अनलाइन जुवा (सट्टेबाजी) मार्फत ५५ करोडको कारोबार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाँचथरको मिक्लाजुङ गाउँपालिका ७ का ३७ वर्षीय सुनिल राईलाई पक्राउ गरेको हो। हाल ललितपुरको महालक्ष्मी नगरपालिका ४ अफलटोल बस्ने राईले विभिन्न गेममा बेटिङ एप्लिकेसनमार्फत बाजी गर्न लगाएर रकम संकलन गरेको प्रहरीको दाबी छ।
राईले ७५ वटा बैंक खाता, १२८ वटा ई-सेवा वालेट लगायत प्रयोग गरी हालसम्म ५५ करोड २० लाख ८४ हजार ७१ रुपैयाँबराबरको कारोबार गरेको खुलेको छ।
सुनिलले विभिन्न व्यक्तिको नागरिकता प्रयोग गरी ७५ वटा बैंक खाता खोली सोही खाताको केवाईसी फर्ममा समेत आफ्नै फोटो टाँसी झुक्याएर खाताबाट ३७ करोड २० लाख ९६ हजार २८२ गएको र खातामा ३७ करोड २६ लाख ६२ हजार ३५७ रुपैयाँबराबर जम्मा गरेको खुलेको छ।
ई-सेवाबाट पनि ११ करोड ६७ लाख १९ हजार १९० रुपैयाँ गएको र ११ करोड ७० लाख ९७ हजार ५२२ रुपैयाँ जम्मा भएको देखिएको छ। उनले २५ भन्दा बढी जिमेल एकाउन्ट खोलेर वानएक्सबेटमा प्रयोग गरेको पाइएको छ।
विभिन्न व्यक्तिका नागरिकता, पासपोर्ट लगायतका सामग्री पनि प्रहरीले बरामद गरेको छ। थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए।
Shares

प्रतिक्रिया