समाज


१५ दिनमा २० जनामा डेङ्गु सङ्क्रमण

१५ दिनमा २० जनामा डेङ्गु सङ्क्रमण

फाइल तस्बिर


नेपालखबर
साउन १६, २०८२ शुक्रबार १४:२४, चितवन

साउन यता यहाँका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ। चालु आर्थिक वर्षको १५ दिनमा सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण देखिएको हो। 

जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत अंशु पोखरेलका अनुसार सात सय ९८ जनाको परीक्षणका क्रममा उनीहरूमा डेङ्गुको सङ्क्रमण देखिएको हो। 

सङ्क्रमितमध्ये १४ जना चितवनका हुन भने ६ जना जिल्ला बाहिरका रहेका छन्। भरतपुर महानगरपालिकाका–७, खैरहनी नगरपालिकाका तीन तथा रत्ननगर र कालिका नगरपालिकाका दुई दुई जनामा डेङ्गुको सङ्क्रमण देखिएको हो। सङ्क्रमितमा पाँच पुरुष र नौ महिला रहेका उनले जानकारी दिइन्। 

वर्षा हुने र घाम लाग्दा लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले विशेष गरी साउन, भदौ र असोजमा डेङ्गुको सङ्क्रमण देखिने गर्दछ। यो रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ। 

यो लामखुट्टेले प्रायः बिहान र बेलुकाको समयमा टोक्ने जनस्वासथ्य कार्यालयका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिए।  

यो लामखुट्टेले प्लाष्टिक, टिनका डब्बा, ड्रम, थोत्रा वा पुराना टायर, गमला, कुलरलगायतमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की, आदिमा फूल पार्ने गर्दछ। 

यो रोग लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांशपेशी दुख्ने, शरीरमा विविरा आउने र रक्तस्राव हुने, उच्च ज्वरो आउने जस्ता लक्षण देखा पर्छ। डेङ्गु ज्वरोबाट बच्ने मुख्य उपाय लामखुट्टेको टोकाइबाट बच्नु हो। यस्तै आफू बस्ने ठाउँ वरिपरी फालिएका खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, पुराना टायर आदिमा पानी जम्न दिन हुँदैन्।

३२ जनामा स्क्रब टाइफस
सोही अवधिमा जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ३२ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ। प्रमुख पोखरेलका अनुसार सङ्क्रमितमध्ये २३ जना चितवनका हुन भने नौ जना जिल्ला बाहिरका छन्। 

स्क्रब टाइफस एक प्रकारको सरुवा रोग हो। जुन मुसामा पाइने माइट (किर्नाजस्तो देखिने कीरो) को टोकाइबाट मानिसमा सर्छ।

यो रोग मानिसबाट मानिसमा सर्दैन। कार्यालय प्रमुख रुपाखेतीका अनुसार स्क्रब टाइफस ओरेन्टिया सुसुगामुसी नामक जीवाणुबाट सर्छ। माइट प्रायः झाडी, खेतबारी, वनजङ्गल, वा घरवरिपरिको फोहर क्षेत्रमा पाइन्छ। 

रोग नियन्त्रण गर्न खेतबारी, वनजङ्गल वा घाँस काट्न जाँदा पूरै शरीर ढाक्ने कपडा लगाउन, सकेसम्म जुत्ता प्रयोग गर्न, घाँसबारी वा चउरमा गुन्द्री वा दरी ओछ्याएर मात्र बस्न तथा भूइँमा सुत्न वा बस्न नहुने उनले जानकारी दिए। 

रोग लागेका व्यक्तिलाई उच्च ज्वरो (१०४ डिग्री फरेनहाइटभन्दा बढी) आउने, अत्यधिक पसिना आउने, आँखा रातो हुने, झाडापखाला लाग्ने, शरीरका मुख्य अङ्ग प्रभावित हुने, तथा कीराले टोकेको ठाउँमा रातो दाग देखिने तथा पछि कालो दाग बस्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad