समाज


सर्लाही अदालतमा प्रधानन्यायाधीशको छड्के, कर्मचारीलाई थाहै नदिई सेवाग्राहीका गुनासा संकलन

राउतले सोधे, ‘तपाईँलाई कर्मचारीले दुःख दिए कि? पैसा मागे कि?’
सर्लाही अदालतमा प्रधानन्यायाधीशको छड्के, कर्मचारीलाई थाहै नदिई सेवाग्राहीका गुनासा संकलन

नेपालखबर
चैत १९, २०८१ मंगलबार १७:५०, काठमाडौँ

सधैँझैँ कार्यालय समय सुरु हुनासाथ सर्लाही जिल्ला अदालतमा कर्मचारी, सेवाग्राही र कानुन व्यवसायीको भिड लाग्यो।

सबै आ-आफ्नै धुनमा थिए। 

अकस्मात् प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत प्रांगणमा पुगे। 

उनले अदालत परिसरका सबै गतिविधि नियाले। भिडमा भेटिएका सेवाग्राहीसँग अनौपचारिक कुराकानी गरे।

कुराकानीको क्रममा उनले सोधे, ‘तपाईंको समस्या के हो? किन अदालत आउनुभयो?’

उनका थप प्रश्न थिए, ‘तपाईँलाई कर्मचारीले दुःख दिएका छन् कि? कसैले पैसा मागेका छन् कि? बिचौलियाले प्रलोभनमा पारेका छन् कि? खर्च धेरै लागेको छ कि?’

‘सर्वसाधारणकै वेशमा पुगेपछि कुरा गर्न सहज भयो,’ प्रधानन्यायाधीश राउतले नेपालखबरसँगको कुराकानीमा भने, ‘प्रधानन्यायाधीशका रूपमा जाँदा खास कुरै थाहा हुँदैन। धेरै कुरा लिपपोत गरेर आइपुग्छन्।’

प्रधानन्यायाधीश राउतका अनुसार, धेरै सेवाग्राहीले आफ्नो काम समयमा नभएको गुनासो गरे। जितिसकेको मुद्दामा पनि फैसला कार्यान्वयन नभएको दुःखेसो पोखे। तारिख धाउँदाधाउँदै हैरान भएको कुरा सुनाए।

घुस दिनुपरेको गुनासो आयो कि आएन त?

प्रधानन्यायाधीश राउत भन्छन्, ‘मैले न्यायाधीशले, कर्मचारीले पैसा माग्छन् कि भनेर सोधेँ। राम्रो कुरा के भने कसैले पनि त्यस्तो गुनासो गरेनन्। तर, ढिलासुस्ती धेरै भयो। चाँडो गरिदिए हुन्थ्यो, सधैँ अदालत आउनु नपरे हुन्थ्यो भन्ने कुरा बढी सुनियो।’

प्रधानन्यायाधीश राउतले करिब ३० जनासँग प्रत्यक्ष कुराकानी गरे। करिब डेढ घण्टा यसमा खर्चिए। त्यसपछि मात्र उनले अदालतका कर्मचारी र न्यायाधीशलाई भेट्न पुगे।

छड्के शैलीमा प्रधानन्यायाधीश पुग्दा अदालतमा सबै न्यायाधीश आफ्नो इजलासमा मुद्दा सुनुवाइ गर्न पुगिसकेका थिए। 

खासमा उनी जनकपुरमा बुधबार हुने ‘न्यायिक सुशासन र दैनिक काम कारबाहीमा देखापरेका समस्या’ विषयक अन्तर्क्रियामा सहभागी हुन मधेस झरेका थिए। न्याय परिषद्का प्रवक्ता अशोककुमार क्षत्रीका अनुसार, न्याय परिषद्ले त्यहाँ जनकपुर उच्च अदालत र त्यसमातहत पर्ने जिल्ला अदालतहरूका न्यायाधीश तथा कर्मचारीहरूसँग अन्तर्क्रिया गर्दै छ। त्यही मौकामा उनी जिल्ला अदालतको अवस्था प्रत्यक्ष हेर्न र बुझ्न सर्लाही पुगेका हुन्। 

‘पहिला नै खबर गरी जाँदा अदालतको संयन्त्र एक्टिभ हुन्छ, वास्तविक कुरा थाहा हुँदैन भनेर खबर नगरी गएको हुँ,’ प्रधानन्यायाधीश राउतले भने, ‘अब मलाई नीतिगत कुरा गर्न सहज हुन्छ। अब सुधारको काम सुरु हुन्छ। त्यसका लागि संयन्त्र परिचालन हुन्छ। सुधारका लागि ढिलाइ नहोस्, सास्ती नहोस्, सधैँ अदालत जाँदा मान्छेको खर्च हुन्छ, त्यो नहोस् भन्ने नै हाम्रो उद्देश्य हो।’ 

सर्लाहीपछि प्रधानन्यायाधीश राउतले महोत्तरी जिल्ला अदालतमा पनि यसैगरी सेवाग्राहीसँग अन्तर्क्रिया गरेका थिए। महोत्तरीमा पनि उस्तै प्रकारका गुनासा प्राप्त भएको र अब समस्या पहिचान गरी समाधान खोज्न सहज हुने प्रधानन्यायाधीश राउतको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad