समाज


नेपाल संवत् ११४५: विभिन्न ठाउँमा शुभकामना र्‍याली (तस्बिर)

नेपाल संवत् ११४५:  विभिन्न ठाउँमा शुभकामना र्‍याली (तस्बिर)

नेवाः देय दबु संखुवासभाले सदरमुकाम खांदबारीमा गरेको शुभकामना पदयात्रा। तस्बिरः सुजन बज्राचार्य


रासस
कात्तिक १७, २०८१ शनिबार १३:५१, काठमाडौँ

नेपाल संवत् ११४५ प्रारम्भ भएको खुशीयालीमा आज राजधानीसहित देशभरका मुख्य सहरमा शुभकामना र्‍याली निकालिएको छ। 

विविध सांस्कृतिक झाँकीसहित विभिन्न कार्यक्रमका साथ ‘न्हुँदया भिन्तुना’ भन्दै कतै मोटरसाइकल, कतै साइकल तथा कतै पैदलयात्रामा र्‍याली निकालिएको हो। राजधानीका विभिन्न स्थानमा अहिले निकालिएको र्‍यालीले सहर परिक्रमा गरिरहेको छ। र्‍यालीमा बालकदेखि वृद्धसम्म सांस्कृतिक वेषभुषामा खुशी साट्दै हिँडेको देखिन्छ।

नेपाल संवतलाई हाल विशेष रुपमा नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुआत गराएका थिए। 

नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा. त्रिरत्न मानन्धरले जानकारी दिए।

‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशका नामबाट राखिएकाले यो मौलिक संवत् हो’, उनले भने।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ। नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर, चौतारालगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष रुपमा मनाउने गरिन्छ। 

गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमुना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै विसं २०५६ को नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए। विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए।

कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्दगरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुआत गर्ने परम्परा समेत काठमाडौँमा अझै छ। 

यही परम्पराअनुसार शुक्रबार बही खाता बन्द गरेका काठमाडौँ उपत्यकाका नेवार समुदायले आजदेखि नयाँ बही खाता खेल्दै छन्। यसरी नेवार समुदायले नेपाल संवत्को नयाँ वर्ष मनाउँदै छन्। गत वर्षदेखि नै नेपाल संवतलाई सरकारी कागजातमा अनिवार्य रुपमा उल्लेख गर्न थालिएको छ। 

हेर्नुहोस् तस्बिर

नेवाः देय दबु संखुवासभाले खांदबारीमा आयोजना गरेको शान्ति पदयात्रामा धिमेबाजा बजाउँदै स्थानीय युवाक युवती।

नेपाल संवत् ११४५ समारोह समिति वीरगञ्जले शनिबार वीरगञ्जमा न्हुँ दयाँ भिन्तुनाको अवसरमा निकालेको पदयात्रा कार्यक्रम। तस्बिरः हिमाल लम्साल/रासस

लमजुङको बेँसीसहर बजारमा नेवाः खल लमजुङद्वारा आयोजित र्‍यालीमा नेवार संस्कृतिसँग आधारित टाकटुके नाच्दै। तस्बिर: जनक श्रेष्ठ/रासस

नेपाल संवत् न्हुद राष्ट्रिय समारोह समितिद्वारा शनिबार वसन्तपुरमा आयोजित न्हुँद ११४५ या सलताया भिन्तुना सभाका सहभागी नेवारी समुदाय। तस्बिरः किरणराज बिष्ट

बेनीमा नेपाल भाषा मङ्का खःल म्याग्दीले आयोजना गरेको झाँकी सहितको र्‍यालीमा मौलिक पोषाकमा सजिएका नेवार समुदाय

सुर्खेतको वीरेन्द्रनगरमा नेवाः देय् दबु सुर्खेत आयोजना गरेको पदयात्रा

नेवाः देय दबु गुठी समन्वय समिति व्यास नगरले तनहुँ सदरमुकाम दमौलीमा निकालेको पदयात्रामा लाखे नाच प्रस्तुत गरिँदै।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad