मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला (शुक्रबार बिहान) देशभरको आकाश अधिकांश बादलले ढाकेको छ। बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव छ भने मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि छ र आगामी दिनमा यो बिस्तारै नेपाल नजिकिँदै आउने सम्भावना छ।
आज दिउँसो र रातिका लागि यस्तो छ वर्षा सम्भावना
दिउँसो : देशभर अधिकांश बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। देशका तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशको तराई भूभागसहित देशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति : देशभर अधिकांश बादल लाग्नेछ। कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका धेरै स्थान, कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभगका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। मधेस प्रदेश साथै कोसी, बागमती, गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा, कर्णाली प्रदेशका पहाडी भूभाग भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा, मधेससहित कोसी, बागमती र गण्डकी प्रदेशका तराई भूभाग, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।

काठमाडौँमा पनि भारी वर्षाको सम्भावना
काठमाडौँ उपत्यकामा पनि गएरातिदेखि नै मौसम बदली र वर्षा भइरहेको छ।
आज काठमाडौँ उपत्यकामा भारी वर्षाकै सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विभूति पोखरेलका अनुसार दिउँसो र राति दुवै समय काठमाडौँ उपत्यकामा भारी वर्षा हुने सम्भावना छ।
‘काठमाडौँ उपत्यकामा रातिदेखि नै वर्षा भइरहेको छ, अहिले केही कम भएको छ’, उनले बिहान सवा ८ बजेतिर नेपालखबरसँग भनिन्, ‘तर अहिलेलाई वर्षा केही भएजस्तो मौसम खुल्लाखुल्लाजस्तो भए पनि फेरि बदली हुने र वर्षा हुने सम्भावना छ।’
मौसमविद् पोखरेलका अनुसार अहिलेसम्म काठमाडौँ उपत्यकामा मध्यम वर्षा भएको छ। ‘तर दिउँसो र राति भारी वर्षा हुने सम्भावना छ’, उनले भनिन्।

हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।
यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।
एक-दुई स्थान, केही स्थान, धेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?
मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।
अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।
यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।
अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।
मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

Shares

प्रतिक्रिया