भारतको नयाँ दिल्लीबाट काठमाडौँ आएको विस्तारा एयरलाइन्सको विमानमा लगातार ६ घण्टासम्म सर्च (तलासी) गरिने भएको छ। अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन (आईकाओ) को नियमानुसार यस्तो अवस्थामा कम्तीमा ६ घण्टासम्म सर्च गर्नुपर्ने हुन्छ।
काठमाडौँ उपत्यका प्रहरी प्रमुख एआईजी किरण वज्राचार्यका अनुसार, विमानमा १४७ जना यात्रु र १० जना क्रू मेम्बर (विमानका कर्मचारी) रहेको पाइएको छ।
वज्रचार्यले भनिन्, ‘यात्रुहरू र ह्यान्डक्यारी क्लियर भइसकेको छ। यात्रुको अध्यागमन क्लियर भइसकेको छ। अब लगेज र विमानमा सर्च भइरहेको छ। आईकाओको मापदण्ड अनुसार यो सबै क्लियर गर्न ६ घन्टा लाग्छ। हामी मापदण्डअनुसार ६ घण्टा नै लगाएर सबै प्रक्रिया पूरा गर्छौं।’
जहाजमा बम रहेको हल्लापछि बम डिस्पोजलसहितको टोलीले विमानलाई छुट्टै राखेर यात्रुहरूको लगेज एक्स–रे गरिरहेको विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रवक्ता एसएसपी डम्बर विकले बताए।
यस्तै विमानभित्र अहिले नेपाली सेनाको बम डिस्पोजल टोली, बम पत्ता लगाउने कुकुरसहित नेपाल प्रहरीले संयुक्त रूपमा सर्च गरिरहेको छ।
Shares

प्रतिक्रिया