समाज


सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले बनायो कोरोना नमूना संकलन बुथ ,महाकाली अस्पतालमा जडान

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले बनायो कोरोना नमूना संकलन बुथ ,महाकाली अस्पतालमा जडान

गोकुल जोशी
चैत ३०, २०७६ आइतबार ६:१९,

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले कोरोना भाइरस (कोभिड १९) काे नमूना स‌ंकलनका लागि नयाँ बुथ (टेस्टिङ बुथ) निर्माण गरेको छ।

कञ्चनपुरको महेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको सो विश्वविद्यालयको इन्जिजियर संकायले नमूना संकलन केन्द्र निर्माण गरेको हो। कोरोना संक्रमणको आशंका लागेका बिरामीको नमूना संकलनमा सहजताका लागि संकलन केन्द्र निर्माण गरिएको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ संकायका डीन डा. किसनदत्त भट्टले बताए।

नमूना संकलनका बेला स्वास्थ्यकर्मीहरुले लगाउने पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) को सट्टा बुथको प्रयोग गरेर बिरामीको स्वास्थ्य चेकजाँच गर्न सक्ने उनले बताए।

‘पीपीई महँगो पर्ने तथा एक पटक प्रयोग गरेपछि परिवर्तन गरिराख्नु पर्ने झन्झट हुन्छ। तर, बुथले पीपीईको आवश्यकतालाई कम गरिएको छ’, नेपालखबरसँग डीन भट्टले भने, ‘पीपीईको अभावमा पनि यसले राम्रो काम गर्न सक्छ।’’

पीपीईको अभावमा स्वास्थ्य चेकजाँच गर्दा स्वास्थ्यकर्मीहरुमा पर्न गएको समस्यालाई मध्यनजर गर्दै राष्ट्रिय आविष्कार केन्द्रको डिजाइन तथा गाइडलाइन अनुसार सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले कोरोना भाइरस टेस्टिङ बुथ निर्माण गरेको हो। यो बुथ निर्माणका लागि सुदूरपश्चिामाञ्चल विश्वविद्यालय इन्जिनियरि संकायका डीन डा. भट्टको नेतृत्वमा सोही विभागमा कार्यरत शिक्षकहरु ई. तोरणप्रसाद भट्ट, ई. कमल लेखक तथा स्वयंसेवक ई. भुवनेश्वरी बोहरा र सोही संकायका विद्यार्थीहरु लोचन कार्की र वीरेन्द्र सिंह वडालको टोली संलग्न छ।

यस्तो छ बनावट
स्थानीय क्षेत्रमा उपलब्ध सामग्रीको प्रयोग गर्दै बुथ निर्माण भइरहेको डिन भट्ट बताउँछन्। उनका अनुसार बुथभित्र बसेर चिकित्सक वा अन्य स्वास्थ्यकर्मीले पीपीई नलगाइकन संक्रमणको आशंका गरिएका व्यक्तिको नमूना संकलन गर्न सक्ने छन्। ७ फिट उचाइ तथा ४ फिट चौडाइ रहेको बुथ बाहिरबाट हावा छिर्न नसक्ने गरी निर्माण गरिएको छ।

एलमोनियमको प्रयोग गर्दै बुथ निर्माण गरिएको निर्माण कार्यमा संलग्न विद्यार्थी लोचन कार्कीले बताए। उनका अनुसार बुथ भित्र वाइरिङ पनि गरिएको छ । चारैतिरबाट हावा छिर्न नसक्ने गरी निर्माण गरिएको बुथमा हावा तान्ने र फाल्ने दुई वटा पङखा जडान गरिएका छन्। बुथभित्र रहेर स्वास्थ्यकर्मीले कोरोना आशंकित बिरामीको चेकजाँचका लागि हात बाहिर निकाल्न सकिने गरी दुई वटा प्वाल राखिएको छ। जसबाट ग्लवस मात्रै लगाएर स्वास्थ्यकर्मीले स्वास्थ्य चेकजाँच गर्न सक्ने छन्।

महाकाली अस्पतालमा जडान
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ संकायले निर्माण गरेको कोरोना टेस्टिङ बुथ महाकाली अस्पतालमा जडान गरिएको छ। विश्वविद्यालयले बनाएको पहिलो टेस्टिङ बुथ चैत २५ गते महाकाली अस्पतालमा जडान गरिएको डिन भट्टले बताए। भीमदत्त नगरपालिकाको सहकार्यमा राष्ट्रिय अनुसन्धान केन्द्रको डिजाइन अनुसार चैत २२ गतेदेखि निर्माण सुरु भएको बुथ निर्माण सकिएर अस्पतालमा जडान गरिएको हो।

Kisanbhatta
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ संकायका डीन डा. किसनदत्त भट्ट

स्वाब संकलनमा सहज
महाकाली अस्पतालमा जडान भएको बुथले कोरोना भाइरसको आशंका गरिएका बिरामीको स्वाब संकलनमा सहज भएको मेडिकल सुपरिडेन्टन डा. हरिकुमार श्रेष्ठले बताए।

‘पीपीई अभाव थियो, अब बुथले गर्दा पीपीई नभए पनि  नमूना संकलन गर्न सकिन्छ’, नेपालखबरसँग श्रेष्ठले भने, ‘पीपीई एक पटक प्रयोग गरेपछि फाल्नु  पर्‍थ्यो, यसले ग्लवस मात्रै फेर्नुपर्ने अवस्था सृजना गरिदिएको छ।’

बुथले कोरोना आशंकित बिरामी र स्वास्थ्यकर्मीलाई प्रत्यक्ष सम्पर्क हुनबाट बचाएको छ।

‘अगाडि दिनमा एक पटक मात्रै स्वाब संकलन गर्ने गरिन्थ्यो, बुथले गर्दा जुनसुकै बेला जतिसुकै बेला पनि नमूना संकलन गर्न सकिएको छ’, उनले भने, ‘स्वास्थ्यकर्मीले चेकजाँचमा डराउनु पर्ने अवस्था हटेको छ।’

निःशुल्क बुथ निर्माण
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले निःशुल्क कोरोना टेस्टिङ बुथ निर्माण गरिरहेको हो। अस्पताल तथा स्थानीय तहको माग अनुसार निःशुल्क बुथ निर्माण गरिएको विद्यार्थी लोचन कार्कीले बताए।

‘बुथ निर्माणका लागि सम्बन्धित निकायले निर्माण सामग्री उपलब्ध गराइरहेका छन्, हामीले निर्माण गरेको पैसा लिएका छैनौँ’ उनले भने।

कोरोना भाइरसको महामारीको अवस्थामा पीपीईको अभाव निराकरण गर्न त्यसको सट्टा बुथ निर्माण गर्न पाउँदा डिन भट्टले खुसी व्यक्त गरे। 

बुथको माग बढ्यो
विश्वविद्यालयको इन्जिनियरिङ संकायले निर्माण गरेको टेस्टिङ बुथको माग बढेको छ। सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँबाट बुथ निर्माणको माग आएको डिन भट्ट बताउँछन्।

‘बैतडी, बझाङ, अछाम, कञ्चनपुरका विभिन्न स्थानीय तहबाट पनि बुथ निर्माणको माग भएको छ’, उनले भने, ‘निर्माण गरेर त्यहाँ पठाउने योजनामा छौँ।’

विश्वविद्यालयले निर्माण गरेको अर्को टेस्टिङ बुथ आइतबार भीमदत्त नगरपालिका–१० जिमुवास्थित हेल्थ पोस्टमा जडान गरिन लागेको छ।

सेनिटाइजर निर्माणको तयारी
कोरोना टेस्टिङ बुथ निर्माण गरिरहेको विश्वविद्यालयकै विज्ञान तथा प्रविधि संकायले सेनिटाइजर बनाउने तयारी पनि गरेको छ।

‘सेनिटाइजरको पनि अभाव छ, यो बनाउने तयारी गरिएको छ, त्यसका लागि कच्चा पदार्थको खोजी भइरहेको छ’ डीन भट्टले भने।

विश्व स्वास्थ्य संगठनको गाइड अनुसार सेनिटाइजर निर्माण गर्न लागेको उनको भनाइ छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad