समाज


जुम्लाको सिञ्जामा नापी र मालपोत कार्यालय स्थापना

जुम्लाको सिञ्जामा नापी र मालपोत कार्यालय स्थापना

जुम्लाको सिञ्जा


नेपालखबर
चैत २२, २०८१ शुक्रबार २१:५०, काठमाडौँ

जुम्लाको सिञ्जा गाउँपालिकाको प्रशासकीय केन्द्र नराकोटमा नापी र मालपोत कार्यालय स्थापना गरिएको छ। शुक्रबार एक कार्यक्रमकाबीच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सिञ्जा गाउँपालिकाको नराकोटमा स्थापना गरिएको नापी र मालपोत कार्यालयको औपचारिक उद्घाटन गरेसँगै यहाँका स्थानीयवासीमा खुसी छाएको छ।

सो अवसरमा मन्त्री अधिकारीले  कार्यालय स्थापना भएसँगै सिञ्जा क्षेत्रलाई आर्थिक र प्रशासनिक रूपमा ठूलो सफलता प्रदान गरेको बताए। यो कदमले खस भाषाको उद्गमस्थलका रूपमा प्रसिद्ध सिञ्जा क्षेत्रमा विकासको नयाँ युगको सुरुआत गरेको उहाँले उल्लेख गरे।

मन्त्री अधिकारीले भने, ‘यो कार्यालय स्थापनाले सिञ्जा क्षेत्रलाई आर्थिक र प्रशासनिक रूपमा ठूलो सफलता प्रदान गरेको छ। कार्यालयको दिगो व्यवस्थापन र प्रभावकारी सेवा प्रवाहका लागि सरकारले आवश्यक सहयोग जारी राख्ने भएको छ।’

सरकारले चालेको यो कदमले खस भाषाको उद्गमस्थलका रूपमा प्रसिद्ध सिञ्जा क्षेत्रमा विकासको नयाँ युगको सुरुआत गरेको मन्त्री अधिकारीले जानकारी दिए।

सङ्घीयताको मर्मअनुसार अब सिञ्जा क्षेत्रका हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकाका नागरिकले घरआँगनमै नापी र मालपोत सेवाको सुविधा पाउने गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले बताए। यो कार्यालय स्थापनाले सिञ्जा क्षेत्रका नागरिकलाई सदरमुकाम धाउनुपर्ने झन्झट र महँगो खर्चबाट समेत मुक्ति मिलेको छ। गत पुस ९ गतेको मन्त्रिपरिषद्को निर्णयले यो कार्यालय स्थापनाको बाटो खोलेको थियो।

सिञ्जाका स्थानीयवासीले यो निर्णयलाई सङ्घीयताको अनुपम उपहारका रूपमा स्वागत गरेको गाउँपालिका अध्यक्ष धितालको भनाइ छ। सिञ्जा भेगका नागरिकलाई अब जुम्ला सदरमुकाम खलङ्गा जानुपर्दा लाग्ने समय, पैसा र हप्तौँ होटल बसाइको पीडा हटेको छ। घरमै बसेर सेवा लिन पाउनु यहाँका स्थानीयवासीका लागि ठूलो राहत भएको सिञ्जा–२ का स्थानीयवासी रतन  वडले बताए।

जग्गा नामसारी, राजीनामाजस्ता कामका लागि सिञ्जाबाट सुविधा लिन पाउँदा निकै खुसी छाएको छ। सो कार्यालय स्थापनाले स्थानीयवासीको दैनिकीसमेत सहज बनाएको गाउँपालिका प्रवक्ता तीर्थ वडले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad