विश्वभर फैलिदै गएको कोरोना भाइरसको महामारीबाट बच्न सरकारले देशभर लकडाउन गरेको छ। लकडाउनमै आफ्नो खेतको अन्नबाली भित्र्याउन महोत्तरीको एकडारा गाउँपालिका ६ बगियाटोलका किसान नागेन्द्र पाण्डेलाई भ्याइ–नभ्याइ छ।
लकडाउनको कारण गाउँघरमा जनमजदुर काम गर्न मान्दैनन्। तथापि जसोतसो केही जनमजदुरको सहारामा पाण्डेले आफ्नो ६ बिघा खेतमा लगाएको गहुँ काटेर, थरेसरमा कुटाएर घर भित्र्याइसकेका छन्। खेतमा लागेको बाँकी गहुँ भित्र्याउन उनी लागि परेका छन्।
‘कोरोनाको डरले जनमजदुर खेतमा काम गर्न जान मान्दैनन्। खेतमा सुकिसकेको गहुँ भित्र्याउनै पर्यो। नत्र वर्षामा सब बर्बाद हुन्छ। त्यसैले केही मजदुरलाई फकाएर काममा ल्याइ धेरै गहुँ भित्र्याइसकेँ। केही बाँकी छ’, पाण्डेले भने, ‘कोरोनाबाट बच्न समाजिक दुरी मेन्टन गरेर खेतबारीको काममा हामी लागेका छौं, सावधान र सचेत छौं।’

धनुषाको बटेश्वर गाउँपालिका २ का किसान रामेश्वर महतो ३ कठ्ठा खेतमा परबल लगाएका छन्। केही दिनपश्चात परबल फल्ने भएकाले गोडमेल गर्न, खाद्य मल हाल्ने तथा औषधि छर्किने काममा उनी व्यस्त छन्। त्यसैले महतोका परिवारलाई खासै लकडाउन जस्तो लागेको छैन। खेतबारीको काममा मज्जाले समय बितेको छ। महतो भन्छन्, ‘आफ्नै खेतबारीको काममा मज्जाले समय बित्छ। सरकारले पनि खेतबारीको काम गर्न छुट दिएको छ। कोरोनाबाट बच्न हामी सजग र सचेत भइ घर र खेतबारीको काम गरिरहेका छौं। बाहिर घुमफिर र बाहिरी व्यक्तिको सम्पर्कमा गएका छैनौँ।’
बटेश्वर गाउँपालिका १ को लवकुशचौकमा अनिच कुमार सिंह घरमै आफ्नो फर्निचरको काममा व्यस्त छन्। उनको आशीष फर्निचरमा रौतहटका २ जना कामदार पहिलादेखि नै काम गर्दै आएका छन्। सरकारले एकाएक लकडाउन गर्दा दुबैजना जान घरजान पाएनन्। बसेर समय बिताउन मुस्किल छ। त्यसैले तीनैजना घरमै फर्निचरमा काम गरेर समय बिताउछन्। ‘हामी लकडाउनमै छौं। बाहिर कतै हिडेको छैन। घरमै फर्निचरको काम गरिरहेका छौं। समाजिक दूरी र सावधानी अपनाएका छौं’, उनले भने।
नागेन्द्र, रामेश्वर र अनिच ग्रामिण भेगका उदाहरण पात्र मात्र हुन् । उनीहरु जस्तै ग्रामिण भेगका प्रायः सर्वसाधारण आफ्नै खेतबारी र घरायसी कामकाजमा व्यस्त छन्। प्रायः मान्छे सचेत र संयम छन्।

कोभिड–१९ बाट बच्न सरकारले गएको चैत ११ गतेदेखि एकसाताको लागि गरेको लकडाउनमा दुईपटक ८–८ दिनको समय थप गरेर निरन्तरता दिइरहेको छ। लकडाउनले सहर सुनसान छन्। सहरको सडकबाटो, बजार, पसल उद्योगा, कलकारखाना सबै ठप्प छ। प्रहरी प्रशासनले गरेको कडाइको कारण मानिसहरु अति आवश्यक काम बाहेक घरभित्रै बसिरहेका छन्। भने कोरोनाको सन्त्रासले धेरै मानिसहरु आफै सावधान र सतर्क भएका छन्। तर ग्रामीण भेगका जनता आफ्नो घर र खेतबारीका कामलाई निरन्तरता दिएकाले खासै लकडाउन जस्तो नदेखिए पनि बाहिरबाट आउने जाने मानिसहरुबाट सचेत र सावधान देखिन्छन्। अधिकांश ग्रामीण भेगका सर्वसाधारण घर बाहिर निस्किदा मास्क लगाउने गरेका छन्।

यद्यपि ग्रामीण भेगकमै केही ठाउँहरुमा मासिनहरु एकठाउँमा भेला भएर तासजुवा खेल्ने, भीडभाड लगाउने र हाटबजारमा समाजिक दुरीको खयार नगरी जथाभावी समान बेच्ने र किन्ने गरेको देखिएको छ।

प्रतिक्रिया