समाज


एमाले नेता ऐन महरविरुद्ध पक्राउ आदेश जारी, बलात्कार मुद्दा अघि बढाउन परमादेश

एमाले नेता ऐन महरविरुद्ध पक्राउ आदेश जारी, बलात्कार मुद्दा अघि बढाउन परमादेश

नेपालखबर
माघ ९, २०८१ बुधबार २०:५४, काठमाडौँ

उच्च अदालत पाटनले एमाले नेता ऐन महरविरुद्ध पक्राउ आदेश जारी गर्दै तत्काल उनीमाथि बलात्कार मुद्दामा अनुसन्धान अघि बढाउन परमादेश दिएको छ।

न्यायाधीशद्वय ब्रजेश प्याकुरेल र कृष्णराम कोइरालाको इजलासले पीडितले दिएको जाहेरी तत्काल दर्ता गरी नेता महरविरुद्ध अनुसन्धान अघि बढाउन प्रहरी र सरकारी वकिलका नाममा परमादेश जारी गरेको हो।

बझाङ घर भएका महरविरुद्ध अनुसन्धानको माग गरी पीडित महिलाले काठमाडौँ प्रहरी परिसरमा जाहेरी दिएकी थिइन्। तर उक्त जाहेरीमा अनुसन्धान नै नगरी प्रहरीले तामेलीमा राखिदिएपछि पीडितले उच्च अदालतमा रिट दायर गरेकी थिइन्।

पीडितको मागबमोजिम बुधबार उच्च अदालतले आदेश जारी गरिदिएको हो।

तामेलीको प्रक्रिया बदर गरी पुनः अनुसन्धान गर्न परमादेश जारी भएको यस मुद्दामा पीडितको तर्फबाट बहस गरेका अधिवक्ता इन्द्र अर्यालले नेपालखबरलाई जानकारी दिए। उनले भने, 'तामेलीको निर्णय बदर भएको छ। अब मुद्दा चल्ने भयो।'

महर एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मध्येमा पर्छन्। हाल केन्द्रीय सदस्य रहेका उनी अनेरास्ववियु केन्द्रीय अध्यक्षसमेत भएका थिए।

उनलाई केही समय कारबाही गरे पनि गत प्रदेश तथा प्रतिनिधि सभाको उपनिर्वाचनको मुखमा उनीमाथिको कारबाही फुकुवा गरी एमालेले पूर्ववत् जिम्मेवारीमा फर्काएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad