समाज


अख्तियार प्रमुखको रोजाइमा परेका डीआईजी राना गृहमन्त्रीसँग जोडिँदा भए फिर्ता

अख्तियार प्रमुखको रोजाइमा परेका डीआईजी राना गृहमन्त्रीसँग जोडिँदा भए फिर्ता

उजिर कार्की
जेठ १८, २०८२ आइतबार २२:२५, काठमाडौँ

गएको शुक्रबार नेपाल प्रहरीका दुईजना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दुईपटक सरुवा भयो। डीआईजी हिमालयकुमार श्रेष्ठ र ओमबहादुर रानाको केही घण्टाको फरकमा दुईवटा सरुवा सूचना आए। 

सुरुमा अख्तियारबाट हिमालयकुमार श्रेष्ठलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी सरुवा गरिएको सूचना निस्कियो। अख्तियारमा रानालाई पदस्थापन गर्ने निर्णय भयो। 

यो निर्णयले गृहमन्त्रीको आलोचना भयो। आफूमाथि समेत प्रश्न उठेको मुद्दा अनुसन्धान प्रभावित गर्न डीआईजी फेरेको आरोप लाग्यो। त्यसै राति गृहमन्त्रीले अर्को निर्णय गरे र अख्तियारमा पदस्थापन गरिएका रानालाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरियो। अख्तियारबाट रानीपोखरी सरुवा गरिएका श्रेष्ठलाई अख्तियारमै सरुवा गरिएको दोस्रो सूचना जारी भयो। 

यो सूचनापछि प्रहरी प्रधान कार्यालयले पनि अर्को सूचना जारी गरेर सरुवाबारे प्रस्ट बनाउनु पर्‍यो।  

श्रेष्ठ अख्तियारको डीआईजी हुँदा राना पनि त्यही कार्यालयमा एसएसपी थिए। तर गत साता गृहमन्त्री रमेश लेखकको निर्णय अनुसार राना डीआईजीमा बढुवा भए। उनी बढुवा भएसँगै दुईमा एकजनाले अख्तियार छाड्नु पर्ने भयो। 

प्रहरीका लागि अख्तियार आकर्षक पोस्टिङ मानिन्छ र त्यहाँ जान ठूलै पहुँच चाहिन्छ। र यसपटक पनि अख्तियार प्रमुख प्रेम राईको रोजाइमा थिए ओमबहादुर राना। 

यसअघि मानव बेचबिखन अनुसन्धान ब्युरोबाट अख्तियारमा सरुवा हुँदा प्रमुख आयुक्त राईकै माग अनुसार गरिएको स्रोतको दाबी छ। 

त्यसपछि एसएसपीको रूपमा उनी अख्तियारमै कार्यरत थिए। राना अख्तियार प्रमुखसँग नजिकिएसँगै डीआईजी बढुवामा पनि अटाए। यसअघि उनी छुट्दै आएका थिए। यसपटक भने १२ एसएसपी मध्येबाट ११ डीआईजी बन्दा उनी पनि परे।

यसअघि गएको पुसमा ५ जना डीआईजी बढुवा गरियो। जुन बेला पनि एसएसपीको वरीयतामा राना पहिलो नम्बरमा थिए। तर विवादित छविका राना पहिलो नम्बरका एसएसपी भए पनि छुटेका थिए। 

यसपटक अख्तियार प्रमुखकै आडमा डीआईजीमा मात्रै परेका थिएनन् आफूले खोजेको पोस्टिङ पनि पाएका थिए। तर उनको नाम गृहमन्त्रीसँग जोडियो। 

यतिबेला गृहमन्त्री रमेश लेखक विवादको घेरामा छन्। त्यसमा पनि अख्तियारसँगै जोडेर। उनीविरुद्ध अख्तियारले अनुसन्धान गरिरहेको भिजिट भिसाको सेटिङमा संसदमै प्रश्न उठेको छ। 

उनको जवाफ सुन्न पनि विपक्षी सांसदहरूले अस्वीकार गरेका छन्। बजेट प्रस्तुत गर्दाबाहेक संसद चल्न सकेको छैन।

तर उनैले आफ्नो मुद्दामा अनुसन्धान गरिरहेको अख्तियारकै प्रहरी प्रमुखको सरुवा गर्ने निर्णय गरे। प्रहरी उच्च स्रोतका अनुसार सरुवाको निर्णय स्वयं डीआईजी हिमालयकुमार श्रेष्ठकै माग अनुसार भएको थियो। 

उनले यसअघि नै अख्तियारबाट सरुवा भएर मधेस प्रदेशमा जान खोजेका थिए। तर गृहमन्त्रीले मधेसको प्रहरी प्रमुखमा उमाप्रसाद चतुर्वेदीलाई सरुवा गरे। सँगैका डीआईजीमा सरुवा नहुने चतुर्वेदी र विशेष ब्युरो प्रमुख सिद्धिविक्रम शाह थिए। शाह जेठ १० मा खाली हुने एआईजीका लागि सरुवा भएनन्। 

श्रेष्ठ आफूले खोजेका प्रदेश नपाएपछि सरुवा नभई अख्तियारमै रोकिएका थिए। तर यसपटकको पदस्थापनमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय श्रेष्ठकै रोजाइमा पठाइएको र अख्तियार प्रमुखले पनि रानालाई रोजेको स्रोतको दाबी छ।

तर भिजिट भिसाको सेटिङमा अख्तियारले अनुसन्धान गरिरहेकाले गृहमन्त्रीले उक्त मुद्दा प्रभावित पार्न रानालाई अख्तियार खटाएको आरोप भने गृहमन्त्री लेखकलाई लाग्यो। 

राना र श्रेष्ठ राष्ट्रिय अनुसन्धान विभागबाट आएको टोलीका हुन्। यो टोलीका धेरैजसो अधिकारीहरू विवादित छन्। राना पनि यसअघि पटकपटक कारबाहीमा परेका प्रहरी अधिकारी हुन्। 

रानालाई २०६६ साल भदौ २१ गते कारबाही भएको थियो। त्यतिबेला उनलाई २ वर्ष बढुवा रोक्का गर्ने निर्णय भएको थियो। त्यसको दुई वर्षपछि उनी अर्को कारबाहीमा परे। २०६८ मंसिरमा २ ग्रेड २ वर्षका लागि रोक्का गर्ने निर्णय भएको थियो। 

२०७८ असार १३ गते पनि उनलाई विभागीय कारबाही गर्ने निर्णय भएको थियो। यही कारण यसअघि बढुवामा छुट्दै आएका उनी पछिल्लो समय भने अख्तियार प्रमुखको ओत लाग्न पुगेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad