समाज


बेनी–जोमसोम सडकका बेलिब्रिज जोखिममा

बेनी–जोमसोम सडकका बेलिब्रिज जोखिममा

नेपालखबर
चैत १३, २०८१ बुधबार २०:४७, म्याग्दी

क्षमताभन्दा बढी तौलका मालबाहक सवारीसाधन गुडाउँदा बेनी–जोमसोम–कोरला सडकका बेलिब्रिज जोखिममा परेका छन्। बढी तौलका सवारीसाधन गुडाउँदा बेलिब्रिज जीर्ण बन्नुका साथै दुर्घटनाको जोखिम बढेको हो।

बेलिब्रिजमा क्षति हुँदा अन्तरदेशीय व्यापारिक कोरलानाका जोड्ने सडकमा यातायात ठप्प हुन्छ। बेनी–जोमसोम खण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ खोला, वडा नं ३ दानाको रुप्सेखोला, बेनी र पर्वतको बगरफाँटको सिमाना कालीगण्डकी, मुस्ताङको कोवाङ, बोक्सी र टुकुचेको थापाखोलामा बेलिब्रिज छन्। ती बेलिब्रिजको भारबहन क्षमता अधिकतम १८ मेट्रिकटन हो।

एक पटकमा एउटा मात्र सवारीसाधन तार्न मिल्ने बताउँदै निर्माण र खाद्य सामग्री बोकेका १८ मेट्रिकटनभन्दा बढी तौल भएका ट्रक, टिपर, लरी, टेलर बेलिब्रिजबाट तारिँदा भाँचिने र भत्किने जोखिम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजकुमार केसीले उल्लेख गरे।

क्षमताभन्दा बढी तौलका सवारीसाधन बेलिब्रिजबाट गुडाउँदा दुर्घटनाको जोखिम बढेकाले निगरानी थालिएको उनले जानकारी दिए। 

‘भार थाम्न नसकेर बेलिब्रिज भाँचिने र भत्किने जोखिम बढेपछि केही दिनदेखि म्याग्दीबाट मुस्ताङ जाने सवारीसाधनलाई पोखरेबगर र मुस्ताङबाट बेनीतर्फ आउने बेलिब्रिजको क्षमताभन्दा बढी तौलका सवारीसाधनलाई जोमसोम रोक्न थालेका छौँ’, उनले भने, ‘बढी तौलका सामान झारेर हलुका बनाउँदै र पालो गरी तार्ने गरिरहेका छौँ।’

स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम–कोरला सडकका पक्की पुल निर्माण नभएका ठाउँमा अस्थायी रूपमा सवारीसाधन आवतजावतका लागि बेलिब्रिज जडान गरिएको छ। बेनी–जोमसोम–कोरला आयोजनाले बेलिब्रिजहरूमा क्षमताभन्दा बढी तौलका सवारीसधान सञ्चालन नगर्न आवश्यक जानकारीसहित सूचना बोर्ड राखिएको जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad