समाज


अनामनगरको ‘पोखरेल मट्का चिया’ जहाँ पाइन्छ १९ थरी चियाको स्वाद

अनामनगरको ‘पोखरेल मट्का चिया’ जहाँ पाइन्छ १९ थरी चियाको स्वाद

राजेश पोखरेल


सिबी अधिकारी
फागुन २९, २०८१ बिहिबार १५:२६, काठमाडौँ

चियाको चुस्कीमा गफिने नेपालीको बानी नै हो। यो साथीभाइ, आफन्त, इष्टमित्र भेटघाटको बहाना पनि हो। त्यसैले हिजोआज जताततै विभिन्न ‘ब्रान्ड’मा चियापसल खुलेका छन् र ती पसलमा मानिसहरू झुम्मिएकै देखिन्छन्।

नेपालीका लागि चिया संस्कृति नयाँ भने होइन। बयस्कदेखि वृद्धसम्मका लागि चियाको चुस्की नौलो छैन। चियाले न भोक मेट्छ न पोषण दिन्छ तर पनि सम्बन्धहरू न्यानो बनाइराख्छ भनेर विश्लेषण गर्नेहरू पनि छन्। त्यसैले चियालाई थकाइ मार्ने, तलतल मेट्ने, तनाव कम गर्ने अर्थात् ‘फ्रेस’ हुने कडीका रूपमा समेत अर्थ्याउने चलन छ।

सामान्य चिया पसल मात्र होइन, पछिल्लो समय सहरबजारमा बग्रेल्ती चियाका ब्रान्ड नै खुलेका छन्। चियावाला, चिया चौतारी, चियासंसार, मड्का चिया आदि...।

यिनैमध्येको एक हो ‘पोखरेल मट्का चिया’। जहाँ राजेश पोखरेलले विगत एक वर्षदेखि परम्परागत चिया पसललाई फरक शैलीमा प्रस्तुत गर्दै नयाँ ब्रान्डका रूपमा स्थापित गरेका छन्।

सिंहदरबारको पूर्वीगेटस्थित अनामनगरमा रहेको यो पसल त्यस क्षेत्रमा पुग्नेहरूको रोजाइमा पर्न थालेको छ।

यहाँ मड्का मात्रै होइन, १९ थरीका चियाको स्वाद पाइन्छ। जसले चियापारखीलाई तानिरहेको छ। नेतादेखि कलाकार, वकिल, पत्रकारलगायतका चियापारखी माझ यो पसल चर्चित बनेको छ।

काठमाडौँ महानगरपालिका–२९ का वडा सचिव शम्भु बरालका अनुसार वडाभित्र सय हाराहारीमा चिया पसल खुलेका छन्। तीमध्ये कतिपय ‘चिया पसल’ भनेर दर्ता छन् भने धेरैजसो बेकरी, खाजाघर आदि नामले सञ्चालनमा छन्।

पछिल्लो समय चिया व्यवसायमा आकर्षण बढेको र विभिन्न ब्रान्डका चिया पसल खुल्नेक्रम जारी रहेको उनी बताउँछन्।

पुर्ख्यौली घर स्याङ्जा भएका पोखरेलले चियाको यो ‘ब्रान्ड’ स्थापित गर्नुपछाडि सङ्घर्ष लामो छ।

१३ वर्षको उमेरदेखि व्यवसाय थालेका उनले २०५७ सालमा अनामनगरमा चिया पसल सुरु गरेका थिए। त्यसअघि नवलपरासीमा गण्डकी गेस्ट हाउस, किराना पसल र पान पसल सञ्चालन गरे।

नवलपरासीबाट काठमाडौँ छिरेपछि चिया पसलमा जोडिए। व्यवसाय ठिकै चल्दै थियो, त्यो भन्दा बढी कमाउने उद्देश्यले युरोप हानिए। त्यहाँका विभिन्न देशमा भौँतारिए।

‘युरोपमा साथीभाइको व्यापार-व्यवसायमा जोडिने भनेर विदेश गएँ। त्यहाँ पुगेपछि विदेश र नेपालको लगानीको तुलना गरेँ। विदेशमा जोखिम देखेँ र पुन: नेपाल नै फर्किएँ’ उनी सुनाउँछन्।

पोखरेलले डेनमार्क, बेल्जियम, पोर्चुगल, नेदरल्यान्डमा चियाको नयाँ तौरतरिका सिक्ने अवसर पाए। त्यही सीपलाई एक वर्षदेखि नेपालमै नयाँ ब्रान्डका रूपमा स्थापित गरेको उनी बताउँछन्।

चियाका पारखीको ध्यान खिच्न पोखरेलले चिया पसल र सामाजिक सञ्जालमा विभिन्न नारा पोस्ट गर्छन्। ‘चियामा रोइलो होइन रमाइलो गरौँ’, ‘एक कप हजार खुसी, पोखरेल चिया तपाईँको सन्तुष्टि’ यी र यस्ता साङ्केतिक नाराले पनि पोखरेल मटका चिया अनामनगरमा अरूभन्दा भिन्न छ।

उन्नाइस थरीका चिया
पोखरेल मट्का चियामा १९ थरीका चियामा १९ प्रकारका मसलाको फरक स्वाद पाउन सकिन्छ।

‘दूधजन्य १९ थरी र पानीजन्य अरू फरक चिया पनि पाइन्छ, लालीगुराँस, लेमनग्रासलगायत मागअनुसारका चिया पनि हामीले दिने गरेका छौँ’, पोखरेल भन्छन्।

फरक फरक मसलाको मिश्रण भएको चियामा मिश्रणअनुसार प्रतिकप २५ रुपैयाँदेखि १३० सम्म मूल्य रहेको छ।

अनामनगर क्षेत्रका मात्र नभई कालीमाटी, स्वयम्भू, पेप्सीकोला, बालाजु, पुतलीसडकलगायत स्थानबाट समेत ग्राहक आउने गरेको पोखरेल बताउँछन्।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता ठाकुर गैरेलगायत नेताहरूले बेलामौकामा आफ्नो चिया पिउने गरेको उनी सुनाउँछन्।

यसैबाट परिवारको खर्च चलेको र पाँच जनालाई रोजगारी दिएको पोखरेल बताउँछन्।

झन्डै २० लाख रुपैयाँ लगानीबाट सञ्चालन सुरु गरेको पोखरेल मट्का चियाको ‘चेन’ पनि विस्तार हुँदैछ। छिट्टै देशबाहिर कतारमा र काठमाडौँका विभिन्न स्थानमा शाखा विस्तार गर्ने योजना रहेको उनले सुनाए।

अरू शाखामा यी १९ थरीका बाहेक अरबी, इरानी, गुलाफलगायत १० थरी चियाको स्वाद चखाउने योजना रहेको पोखरेल बताउँछन्।

‘पोखरेल मट्का चिया’मा चियाका अलावा बेकरी आइटम, मःम, चाउमिन, भुटेको र उसिनेको मकै, कोदोको सुक्खा रोटी, मोही, दही आदि परिकार पनि पाइन्छ। (रासस)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad