लकडाउनका अवधिमा आपूर्ति सहज बनाउनका लागि भारतबाट आवश्यक खाद्य सामग्री र इन्धन बोकेका करीब दुई सय गाडी भित्रिएका छन्।
पर्सास्थित वीरगञ्ज एकीकृत सुख्खा बन्दरगाहबाट तरकारी र फलफूल बोकेका २० गाडी, पेट्रोलियम पदार्थ बोकेका ७० ट्याकर, खाना पकाउने एलपीजी ग्यासका ५३ र मालवाहक ट्रक १७ भित्रिएको प्रदेश नं २ सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी गराए।
सोही नाकाबाट रिफाइन तेल बोकेका १४ गाडी र तीन कन्टेनरका साथै महोत्तरी जिल्लाको नाका भएर तीन मालवाहक ट्रक पनि भित्रिएको उनले बताए।
यहाँ लकडाउन पूर्णपालना गराउनका लागि पूर्ण रुपले कडाइ गरिएको छ। भारतसँग जोडिएका १०९ वटै नाकामा कडाइ गरी आवतजावत बन्द गरिएको छ।
दुई हजार सवारी साधन नियन्त्रित
अहिलेसम्म लकडाउन उल्लंघन गर्ने दुई हजार १३५ सवारी साधनलाई नियन्त्रणमा लिइएको तथा अत्यधिक मूल्य लिई कालोबजारी गर्ने २५ जनालाई कारबाही गरिएको छ।
त्यस्तै प्रदेश २ का १४२ क्वारेन्टिन आइतबारसम्म ८६५ जना क्वारेन्टिनमा, एक हजार ८० जना होम क्वारेन्टिनमा र २७ जना आइसोलेसनमा बसेको सचिव घिमिरेले बताए।
आइतबारसम्म प्रादेशिक अस्पतालमा ३४ जनाको स्वाब परीक्षणका लागि लिएको छ। तीमध्ये ६ जनाको नेगेटिभ आएको र अन्यको रिपोर्ट आउन बाँकी रहेको उनले बताए।
राहतकोषमा रु ४८ लाख जम्मा
प्रदेश २ सरकारले स्थापना गरेको कोरोना भारइस सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा निजामती कर्मचारीबाहेक आजसम्म रु ४८ लाखभन्दा बढी सहयोग प्राप्त भएको छ।
सिभिल बैंक जनकपुरस्थित कार्यालयका प्रतिनिधिले आज मुख्यमन्त्री लालबावु राउतलाई रु पाँच लाखको ट्रान्सफर डिटेल हस्तान्तरण गरेपछि अब सो कोषमा रु ४८ लाख एक हजार जम्मा भएको छ।
प्रदेश सरकारले राष्ट्रिय वाणिज्य बैंकको जनकपुर शाखामा सञ्चालित कोरोना भारइस सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषको खाता नं १२२०५०३०००००१ मा रकम जम्मा गर्न सबैमा आग्रह गरेको छ। रासस

प्रतिक्रिया