नेपालको कोरोना भाइरस संक्रमितको संख्या ६ पुगेको छ।
यही चैत ४ गतेको कतार एयरवेजकै फ्लाइटमा दोहाबाट काठमाडौँ आएका थप एक जना महिलामा कोरोना संक्रमण देखिएको हो।
बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार ब्रिफिङ कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप एक जनाको रिपोर्ट पोजेटिभ आएको बताए।
संक्रमित व्यक्ति कहाँ रहेको बारे खुलाइएको छैन।
गण्डकी प्रदेशका एक स्वास्थ्य अधिकारीका अनुसार ती युवती बागलुङकै भएको युरोपबाट आएकी हुन्। यसअधि कोरोना संक्रमित युवती र उनी नजिकको नातेदार भएको उनले जानकारी दिए।
यसअघि सोही विमानमा आएका दुई जना युवतीको रिपोर्ट पोजेटिभ पाइएको थियो। तीमध्ये एक जना टेकु अस्पताल र अर्की बागलुङस्थित धौलागिरी अस्पतालको आइसोलेसनमा उपचाररत छन्।
त्यस्तै युएइबाट आएका अर्का एक जना सेती प्रदेशिक अस्पतालमा र अर्का व्यक्ति टेकु अस्पतालमा उपचाररत छन्। चीनबाट आएका एक जना भने निको भइकन घर फर्किसकेका छन्।
यो पनि: नेपालमा कोरोना परीक्षण अत्यन्त कम, ७१ दिनमा मात्र ११ सयको जाँच

प्रतिक्रिया