिक शान्ति पनि दिन्छ,’ उनी व्याख्या गर्छन्।
उदाहरण दिँदै डा. श्रेष्ठ बुझाउँछन्, ‘नदीको प्रकृति माथिबाट तलतिर बग्नु हो। आफूखुसी बग्ने हो। त्यसकारण काठमाडौँमा नेवारहरूले नदीलाई खुसी भन्छन्। नदीलाई आफूखुसी बग्न दिएको भए हालै बाढी पहिरोबाट जे जति क्षति भयो, सायद त्यति हुँदैनथ्यो होला। हामीले नदीलाई आफूखुसी बग्न दिएनौँ। उसको बाटो मिच्यौँ। प्रकृतिसँग आत्मसात गरेर बस्यौँ भने हाम्रो पनि कल्याण हुन्छ।’
कक्षाकोठाभित्र मात्र राखेर दिइने शिक्षाका कारण विद्यार्थीले प्रकृतिबोध गर्न नपाएको उनको निष्कर्ष छ।
उनी भन्छन्, ‘अहिले स्कुलभित्र कक्षाकोठामा बन्द गरेर शिक्षा दिइन्छ। तर खुला हावा भएको ठाउँ प्रकृतिमा पनि लानुपर्छ। त्यहाँ उनीहरूले इन्द्रीय प्रयोग गर्छन्। हेरेर, छोएर, सुँघेर, महसुस गरेर सिक्ने अवसर पाउँछन्। यस्तो अवसर दिनुपर्छ। हामीले यो दिन सकेका छैनौँ। प्रकृतिमा लगेर शिक्षा दिनु पनि जरुरी छ।’
प्रकृति अध्ययनका लागि लाँदा यो हेर, त्यो हेर भन्ने भन्दा पनि उनीहरूलाई आफैँ सिक्न दिनुपर्ने उनको सुझाव छ।
डा. श्रेष्ठ भन्छन्, ‘उनीहरूले त्यहाँ के देख्छन्? बुझ्छन्? कस्तो महसुस गर्छन्? कस्तो दृष्टिकोण बनाउँछन्? यसका लागि वातावरण बनाइदिनुपर्छ। केही बुझ्न चाहे स्थानीय वा शिक्षकसँग सोध्छन्। मोबाइल दिएर फोटो खिच्न पठाउने होइन। उनीहरूले आँखाले फोटो खिचून्। प्रकृतिसँग प्रत्यक्ष हुन सकून्।’
विद्यार्थीलाई कहाँ लान सकिन्छ त?
यो प्रश्नमा उनी यसरी प्रष्ट पार्छन्, ‘जहाँ जमिनलाई खुट्टाले टेकोस्। टाउकोमाथि आकाश होस्। यस्तो ठाउँमा लाँदा अभिभावक शिक्षकले पहिल्यै ठाउँ सुरक्षित छ छैन हेर्नुपर्छ। नदीनाला हुन सक्छ। सिमसार हुन सक्छ। वनजंगल हुन सक्छ। उनीहरूले पानीको झरना देख्छन्। चरा उडेको देख्छन्। माछा भ्यागुता देख्छन्। मौरी देख्छन्। जुकाले टोक्यो भन्छन्। प्रकृतिमा लग्यौँ भने यो कसरी भयो? यो कहाँबाट आयो? भन्ने जिज्ञासा उनीहरूमा जाग्छ। जिज्ञासा जगाउन सकिएन भने प्रकृतिको अध्ययन हुँदैन।’
प्रकृति बुझ्न र यसबारे जिज्ञासु बनाउन आमाबुबा र शिक्षकको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ।
‘खेतमा रापेको जौ हरियो हुन्छ। तर घरमा रोपेको जमरा किन पहेँलो हुन्छ भनेर जिज्ञासा जगाउन सके पहेँलो बनाउन जुन प्रविधि प्रयोग गर्यौँ, त्यसमा ज्ञान, विज्ञान, प्रकृति सबै छ। यसबारेमा बुझ्न सक्छन्,’ उनी बुझाउँछन्।
साना विद्यार्थीबाट पनि प्रकृतिबारे सिक्न सकिने उनको अनुभव छ। धेरै वर्षअघि उनी सानो समूहमा गोरखाको छेकम्पार भ्रमणमा गएका थिए। त्यहाँको विद्यालयका लागि विभिन्न शैक्षिक सामग्री साथमा थियो। हाजिरीजवाफ गराएर पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिदिन एक शिक्षकलाई अनुरोध गरेका थिए। आफू पुग्नुपर्ने ठाउँ पुगेर केही दिनपछि उनी फर्किए।
तर पुरस्कार त वितरण नै नभएको उनले थाहा पाए।
डा. श्रेष्ठ भन्छन्, ‘शिक्षकले केटाकेटीले प्रश्नको उत्तर नै दिन सकेनन्, उनीहरू केही जान्दैनन् भने। धरहरा कसले बनायो? नेपालको राष्ट्रिय पंक्षी के हो लगायतका प्रश्न सोधिएको रहेछ। यो थाहा पाएपछि हामीले यहाँका केटाकेटीलाई कुन कुन चराचुरुङ्गीको, अन्नपातको नाम थाहा छ, त्यो सोध्न र आफ्नै भाषामा उत्तर दिन लगाउन भन्यौँ। उनीहरूले ४०/४५ वटा नाम टिपाए। धेरै कुरा आउने रहेछ नि।’
त्यसबेलाको रमाइलो प्रसंग स्मरण गर्दै उनले भने, ‘एउटा चरा हाम्रा अगाडि आएर बसेको थियो। त्यो चराको नाम के हो भनेर केटाकेटीलाई सोध्यौँ। उनीहरूले ट्वाइँच भने। नभन्दै चरा पनि ट्वाइँच भन्दै उडेर गयो। चराको बोलीअनुसार उनीहरूले नाम राखेका रहेछन्। त्यो स्थानीय नाम भयो। स्थानीय प्रकृति, ज्ञान र भाषालाई शिक्षामा प्राथमिकता दिनुपर्छ।’
हाम्रो समाजमा विभिन्न समुदायले प्रकृतिलाई पूजा गर्ने गर्छन्। प्रकृतिको सम्बन्ध समाज र संस्कृतिसँग गाँसिएको छ। तर कक्षाकोठा अनि पाठ्यपुस्तकमा नै बढी केन्द्रित भएर दिइने शिक्षाले प्रकृतिलाई जति धेरै बुझ्नु र बुझाउनुपर्ने हो त्यो नभएको अवस्था छ। जस्तो जन्म, विवाह, मृत्यु लगायतका संस्कारमा विभिन्न समुदायमा विभिन्न वनस्पति चाहिन्छ। तर नयाँ पुस्तामा यसबारेमा कम ज्ञान पाइन्छ।
डा. श्रेष्ठ भन्छन्, ‘विभिन्न समुदायका पुरेत, लामा, आम्ची, गुर्बा, धामी झाँक्रीमा प्रकृतिसम्बन्धी ज्ञान प्रशस्त छ। हामीले उनीहरूलाई गुरुको मान्यता दिएका छैनौँ। उनीहरू पनि समाजका शिक्षक हुन्। हामी आयातित ज्ञानमा बढी केन्द्रित भएका छौँ। उनीहरूमा भएको ज्ञान नयाँ पुस्तामा सार्नुपर्छ।’
प्रकृति अध्ययन के हो र कसरी सिकाउने? यससम्बन्धमा वनस्पतिशास्त्री डा. तीर्थबहादुर श्रेष्ठसँग गरिएको भिडियो कुराकानी :
Shares

प्रतिक्रिया