मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव तथा बंगालको खाडी र अरब सागरबाट आइरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव छ।
जसका कारण यतिबेला (मंगलबार साँझ) कर्णाली प्रदेश र सुदूरपशचिम प्रदेशसहित देशका पहाडी भेगमा मौसम आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मुख्यतया सफादेखि आंशिक बदली छ।
साथै अहिले कोसी प्रदेश, बागमती प्रदेश र सुदूरपशचिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको मौसम महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज राति पनि कोसी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश, र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ।
यसैगरी बुधबार दिउँसो पनि कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशसहित पहाडी भूभागका थोरै स्थान र देशका बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ।
मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।
यस्तै केही स्थानमा वर्षा भन्नाले सम्बन्धित भूभागको ५० प्रतिशत, थोरै स्थान भन्नाले २५ देखि ३० प्रतिशत र एक-दुई स्थान भन्नाले २५ प्रतिशतभन्दा कम ठाउँमा वर्षा हुन्छ भनेर बुझ्न सकिने मौसमविद् बताउँछन्।
Shares

प्रतिक्रिया