जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (भदौ ४, बुधबार) को सम्भावित वर्षाबारे जानकारी दिएको छ।
महाशाखाले आज बिहान जारी गरेको २४ घण्टे बुलेटिनअनुसार,
आज दिउँसो : लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशलागायत बाँकी पहाड भेगमा साधारणतया बदली र बाँकी स्थानमा आंशिक बदली रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाड भूभागका थोरै स्थान र तराई भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।
आज राति : कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाड क्षेत्रमा साधारणतया बदली रही बाँकी ठाउँमा आंशिक बदली रहनेछ। मधेस प्रदेशलगायत कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका तराई र पहाड भूभागमा थोरै र बाँकी भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
मौसम महाशाखााका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले नेपालमा मनसुन केही कमजोर छ। तथापि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम जारी छ।
मौसम महाशाखाले यहाँ 'दिउँसो' शब्द दिनभर अर्थात् साँझ ६ बजे अघिसम्मको समय र 'राति' शब्द रातभर अर्थात् साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयका लागि प्रयोग गरेको हो।
मौसमविद्का अनुसार, २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम वर्षा भनिन्छ।
अनि ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ।
यस्तै एक-दुई स्थानमा वर्षा भन्नाले सम्बन्धित प्रदेशका जुनसुकै ठाउँमा १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना देखिनु हो।
यदि १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा पानी पर्न सक्छ भनिन्छ।
त्यसैगरी ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा पानी पर्न सक्छ भनिन्छ।
त्यस्तै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने धेरै ठाउँमा वर्षा हुन सक्छ भनिन्छ।
यदि ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना भयो भने अधिकांश स्थानमा वर्षा हुन सक्छ भनिन्छ।
Shares

प्रतिक्रिया