कोरोना भाइरसको खतारलाई मध्यनजर गर्दै सरकारले बाल सुधार गृह खाली गराउन तयारी थालेको छ। कारागार व्यवस्थापन विभागका अनुसार सुधार गृहमा रहेका बालबालिकालाई अविभावकको जिम्मा लगाउने प्रक्रिया सुरु भएको हो।
अपराध गरे पनि उमेर नपुगेका बालबालिकालाई बाल सुधार गृहमा राखिँदै आइएको छ।
महान्यायधिवक्ता अग्नि खरेलको अध्यक्षतामा बिहिबार बसेको आकस्मिक बैठकले बालबालिकालाई सजाय छुट दिने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो। त्यहीअनुसार बालबालिका अभिभावकलाई जिम्मा लगाउन प्रक्रिया अघि बढाइएको विभागका सूचना अधिकारी देवर्षी सापकोटाले जनाए।
पछिल्लो तथ्यांकअनुसार ८ वटा सुधार गृहमा ८ सय ७० जना बालबालिका रहेका छन्। भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहमा २३ बालिकासहित २ सय ३१ जना छन्।
विराटनगरमा १ सय ३८ जना, सराङ्गकोटमा ७४, बाँकेमा १ सय ३५, भीमफेदिमा ६६, डोटीमा ४०, पर्सामा १ सय १ र रुपन्देहीमा ८५ जना बालबालिकालाई सुधार गृहमा राखिएको छ।
कारागारले शुक्रबारदेखि नै यसका लागि प्रक्रिया अगाडि बढाएको छ।

प्रतिक्रिया