कोसी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीसहितलाई तीन वटा कसुरमा मुद्दा चलाउनु पर्ने राय प्रहरीले दिएको छ।
जापानमा मानव बेचबिखन गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान सकेर शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा अनुसन्धान प्रतिवेदन बुझाएको हो।
प्रतिवेदनमा पक्राउ परेका ९ जना र फरार तीनजना गरी १२ जनालाई तीनवटा कसुरमा मुद्दा चलाउन राय दिइएको छ। जिल्ला सरकारी वकिल कार्यालयका एक अधिकारीका अनुसार प्रहरीले मानव बेचविखन तथा ओसारपसार, सरकारी कागजात किर्ते र ठगी सम्बन्धी कसुरमा मुद्दा अगाडि बढाउन राय दिएको हो।
मन्त्री अधिकारीसँगै तीनजना युवा नक्कली कागजातका आधारमा जापानको नारिता विमानस्थल पुगेका थिए। तर त्यहाँबाट मन्त्री अधिकारी र तीनजना युवालाई नै फर्काइदिएको थियो। कात्तिक १६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन युवा पक्राउ परेका थिए।
पक्राउ परेका युवाहरूले आफूहरूले १० देखि १३ लाख रूपैयाँसम्म बुझाएर जापान गएको बयान दिएका थिए। उनीहरूले बयानमा आफूहरू पनि ठगिएको बताएका छन्। उनीहरूले बिचौलियालाई रकम बुझाएर जापान जान लागेको बताएका थिए।
उनीहरूलाई यसरी पठाउनमा संलग्न थप पाँचजनालाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो। अरु तीनजना भने अझै पनि फरार नै छन्। उनीहरूलाई फरार सूचीमै राखेर मुद्दा चलाउन प्रहरीको राय छ।
निवर्तमान मन्त्री अधिकारी कात्तिक २५ गते पक्राउ परेका थिए। खोटाङको केपिलासगढी गाँउपालिका ४ का ४१ वर्षीय जनक राई, खोटाङकै ऐँसेलुखर्क गाँउपालिका–२ का ३७ वर्षीय दावा शेर्पा र रसुवाको कालिका गाँउपालिका–५ का २१ वर्षीय कन्चन देवकोटा मन्त्री अधिकारीसँगै जापान पुगेका थिए।
उनीहरूलाई जापानको विमानस्थलबाटै फर्काइएपछि त्रिभुवन विमानस्थलबाट पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको थियो।
उनीहरूको बयानबाट धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–६ का ३४ वर्षीय महेश पाण्डे, नुवाकोटको विदुर नगरपालिका–७ का २२ वर्षीय जुगल रिजाल र दोलखाको जिरी नगरपालिका–९ का ३० वर्षीय वीरबहादुर सुनुवारको पनि संलग्नता खुलेको थियो। प्रहरीले उनीहरूलाई पनि पक्राउ गरेको थियो।
यी ६ जनापछि मन्त्री अधिकारी पक्राउ परेका थिए। अनुसन्धानका क्रममा थप दुईजनाको पनि संलग्नता खुलेको थियो। प्रहरीले खोटाङ घर भएका ४१ वर्षीय नवीन राई र ३२ वर्षीया गुड्डी राईलाई पनि पक्राउ गरेको छ। अझै केही व्यक्तिको संलग्नता खुले पनि उनीहरू भने फरार रहेको प्रहरीको दाबी छ।
मन्त्री अधिकारीको राहदानी लिने, भिसा लगायतका प्रक्रिया अगाडि बढाइदिने व्यक्तिहरू भने अझै फरार छन्।
विष्णु भट्टराई, दिवाकर भट्टराई र गौपाल गौतम फरार छन्। गौतमले नै अधिकारीको पासपोर्ट लगायतको कागजात लगेका थिए। जापान जाने बेला दिवाकरले पासापोर्ट लगायतका कागजात दिएको अधिकारीले बताएका छन्।
बयानका क्रममा मन्त्री अधिकारीले आफ्नो संलग्नता नरहेको र आफू उनीहरूको षड्यन्त्रमा फसेको बताएका छन्। तर प्रहरीले भने उनको प्रत्यक्ष संलग्नता नदेखिए पनि नियम पालना नगरेको र गैरकानुनी रूपमा त्यो टोलीसँग अधिकारी पनि जापानसम्म गएको देखिएकाले उनलाई पनि मुद्दा चलाउनु पर्ने राय दिएको छ।
अधिकारीले भने आफूले मानव विचबिखनको उदेश्यले अन्य युवाहरूलाई साथ लगाएर पठाएको थाहा पाउनासाथ प्रहरीलाई जानकारी गराएको दाबी गरेका छन्। यसरी गएका युवासँग उनकै मन्त्रालयको कर्मचारी भनी परिचय पत्र दिइएको विषयमा पनि आफूलाई जानकारी नभएको र आफू संलग्न पनि नरहेको उनको बयान छ।
अब जिल्ला सरकारी वकिल कार्यालयले प्रहरी प्रतिवेदनका आधारमा ककसलाई कुन कुन कसुरमा मुद्दा चलाउने भन्ने निर्णय गर्नेछ। जिल्ला अदालतमा अभियोग दर्ता भएपछि उनीहरूको बकपत्र हुनेछ। त्यसपछि उनीहरूलाई मुद्दाको फैसला गरुन्जेल थुनामा राख्ने कि थुनाबाहिरै राख्ने भन्ने आदेश हुनेछ।
Shares

प्रतिक्रिया