समाज


निर्देशिकाविपरीत शिक्षक सरुवा गर्दै यी स्थानीय तह, के भन्छ केन्द्र?

निर्देशिकाविपरीत शिक्षक सरुवा गर्दै यी स्थानीय तह, के भन्छ केन्द्र?

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्मा


रोश्ना सुब्बा
पुस १६, २०८१ मंगलबार २०:४, काठमाडौँ

सुर्खेतको लेकबेसी नगरपालिकाले शिक्षक सरुवासम्बन्धी निर्देशिका-२०८१ विपरीत शिक्षक सरुवा गरेको छ।

जीवनज्योति माध्यमिक विद्यालय, दशरथपुरमा चालु शैक्षिक सत्रमा अनिवार्य अवकास भई रिक्त निम्नमाध्यमिक तह अंग्रेजी विषयको शिक्षक पदमा नगरपालिकाकै सरस्वती माविबाट हालै शिक्षक सरुवा गरिएको पालिकाका शिक्षा अधिकृत पहलमान अधिकारीले बताएका छन्।

शिक्षक सरुवाका लागि नगरपालिकाले गत मंसिर २४ गते निकालेको सूचनामा नगरपालिकाअन्तर्गतका विद्यालयमा कार्यरत स्थायी शिक्षकहरूबाट निवेदन माग गरिएको थियो।

अधिकारी भन्छन्, ‘अनिवार्य अवकाश पाएर रिक्त भएको पदमा बाहिरी जिल्लाबाट सरुवा गरेर ल्याउन मिल्दैन। शिक्षा विकास तथा समन्वय इकाइ, सुर्खेतसँग समन्वय गरेर नै सूचना निकालिएको हो।’

शिक्षा विकास तथा समन्वय इकाइ, सुर्खेतका प्रमुख महेशदत्त देवकोटाका अनुसार पालिकालाई शिक्षक सरुवा निर्देशिका विपरीत कार्य नगर्न भनिए पनि स्थानीय तहले अटेर गर्ने गरेका छन्।  

‘अनिवार्य अवकाश भएर रिक्त भएको पदमा विज्ञापनका लागि शिक्षक सेवा आयोगमा विवरण गइसकेको अवस्थामा शिक्षक सरुवा गर्न मिल्दैन। यस्तो अवस्थामा अस्थायी करारमा शिक्षक राख्न सकिन्छ। लेकबेशी नगरपालिकाविरुद्ध मौखिक रूपमा उजुरी पनि परेको हो। हामीले रोक्नुस्, निर्णय नगर्नुस् पनि भनेका हौँ। स्थानीय सरकारले हाम्रो कुरा सुन्दैनन्,’ इकाइ प्रमुख देवकोटाले भने।

शिक्षक सरुवा निर्देशिकामा रिक्त पद खुला वा बढुवाद्वारा पदपूर्तिका लागि सम्बन्धित निकायमा लेखी पठाइएको भए शिक्षक सरुवा गर्न नसकिने व्यवस्था गरिएको छ। निर्देशिकामा भएको यस्तो व्यवस्थाको बेवास्ता गर्दै  सुर्खेत जिल्लाकै गुर्भाकोट नगरपालिकाले पनि शिक्षक सरुवा गरेको छ।

जनकल्याण प्राथमिक विद्यालय खोलाडाब, गुर्भाकोट-२ मा चालु शैक्षिक सत्रमा अनिवार्य अवकाश भई रिक्त प्राथमिक तह शिक्षक पदमा शिक्षक सरुवा गरिएको छ।

अर्को विद्यालय मालिका प्रावि, कोटमाझखर्कमा पनि शिक्षक सरुवा गरिएको छ। नगरपालिकाका शिक्षा अधिकृत पदमबहादुर विक पनि अनिवार्य अवकाश भएर रिक्त रहेको पदमा जिल्लान्तर सरुवा गरेर शिक्षक ल्याउन नमिल्ने भएको हुँदा सुर्खेत जिल्लाभित्रका शिक्षकहरूबाट मात्र निवेदन लिएर शिक्षक सरुवा गरिएको बताउँछन्।

‘समन्वय इकाइ, सुर्खेतसँगको समन्वयमा नै भएको हो,’ उनले भने।

गुर्भाकोट नपाले मालिका प्राविका लागि मंसिर ५ गते र जनकल्याण प्राविका लागि मंसिर ९ गते सूचना जारी गरेको थियो।

शिक्षा विकास तथा समन्वय इकाइ, सुर्खेतका प्रमुख देवकोटा भन्छन्, ‘लेकबेशी र गुर्भाकोट दुवै पालिकाले मौखिक रूपमा जानकारी गराएका हुन्। तर, हामीले अनिवार्य अवकाश भएर रिक्त भएका पदहरूमा पदपूर्तिका लागि आयोगमा विवरण गइसकेकोले शिक्षक सरुवा गर्न मिल्दैन भनेका हौँ। निर्देशिका विपरीत हुन्छ भनेका हौँ। स्थानीय सरकार हामीले भनेको सुन्दैनन्।’

आयोगबाट नयाँ नियुक्तिको प्रक्रिया लामो हुने र खाली ठाउँमा शिक्षक व्यवस्थापन गर्नुपर्ने हुँदा यस्तो अवस्थामा स्थानीय तहले के गर्न सक्छन् भन्ने सम्बन्धमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट परिपत्र आउनुपर्ने उनको भनाइ छ।

देवकोटा भन्छन्, ‘व्यावहारिक पक्ष पनि हेर्नु पर्छ। स्थानीय तह पालिकाभित्र मिलाउँछौँ भन्छन्। तर, निर्देशिकामा यस्तो व्यवस्था छैन। यस सम्बन्धमा माथिबाट परिपत्र आवश्यक छ।’

लेकबेशी नगरपालिकाले निकालेको सूचनामा पालिकाभित्रका शिक्षकहरूबाट मात्र निवेदन माग गरी शिक्षक सरुवा गरिएको थियो। गुर्भाकोट नगरपालिकाले मंसिरमा जारी गरेको सूचनामा चाहिँ सुर्खेत जिल्लामा कार्यरत शिक्षकहरूबाट निवेदन दिन माग गरिएको थियो।

यही पुस ४ गते निकालेको नयाँ सूचनामा पनि सुर्खेत जिल्लाअन्र्तगत कार्यरत शिक्षकहरूबाट निवेदन माग गरिएको छ।

यो सूचनामा नेपाल राष्ट्रिय आधारभूत विद्यालय, डाँफे भेडाबारीमा चालु शैक्षिक सत्रमा अवकाश भई रिक्त हुने प्राथमिक तहको शिक्षक पदमा सुर्खेत जिल्लाभित्र कार्यरत शिक्षकहरूबाट निवेदन माग गरिएको हो।

‘अहिलेको शिक्षक सरुवासम्बन्धी निर्देशिका २०८१ अनुसार पालिकाभित्र मात्रै वा कुनै भूगोल तोकेर सूचना निकाल्न मिल्दैन। निर्देशिकाले पालिका वा जिल्लाभित्र मात्रै शिक्षक सरुवा गर्ने परिकल्पना गरेको छैन,’ शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्मा भन्छन्, ‘अनिवार्य अवकाश भई रिक्त भएको पदका लागि विज्ञापनको प्रक्रियामा आयोग गइसकेको छ भने त्यसमा शिक्षक सरुवा गर्न मिल्दैन। यदि गरिएको छ भने रद्द गर्न सकिने व्यवस्था पनि छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad