समाज


आफूलाई भारतीय गुन्डा बिस्नोई बताउने भगौडा सैनिक बाँकेमा पक्राउ

आफूलाई भारतीय गुन्डा बिस्नोई बताउने भगौडा सैनिक बाँकेमा पक्राउ

आफूलाई भारतीय गुन्डा बिस्नोई बताउने रामबहादुर बुढा क्षेत्री (फाइल फोटो)


नेपालखबर
चैत २०, २०८१ बुधबार १२:५६, काठमाडौँ

आफूलाई भारतका खुंखार गुन्डा नाइके लोरेन्स बिस्नोई र अनमोल बिस्नोई बताउँदै नेपालमा शृंखलाबद्ध अपराध गरिरहेका व्यक्ति बाँकेमा पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय कोहलपुरले सुर्खेतको भेरीगंगा नगरपालिका ७ काठेघारी घर भई हाल बाँकेको कोहलपुर ५ बस्ने ४१ वर्षका रामबहादुर बुढा क्षेत्रीलाई पक्राउ गरेको हो।

उनले विदेशी नम्बरबाट ह्वाटसएप सञ्चालन गरी आफूलाई लोरेन्स बिस्नोई र अनमोल बिस्नोई हो भनी व्यवसायीलाई धम्क्याएर ५ करोड भारु माग गरेको आरोप छ।

आफूले माग गरेको रकम नदिएमा जे पनि हुनसक्छ भन्दै धम्क्याएको गुनासो प्राप्त भएको इलाका प्रहरी कार्यालय कोहलपुरको प्रमुख डीएसपी धर्मराज भण्डारीले बताए। 

उनी यसअघि पनि विभिन्न अपराधमा संलग्न रहेकोा खुलेको छ। २०६१ साउन २७ गते विवाह गर्छु भन्दै युवतीलाई फकाएर काँकडभिट्टा हुँदै भारततर्फ लगेर जिउ मास्ने बेच्ने उद्योगमा मुद्दा चलेको थियो। 

झापामै २०६२ चैत ८ गते धाकधम्की दिँदै सर्वसाधारणबाट चन्दा असुली गर्ने गरेको आरोपमा पनि मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। २०६४ भदौ ९ गते धाकधम्की दिई व्यक्तिलाई नियन्त्रणमा लिएर ट्याक्सीमा राखि फिरौती रकम असुल गरेको अभियोग छ। 

इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतबाट २०६४ चैत २७ गते संविधान सभा निर्वाचन २०६४ का उम्मेदवार ऋषि शर्मा प्रचारप्रसार सकेर आउँदै गर्दा सुर्खेत महलकुना जहरेबजार नजिक लोधे भन्ने स्थानमा गोली प्रहार गरी हत्या गरेको अभियोगसमेत उनलाई लगाइएको थियो। 

२०६५ चैतमा द्वन्द्वपीडित सेना प्रहरीको आन्दोलनमा हतियार खासेको विषयमा पनि उनीविरुद्ध काठमााडौँमा मुद्दा चलेको थियो। कोटेश्वरको निखिलेश्वर मन्दिरमा शक्तिबहादुर बस्नेतलाई गोली हानेको मुद्दामा ५ वर्ष कैद र ६० हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो। उक्त सजाय भुक्तान गरेर २०७० फागुन २८ गते कारागारबाट छुटेको उनले प्रहरीसँग बताएका छन्। 

रामबहादुर २०५९ सालमा नेपाली सेनामा भर्ना भएर छोटो समयमै भागेको पनि खुलेको छ। सेनाबाट भागिसकेपछि उनले शृ‌ंखलाबद्ध आपराधिक गतिविधि गरेको दाबी प्रहरीको छ। उनको साथबाट प्रहरीले भारतीय आधारकार्ड पनि फेला परेको छ। 

यसअघि मुद्दामा सजाय कार्यन्वयनको अवस्थाबारे अनुसन्धान गरिरहेको पनि डीएसपी भण्डारीले नेपालखबरलाई बताए। उनले भने यसअघिका मुद्दामा सजाय भुक्तान गरिसकेको दाबी गरेका छन्। 

उनले बताएको भारतीय लोरेन्स बिस्नोई भारतीय ग्याङस्टर हुन्। उनी अपहरण, हत्या तथा फिरौती माग्ने घटनामाा संलग्न रहेको अभियोगमा सन् २०१४४ देखि भारतका कारागारमा छन्।

उनलाई २०२२ मे २९ मा पन्जाब संगर सिद्दु मुसेवालाको हत्या, भारतीय नायक सलमान खानलाई ज्यान मार्ने उद्योग गरेको, बाबा सिद्दीकीको हत्या गरेको जस्ता अभियोग पनि छन्।

अर्का अनमोल बिस्नोई लोरेन्सका भाइ हुन्। उनले लारेन्स कारागार पुगेपछि विभिन्न व्यपारीलाई धम्क्याउने र चन्दा फिरौती माग गर्ने गरेको भारतीय प्रहरीको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad