कानुन व्यवसायीहरूको पेसागत संगठन नेपाल बार एसोसिएसनको वर्तमान केन्द्रीय कार्यसमितिले आउने वैशाख ६ गते नवनिर्वाचित नेतृत्वलाई पदभार हस्तान्तरण गर्ने भएको छ।
बार एसोसिएसनको नयाँ कार्यसमिति चयन गर्न शनिबार चुनाव भएको छ।
अहिले काठमाडौँ उपत्यका र बाहिर गरी ३६ मतदान केन्द्रबाट मतपेटिका संकलन गर्ने क्रम जारी छ। आज रातिसम्म सबै मतपेटिका आइपुग्ने र सोमबार मतगणना सुरु गरिने बार चुनावका प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाले बताएका छन्।
यसैबीच नेपाल बार एसोसिएसनको वर्तमान केन्द्रीय कार्यसमितिले सूचना जारी गरी वैशाख ६ गते आर्थिक वर्ष २०८०/८१ को वार्षिक साधारण सभा र पदभार हस्तान्तरण कार्यक्रम गर्ने जानकारी गराएको हो।
बारका महासचिव अधिवक्ता अन्जिता खनालले जारी गरेको सूचनाअनुसार वैशाख ६ गते बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा दिउँसो १ बजे साधारण सभा सुरु गरिनेछ।
कार्यक्रममा आ.व. २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन, महासचिव र कोषाध्यक्षको प्रतिवेदन, आर्थिक वर्ष २०८१/०८२ का लागि लेखापरीक्षक र निजको पारिश्रमिक तोक्ने सम्बन्धमा छलफल हुनेछ।
सोही अवसरमा नेपाल बार एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिले अब निर्वाचित हुने २७औँ कार्यसमितिलाई पदभार हस्तान्तरण पनि गरिने सूचनामा उल्लेख छ।
Shares

प्रतिक्रिया