समाज


नेपाली रेलको मर्मत भारतीय दूतावासको खर्चमा, जनकपुरका यात्रु २ महिना ‘शाकुरबस्ती’ले बोक्ने

नेपाली रेलको मर्मत भारतीय दूतावासको खर्चमा, जनकपुरका यात्रु २ महिना ‘शाकुरबस्ती’ले बोक्ने

सीताराम बराल
जेठ १५, २०८२ बिहिबार १९:४३, काठमाडौँ

जनकपुर–जयनगर रेलमार्गमा साढे तीन वर्षअघिदेखि नियमित रूपमा सञ्चालन हुँदै आएका दुई रेल अब झण्डै दुई महिना यो रेलखण्ड वरिपरिका बासिन्दाले देख्न पाउने छैनन्। नियमित यात्रुहरूले नेपालका आफ्नै यी दुई रेल चढेर यात्रा गर्न पनि पाउने छैनन्। 

नेपाली राष्ट्रिय झण्डामा प्रयोग भएका रातो र नीलो रङ पोतिएका नेपाली रेलको साटो यो रेलमार्गमा यात्रा गर्ने यात्रीहरूले अलिक फरक खालको, पहेँलो रङको भारतीय रेलमा यात्रा गर्नुपर्नेछ।  

प्रत्येक वर्ष नियमित रूपमा मर्मतसम्भार (पिरियोडिकल ओभरहलिङ– पीओएच) गर्नुपर्ने रेल चार वर्षपछि पहिलोपटक मर्मतसम्भारका लागि लखनउ (भारत) लगिने भएपछि जनकपुर–जयनगर रेलमार्गमा नेपाली रेलको साटो ‘शाकुरबस्ती’ नामको भारतीय रेल गुडाइन लागेको हो। 

जानकारी अनुसार, नेपालका दुइवटै रेल सधैझैँ १८ जेठका दिन यात्रु बोकेर जयनगरतर्फ प्रस्थान गर्नेछन्। भारतको बिहार राज्यमा पर्ने जयनगर पुगेपछि यात्रुहरूलाई त्यहीँ ओरालेर दुवै रेल उत्तरप्रदेश राज्यको राजधानी लखनउतर्फ लाग्नेछन्। 

सधैँजसो जनकपुरबाट जयनगर पुगेर फर्कने नेपाली रेल त्यसदिन लखनउतर्फ लागेपछि जयनगरबाट जनकपुर आउने यात्रुहरू कोंकण रेलवे कम्पनीको ‘शाकुरबस्ती’ नामको रेल चढेर फर्कन पाउनेछन्। त्यसपछि झण्डै दुई महिनासम्म त्यही ‘शाकुरबस्ती’ रेलले नै जनकपुर–जयनगर खण्डमा यात्रुहरूको ओसार–पसार गर्नेछ। 

यस्तो छ ‘वैकल्पिक’ रेल 
भारतको कोंकण रेलवेबाट नेपालले खरिद गरेको दुईवटा रेल २०७६ असोजमा जनकपुर आइपुगेका थिए। नेपाल आइपुगेको झण्डै डेढ वर्षपछि त्यसको विधिवत् उद्घाटन २० चैत्र २०७८ मा भयो र जनकपुर–जयनगर रेलमार्गमा नियमित रूपमा चल्न सक्यो।   

नेपाली स्वामित्वका यी दुई रेलमा अगाडि र पछाडि एक–एक गरी दुई इन्जिन र प्रत्येक रेलमा इन्जिनसमेत गरी पाँच वटा डिब्बा छन्। अगाडि र पछाडि एकएकवटा इन्जिन भए पनि एकातर्फ एउटा मात्र इन्जिन भएकाले एकातर्फको भाग बिग्रेको स्थितिमा रेल चल्न सक्ने स्थिति थिएन।

मर्मत सम्भारका लागि नेपाली रेल लखनउ लगिएपछि विकल्पका रूपमा आउने कोंकणको रेलमा भने एकातर्फ नै दुईवटा इन्जिन छन्। 

‘त्यसैले एउटा इन्जिन बिग्रियो भने पनि अर्काे इञ्जिनबाट चलाउने सुविधा यो रेलमा छ,’ स्रोतले भन्यो, ‘त्यसैले, इन्जिनको दृष्टिले यो रेललाई हाम्रो भन्दा राम्रो भन्न सकिन्छ।’ 

नेपाली रेलमा पाँचवटा डिब्बा रहेकोमा आउन लागेको वैकल्पिक रेलमा ६ वटा डिब्बा छन्। यसमध्ये इन्जिनसमेत जोडिएकाले अगाडि र पछाडिको एक–एक डिब्बामा २९ जना मात्र चढ्न सक्छन्। बाँकी चारवटा डिब्बामा भने ५४ जनाका दरले यात्रुहरू चढ्न सक्छन्। 

भारतीय सहयोगमा मर्मतसम्भार
जानकारी अनुसार तन्दुरुस्त राख्न प्रत्येक वर्ष रेलको ‘ओभरहल’ गर्नुपर्ने हुन्छ। तर, नेपाली रेलहरू नियमित सञ्चालनमा आएको चार वर्ष पुग्न लागिसक्दा पनि ‘ओभरहलिङ’ गरिएको छैन। ‘ओभरहलिङ’ का लागि ठूलो रकम र समय लाग्ने तर त्यस अवधिमा सञ्चालन गर्न वैकल्पिक रेल र आवश्यक रकम समेत नभएका कारण अहिलेसम्म ‘ओभरहलिङ’ हुन नसकेको हो। 

‘ओभरहलिङ गर्दा खोल्न मिल्ने सबै इन्जिन र पार्टपुर्जासमेत खोल्नुपर्ने रहेछ, यी सबै काम गर्न झण्डै डेढ महिना लाग्ने देखियो’ स्रोतले भन्यो, ‘हामीसँग वैकल्पिक रेल पनि छैनन्। यति लामो समय ‘ओभरहलिङ’ का लागि लखनउमै राख्नुपर्ने भएपछि यात्रुहरूलाई समस्या हुने भएकाले पनि समयमै ‘ओभरहलिङ’ नगरिएको हो।’ 

जहाँसम्म ‘ओभरहलिङ’ का लागि लाग्ने खर्चको विषय हो, यो कार्य कति महँगो हुँदोरहेछ भन्ने कुरा कोंकण रेलवेले पठाएको शुल्क हेरेर जानकारी पाउन सकिन्छ। जस्तो कि, ‘ओभरहलिङ’ खर्चस्वरूप झण्डै ६ करोड रूपियाँ लाग्ने जानकारी कोंकण रेलवेले गराएको थियो। 

ओभरहलिङ, त्यसअवधिसम्म सञ्चालन हुने वैकल्पिक रेल र लखनउसम्म लैजाँदा र त्यहाँबाट जनकपुरसम्म ल्याउँदाको शुल्क गरी उसले यति रकम लाग्ने कोंकण रेलवले बताएको थियो। यति ठूलो रकम लाग्ने भए पनि यसपटक नेपालले निःशुल्क ‘ओभरहलिङ’ गर्न पाउने भएको छ। 

खासमा सम्पूर्ण खर्च भारत सरकारले कोंकण रेलवेलाई तिरिदिने भएपछि नेपालको हकमा ‘ओभरहलिङ’  निशुल्क हुने भएको हो। 

‘लाग्ने सम्पूर्ण रकम भारतले तिरिदिने सहमति भएको छ,’ रेलवे विभाग स्रोतले भन्यो, ‘जति रकम लाग्छ, सबै रकम काठमाडौँस्थित भारतीय राजदूतावासले तिरिदिनेछ।’ 

स्मरणीय छ, ती रेलहरूको खरिद भने नेपालले करिब ८४ करोड खर्चेर आफ्नै रकमबाट खरिद गरेको थियो। जनकपुर–जयनगर रेलमार्ग पुननिर्माण भने भारतीय सहयोगमा भएको थियो।  
  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad