समाज


तीन महिनामा कोसीका कारागार र ब्यारेकमा ६ जनाको मृत्यु

तीन महिनामा कोसीका कारागार र ब्यारेकमा ६ जनाको मृत्यु

नेपालखबर
बैशाख २४, २०८२ बुधबार २०:५, मोरङ

कोसी प्रदेशमा तीन महिनाको अवधिमा प्रहरी ब्यारेक र जिल्ला कारागारमा गरी ६ जनाको मृत्यु भएको छ।

इन्सेक कोसी प्रदेश कार्यालय, विराटनगरले सन् २०२५ को जनवरीदेखि मार्चसम्मको मानव अधिकार अवस्थाका विषयमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार झापा, मोरङ र सुनसरीमा रहेका कारागार र व्यारेकमा गरी ६ जनाको मृत्यु भएको छ।

बितेको तीन महिनामा कोसी प्रदेशको मानव अधिकारलाई विश्लेषण गर्ने हो भने मानिसको सबै भन्दा ठूलो अधिकार बाँच्न पाउने अधिकारबाट १२ जना नागरिक विमुख भएको इन्सेक प्रदेस संयोजक मनोहर पोखरेलले बताए। पोखरेलका अनुसार प्रहरी ब्यारेकभित्र एकजना सइसहित राज्यको नियन्त्रणमा भएका ६ जना नागरिकले यस अवधिमा ज्यान गुमाउनु परेको छ। अन्य पक्षबाट ६ जनाको हत्या गरिएको छ। यस अवधिमा एक जनालाई जिउँदै जलाएर हत्याको प्रयास गरिएको छ।

इन्सेकको अभिलेखअनुसार ०८१ पुस १६ गतेदेखि चैत १८ गतेसम्मको अवधिमा जिल्ला प्रहरी कार्यालय झापाको व्यारेकभित्र र कारागारमा गरी दुई जनाको मृत्यु भएको छ। जिल्ला कारागार मोरङका तीन जना र सुनसरी झुम्का कारागारमा एक जना गरी चार जनाको मृत्यु भएको इन्सेकले सार्वजनिक गरेको स्थितीसूचकमा उल्लेख छ।

जिल्ला प्रहरी कार्यालय झापाको ब्यारेमा कानेपोखरी गाउँपालिका ७ का ४९ वर्षीय सइ धनराज खतिवडाको फागुन ४ गते झुण्डिएर मृत्यु भएको र जिल्ला कारागार झापामा भद्रपुर नगरपालिका १ का ४० वर्षीय मदन सिलवालको माघ २९ गते मृत्यु भएको इन्सेकको स्थितीसूचकमा उल्लेख छ।

जिल्ला कारागार मोरङमा रहेका बेलवारी नगरपालिका-४ का ६७ वर्षीय अम्मरबहादुर राइको पुस २० गते, पथरी शनिश्चरे नगरपालिका–४ का जेठा भनिने जितबहादुर देवानको चैत १ गते र रतुवामाई नगरपालिका ५ का २९ वर्षीय किसन टुडुको माघ २९ गते मृत्यु भएको इन्सेकको अभिलेखमा देखिन्छ।

तीन महिनाको अवधिमा ताप्लेजुङको पाथीभरा मुकुम्लुङ क्षेत्रमा भएको आन्दोलनमा प्रहरीले सात जना महिला र ४२ जना पुरूष गरी ४९ जनालाई गिरफ्तार गरेको छ। सो अवधिमा राज्य पक्षबाट भएका कुटपिटका घटनामा चार जना पुरूष घाइते भएका छन्।

तीन महिनाको अवधिमा कोशी प्रदेशमा राज्य पक्षबाट भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ५९ जना र अन्य पक्षबाट भएका मानव अधिकारविरूद्धका घटनामा ३ सय १६ जना गरी कूल ३ सय ७५ जना पीडित भएको इन्सेक कोशीले जनाएको छ।

अन्य पक्षबाट भएका घटनामा घाइते पुरूष ३०, कुटपिट महिला दुई र पुरूष सात गरी नौ, अमानवीय व्यवहार घटनामा दुई जना पुरूष, हत्याका घटना दुई जना महिला र दुई जना पुरूष गरी चार, अपहरण घटनामा एक जना महिला, धम्कीका घटनामा एक जना पुरूष, बाल अधिकारविरूद्धका घटनामा ४१ जना र महिला अधिकारविरूद्धका घटनामा २ सय २८ गरी कुल ३ सय १६ जना पीडित भएका छन्।

इन्सेक अभिलेखका आधारमा तीन महिनाको अवधिमा २९ जना बालिका बलात्कार र १२ जना बालिका यौन दुव्र्यवहारका घटनामा पीडित भएका छन्।

महिला अधिकारविरूद्धका घटनामा बलात्कार २६, बलात्कार प्रयास एक, यौन दुव्र्यवहार एक, परिवारजनबाट हत्या दुई, यौनजन्य साइवर अपराध एक र घरेलु हिंसामा १ सय ९७ गरी २ सय २८ जना महिला पीडित भएका छन्।

प्रदेश संयोजक पोखरेलले मानव अधिकारको संरक्षण एवम् सम्वद्र्धन गर्ने मुख्य दायित्व राज्यको भएकोले मानव अधिकारका सम्वन्धमा राज्य सम्वेदनशील हुनु पर्ने बताए। मानव अधिकार संरक्षण र सम्वद्र्धनका निम्ति राज्यले ठोस, प्रभावकारी र हस्तक्षेपकारी नीति तथा कार्यक्रमहरू अवलम्वन गर्न इन्सेकको अभिलेखले सहयोग पुग्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad