दिल्लीबाट फर्किएपछि र्यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएका सप्तरीका दुईजनाको पीसीआर विधिको स्वाब रिपोर्ट नेगेटिभ आएको छ। मंगलबार सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा दिल्लीको मुस्लिमको जमातसभाबाट फर्किएका ७ जनाको र्यापिड टेस्ट गरिएको थियो। जस मध्ये २ जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो।
रिपोर्ट पोजेटिभ देखिएका दुवैजनाको स्वाब पीसीआर विधिबाट परीक्षण गर्न बुधबार धरान स्थित विपी कोइराला विज्ञान प्रतिष्ठान पठाइएको थियो। त्यहाँको परीक्षण रिपोर्ट नेगेटिभ आएको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालका प्रमुख डा. चुमनलाल दासले जानकारी दिए। उनीहरुसँगै आएका एकजनाको आज अस्पतालमै र्यापिड टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएको उनले बताए।
र्यापिड टेस्टमा खडग नगरपालिका वडा नं. ११ र तिलाठी कोइलाडी गाउँपालिका १ का एक–एक जना थिए। दुवै जनाको र्यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएपछि स्थानीय प्रशासनले मंगलबार साँझदेखि दुवै वडा सिल गरेको छ।

प्रतिक्रिया