हमास–इजरायल द्वन्द्वको नकारात्मक असरबाट नेपाल पनि मुक्त हुन सकेको थिएन। मध्यपूर्वमा द्वन्द्वरत यी दुई पक्षहरूबीच युद्धविराम हुने भयो भने नेपाललाई पनि त्यसको सकारात्मक असर पर्नेछ।
यी दुई पक्षबीच युद्धविराम हुँदा नेपाललाई पर्ने सकारात्मक असर नेपाली विद्यार्थी विपिन जोशीको रिहाइ हो, जो ७ अक्टोबर २०२३ (२० असोज २०८०) मा इजरायलमाथिको आक्रमणको क्रममा हमासद्वारा अपहरणमा परेका थिए।
नयाँ वर्ष (२०२५) को सुरुवातसँगै इजरायल–हमासबीच युद्धविरामका लागि वार्ता भइरहेको समाचार सार्वजनिक भएका छन्। यसबीचमा हमासले रिहा गर्नसक्ने करिब तीन दर्जन इजरायली बन्दीहरूको नामसमेत सार्वजनिक गरिसकेको छ।
अमेरिकामा डोनाल्ड ट्रम्पको राष्ट्रपतिको जिम्मेवारी सुरु हुने दिन (२० जनवरी) नजिकिएसँगै युद्धविरामका लागि अनौपचारिक वार्ता र पहल सुरु भएको हो। ट्रम्पको नीति कस्तो हुने भन्ने अनिश्चयका कारण दुवै पक्ष वार्तामा बस्नुपर्ने दबाबमा छन्।
हमासलाई सहयोग गर्दै आएका बसर अल–असदको सिरियाको सत्ताबाट बहिर्गमन, इजरायली आक्रमणबाट लेबननको हिजबुल्लाहसमेत कमजोर बनेको र आफै पनि निकै कमजोर भएको हमास युद्धविराम नगरी नहुने बाध्यात्मक स्थितिमा छ।
नयाँवर्षको सुरुवातसँगै इजरायल–हमासबीच युद्धविरामको सम्भावनाका बीच विपिनको समेत रिहाइ हुने आशा पलाएको छ। यही आशाका बीच इजरायलका लागि नेपाली राजदूत प्रा. धनप्रसाद पण्डित विपिन अपहरणमा परेको स्थानमा समेत पुगेका छन्।

यता, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पनि नेपालका लागि इजरायली राजदूत समुलिक एरी बाससँगको बुधबारको भेटमा विपिनको रिहाइलाई प्राथमिकतामा राख्न आग्रह गरेकी छन्।
इजरायल–हमासबीच युद्धविरामको पहल र हमासले रिहा गर्ने इजरायली बन्दीहरूको नाम सार्वजनिक भएसँगै परराष्ट्रमन्त्री डा. राणाले यस्तो आग्रह गरेकी हुन्।
विपिन रिहाइको आशा
हमासले आफूले रिहा गर्ने सूचीमा राखेका ३४ इजरायली बन्दीहरूको नाम आइतबार (२१ पुस) सार्वजनिक गरेको थियो। हमास–इजरायलबीच युद्धविरामका लागि भइरहेका वार्ताको पृष्ठभूमिमा ती बन्दीहरूको नाम हमासले सार्वजनिक गरेको हो।
सार्वजनिक भएको सूचीमा केही बालबालिका र ८५ वर्षका वृद्ध पुरुष लगायत छन्। सार्वजनिक भएको ३४ जनाको सूचीमा हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको नाम भने समावेश छैन।
जानकारहरूका भनाइमा हमासले सार्वजनिक गरेको सूचिमा विपिनको नाम समावेश नभएपनि युद्ध विराम भएमा उनी रिहा हुने आशा किन गर्न सकिने स्थिति छ भने यो सूची हमासले युद्धविरामका लागि थप दबाब दिन सार्वजनिक गरेको हो।

‘युद्धविराम भयो भने इजरायल–हमासबीच हुने हो, यस्तोमा हमासले सूची सार्वजनिक गर्दा इजरायली नागरिकहरूको नामलाई प्राथमिकता दिनु स्वाभाविक हो,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘युद्धविराम भएपछि उनीहरूले बाँकी बन्दी रिहा गर्ने क्रममा विपिन पनि रिहा हुने स्थिति रहन्छ।’
हमासले इजरायली र अन्य मुलुकका गरी करिब साढे दुई सय मानिस अपहरण गरेको थियो। हमासको नियन्त्रणमा रहेका मध्ये कतिपय बन्दीको त्यसपछि इजरायलले गरेको आक्रमणका क्रममा निधन भएको छ।
केही इजरायलीको भने हमासले बन्दी अवस्थामै हत्या गरेको आरोपसमेत लाग्दै आएको छ। विपिनमाथि भने त्यस्तो अन्यथा कुनै घटना भएको जानकारी वा समाचार सार्वजनिक भएका छैनन्।

बरु हालसम्म विपिन सकुशल नै छन् भन्ने कुरा यसबीचमा सार्वजनिक भएका केही तथ्यहरूले देखाएका छन्।
जस्तो : कार्यभार सम्हाल्न काठमाडौँ आएलगत्तै गत मंसिरमा नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासले विपिन गाजामा जीवितै रहेको सूचना पाएको बताएका थिए।
‘विपिनलाई हमासले गाजापट्टिक्षेत्रमा राखेको सूचना हामीले पाएका छौँ,’ नेपाली सञ्चारकर्मीहरूसँगको कुराकानीमा राजदूत बासले भनेका थिए, ‘त्यसैले विपिन चाँडै नेपाल फर्कने कुरामा हामी आशावादी छौँ।’
अरब मुलुकहरूबाट प्राप्त सूचनाको हवाला दिँदै नवनियुक्त इजरायली राजदूत बासले विपिन छिट्टै मुक्त हुने आशा आफूले गरेको बताएका थिए।
केही अरब मुलुकहरूका सञ्चारमाध्यममा जीवित रहेका बन्दीमध्ये विपिन पनि रहेको समाचार प्रकाशित भएको थियो। स्रोतका भनाइमा त्यसै समाचारका आधारमा इजरायली राजदूतले सो दाबी गरेका थिए।
त्यसबाहेक सन् २०२३ को नोभेम्बरमा पनि विपिन जीवितै रहेको भरपर्दाे सूचना इजरायली सेनाले प्राप्त गरेको थियो। गाजास्थित अल–शिफा अस्पतालको एउटा भिडिओमा विपिन देखा परेका थिए।
यसैआधारमा सम्बद्ध इजरायली अधिकारीहरूसँगको कुराकानीमा होस् वा युद्धविरामका लागि मध्यस्थता गरिरहेको पक्षसँग– नेपालले विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै आएको छ। इजरायलले पनि विपिनको रिहाइलाई प्राथमिकतामा राखिएको वचन दिँदै आएको छ।
नेपालका लागि इजरायली राजदूत बाससँगको बुधबारको भेटवार्तामा पनि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विपिनको रिहाइका लागि पहल गर्न आग्रह गरेकी छन्।

परराष्ट्रमन्त्री डा. राणाका प्रेस संयोजक एकराज पाठकका अनुसार, आफूसँग शिष्टाचार भेटका लागि आएका राजदूत बाससँगको कुराकानीमा मन्त्री राणाले विपिनको अवस्थाका बारेमा जानकारी लिँदै उक्त आग्रह गरेकी थिइन्।
‘हमास समूहले अपहरण गरी लगेकामध्ये ३४ जनालाई रिहा गर्न लागेको भन्ने सूचना आइरहेकाले मन्त्री डा. राणाले इजरायली राजदूतसँग यस विषयमा जानकारी लिनुभएको हो,’ पाठक भन्छन्, ‘त्यसैले नेपाली विद्यार्थी जोशीको रिहाइलाई विशेष प्राथमिकतामा राख्न मन्त्री डा. राणाले राजदूत बासमार्फत् इजरायल सरकारलाई आग्रह गर्नुभएको थियो।’
राजदूतले देखेको अपहरणस्थल
विपिन जीवितै रहेको सूचना र इजरायल–हमासबीच युद्धविरामको सम्भावना बढिरहेका बेला इजरायलका लागि नेपाली राजदूत प्रा. पण्डित यसै हप्ता अपहरणस्थल पुगेका छन्।
राजदूत पण्डित इजरायलको दक्षिणमा रहेको अलिमुमको किबुज क्षेत्रमा पुस १९ का दिन पुगेका थिए, जहाँबाट विपिनलाई हमासले अघिल्लो वर्ष २० असोजमा अपहरण गरेको थियो।
सुदूरपश्चिम विश्वविद्यालयको ‘कमाइसँगै सिकाइ’ (लर्न एन्ड अर्न) कार्यक्रम अन्तर्गत त्यहाँ पुगेका अन्य १० नेपाली विद्यार्थीहरू हमासको आक्रमणमा निधन भए पनि विपिन जोगिन सफल भएका थिए।
जोगिन सफल भएपनि विपिन तत्काल हमासको नियन्त्रणमा परे। उनी अहिलेसम्म हमासको नियन्त्रणमा छन्। तर अवस्था भने अज्ञात छ।
‘म त्यही ठाउँमा पुगेँ, जहाँबाट विपिन अपहरणमा परेका थिए, त्यहाँका मानिसहरूले विपिनहरूले आफूहरूलाई कसरी जोगाए भन्ने कुरा सुनाए,’ राजदूत पण्डितले नेपालखबरसँग भने, ‘आक्रमणका क्रममा हमासले फालेको ग्रिनेड विपिनले समातेर फालेको त हामीले सुनेकै हौँ। उनको यही साहसका कारण अन्य केहीको ज्यान जोगिएको रहेछ। यो कुरा मैले त्यहाँ पुगेपछि जानकारी पाएँ।’

‘खासमा त्यहाँका मानिसहरूले विपिनलाई नायकका रूपमा लिँदा रहेछन्,’ राजदूत पण्डितले त्यहाँ पुग्दाको अनुभूति सुनाए, ‘किनकि, विपिनले त्यो बम त्यसरी नफालेको भए उनीहरूको ज्यान जान पनि सक्थ्यो। त्यही कारण उनीहरू प्रत्येक हप्ता विपिनको रिहाइको कामना गर्दै प्रार्थना समेत गर्दा रहेछन्।’
विपिन ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत जुन शैक्षिक संस्थामा थिए, त्यहाँ हमासको आक्रमणबाट मारिएका अन्य दस नेपाली विद्यार्थीहरूको तस्बिर एकातिर छ, अर्काेतिर विपिनको।
विपिनको तस्बिरमा लेखिएको छ, ‘ब्रिङ हिम होम नाउ (उनलाई अहिले नै घर ल्याऊँ’।
विपिनको अपहरण र अन्य १० नेपाली विद्यार्थीहरूको जहाँ हत्या भयो, त्यो ठाउँ इजरायलको राजधानी तेलअबिबबाट १ सय १० किलोमिटरको दूरीमा छ। त्यहाँ पुग्न झण्डै दुई घण्टा लाग्छ।
कार्यभार सम्हाल्न इजरायल प्रस्थान गर्नुअघि विपिनको परिवारसँग भेटघाट गरेका राजदूत पण्डितले तेलअबिब पुगेपछि पनि आफ्नो प्रमुख जिम्मेवारी विपिनको रिहाइलाई बनाएका छन्। यसैक्रममा नेपालका लागि निवर्तमान इजरायली राजदूत हनान गोदार पनि विपिन अपहरणमा परेको स्थानमा पुगेका हुन्।
‘त्यो यसअघि हमासको नियन्त्रण रहेको गाजापट्टीको सीमासँग जोडिएको स्थान हो, विपिन अन्य साथीहरूसहित आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका थिए, मानिसहरू यो ठाउँमा आइरहुन् भन्ने त्यो इजरायली विश्वविद्यालयका प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूले चाहँदा रहेछन्,’ राजदूत पण्डितले भने, ‘तर, गाजाको सीमामा रहेकाले मानिसहरू हतपती त्यहाँ पुग्दा रहेनछन्।’
७ अक्टोबर २०२३ (२० असोज २०८०) को आक्रमणअघि गाजामा हमासको प्रभुत्व थियो। गाजासँगै सीमा जोडिएको र चिसो पनि भएकाले अक्सर मानिसहरू त्यहाँ जान चाहँदैनन्।
२० असोज (२०८०) मा नरसंहार भएको र गाजासँग सीमा जोडिएको स्थान भएका कारण त्यो ठाउँ इजरायल जाने विदेशीहरूका लागि ‘भय–क्षेत्र’ बनेपनि राजदूत पण्डित आइतबार पुग्दा त्यहाँ केही नेपालीहरू भेटिएका थिए।

‘उहाँहरू त्यहाँको गाईपालन र कृषि फार्ममा काम गर्नुहुँदो रहेछ,’ राजदूत पण्डितले भने, ‘मैले त्यो ठाउँमा दुई घण्टा बिताएँ। उहाँहरू भयरहित ढंगले आफ्नो जिम्मेवारी निर्वाह गरिरहनु भएको छ।’
इजरायल–हमासबीच युद्धविरामको पहलसँगै नेपालमा पनि विपिनको रिहाइको आशा पलाएको छ। राजदूत पण्डित पनि विपिन छिट्टै रिहा हुनेमा आशावादी छन्।
‘एक–दुई हप्ताभित्रै सुखद समाचार आउला कि!’ उनी भन्छन्, ‘किनकि इजरायली पक्षले पनि विपिन जीवितै छन् भन्ने सूचना उपलब्ध गराउँदै आएको छ र विपिनको रिहाइलाई प्राथमिकतामा राख्न अनुरोध गरिरहेका छौँ।’
Shares

प्रतिक्रिया