सोमबार बिहानसम्म काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टका बासिन्दाहरुको दिनचर्या सामान्य थियो।
सरकारले लकडाउन घोषणा गरेकाले अत्यावश्यक सामान, जस्तैः खाद्यान्न, दूध, तरकारी लिन उनीहरु बाहिर जान्थे। दूरी कायम राखेर मर्निङ वाक, इभिनिङ वाकमा पनि गइरहेकै थिए। सामान्य हिँडडुल गर्थे। झ्यालबाट भएपनि छिमेकीसँग सञ्चोबिसञ्चो सोध्थे, बात मार्थे।
तर, सोमबार साँझबाट भने यहाँको माहौल फेरिएको छ। कागेश्वरी मनोहरा नगरपालिकाले सोमबार आफ्नो क्षेत्रमा विदेशबाट आएका नागरिकको र्यापिड डायग्नोस्टिक टेस्ट(आरडीटी) किटबाट कोभिड–१९ परीक्षण गरेको थियो।
सो क्रममा यही अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीन जनामा कोरोना भाइरस देखियो। उनीहरुलाई थप परीक्षणका लागि पाटन अस्पताल पुर्याउन नपाई अपार्टमेन्टमा खैलाबैला मच्चिसकेको थियो।
मंगलबार आएको पीसीआर रिपोर्टमा तीन जनामध्ये दुई जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ८१ वर्षीया महिला र उनका ५७ वर्षीय छोरामा कोरोना देखिएका र बुहारीमा नदेखिएको मन्त्रालयले पुष्टि गरेको छ।
आफ्नै अपार्टमेन्टका बासिन्दामा संक्रमण देखिएपछि यहाँ बस्ने ५ सय परिवारका १५ सयभन्दा बढी मानिस त्रसित बनेका छन्। अहिले अत्यावश्यक कामबाहेक मानिसहरु आफ्नो अपार्टमेन्टबाट बाहिर निस्किएका छैनन्। वरपरका पसलहरु बन्द भएका छन्।
अपार्टमेन्ट भवन नै सिल गरेर प्रहरीले पहरा दिइरहेको छ। अत्यावश्यक सामाग्रीहरु सुरक्षाकर्मीको सहयोगमा ल्याइने गरिएको त्यहाँका बासिन्दाहरुले बताएका छन्।
अपार्टमेन्टका मानिसहरुबीचको सहकार्य, सहयोगका लागि बनाइएको सनसिटी वेलफेयर सोसाइटीले अत्यावश्यक परेको अवस्थामा प्रहरीसँग समन्वय गरेर सरसामान ल्याउने विषयमा छलफल भइरहेको छ।
‘पहिले चीजबीज लिन जाने, मानिसहरुसँग कुराकानी गर्ने हुन्थ्यो,’ अपार्टमेन्टको जे ब्लकमा बस्ने ज्योति गैरेले नेपालखबरसँग भनिन्, ‘अब चाहिँ झ्यालझ्यालबाट पनि कुरा हुँदैन।’

सनसिटीमा ५ वटा ब्लक छन्। प्रत्येक ब्लकमा १६–१६ तल्ला छन्। एउटा तल्लामा ६ वटा परिवार बस्छन्। स्वास्थ्य मन्त्रालयले अपार्टमेन्टमा रहेका सबैको मंगलबारबाट नै परीक्षण थालिने र उनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको खोजी भइरहेको जनाएको छ। तर, मंगलबार दिउँसोसम्म अपार्टमेन्टमा विवरण संकलनको काममात्रै भएको गैरेले बताइन्।
‘अहिलेसम्म थप टेस्ट गरिसकेको छैन। अहिले पाँच सय परिवारको विवरण संकलन भइरहेको छ। त्यसमध्ये पनि विदेशबाट आएका को को छन्, छुट्टयाउने काम जारी छ। त्यो संकलन भएपछि टेस्टको काम सुरु हुन्छ होला,’ उनले भनिन्।
बेलायतबाट दोहा हुँदै चैत पहिलो साता काठमाडौँ आइपुगेको संक्रमित परिवार प्रायः घरभित्रै बसेका थिए। तर, केही दिनअघि उनीहरु किनमेलमा बाहिर निस्केको र उनीहरुकहाँ काम गर्ने मानिसहरु ओहोर दोहोर गरिरहेकाले सबैको परीक्षण गर्नुपर्ने अपार्टमेन्टबासीको माग छ।
‘बीचमा एकचोटी उहाँहरु बाहिर निस्केका कारण संक्रमण फैलियो कि भन्ने त्रास छ,’ गैरेले भनिन्, ‘विदेशबाट आउनेको परीक्षण पनि साह्रै ढिला भयो। अब संक्रमण देखिइसकेपछि यहाँका सबैजनाको तत्काल परीक्षण गरिनुपर्छ।’
संक्रमितहरुले सामान खरिद गरेको पसलबाट अरुले पनि खरिद गरेको हुनाले आशंका थप बढेको उनको भनाइ छ।
सनसिटी वेलफेयर सोसाइटीका पूर्वकोषाध्यक्ष धर्मराज शर्माले सुरुमा नगरपालिकाले विदेशबाट आउनेको परीक्षण गर्ने र त्यसपछि अन्यको परीक्षण गर्ने भनी पत्र पठाएको जानकारी दिए।
‘अपार्टमेन्टमा विदेशबाट आएको एउटा ग्रुप उहाँहरुकै हो। थप ५–७ जना होलान्,’ उनले भने, ‘उनीहरुको परीक्षण सकिएपछि अन्यको सुरु गर्ने पत्राचार भएको छ।’
संक्रमित परिवार आएको चार दिनपछि अपार्टमेन्टमा खोप कार्यक्रम पनि भएको थियो। त्यसक्रममा थुप्रै मानिसहरु एकअर्काको सम्पर्कमा आएकाले संक्रमण फैलियो कि भन्ने त्रास धेरैमा देखिन्छ।
तर, शर्मा भने संक्रमितहरु सचेत बसेकाले संक्रमण नफैलिएको अनुमान गर्छन्।
‘उहाँहरु धेरै नै सचेत हुनुहुन्थ्यो। अहिलेसम्म अलमोस्ट आइसोलेसनमै हुनुहुन्थ्यो। उहाँबाट नफैलिएको हुनसक्छ,’ शर्माले भने, ‘तर सबैको परीक्षण गर्नुपर्छ। उहाँकोमा काम गर्ने व्यक्ति बाहिर हिँडडुल गर्नुहुन्थ्यो। उहाँमा पनि देखियो भने फैलिने सम्भावना रहन्छ।’
संक्रमित भेटिएपछि अपार्टमेन्टको माहौल सुनसान भएको उनले बताए। धेरैदिन अपार्टमेन्ट सिल गरिए अत्यावश्यक सामग्री अभाव हुनसक्नेतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया