सप्तरीको राजविराजमा एक घरका सबै सदस्यलाई बेहोस बनाएर डाका समूहले लुटपाट गरेको छ। राजविराज नगरपालिका–५ लङ्काटोलस्थित भगवान सोनीको घरमा लुटपाट भएको हो।
मंगलबार राति लुटेरा समूहले सोनीको घरबाट २३ तोला सुन, चाँदीका गहना, मोबाइल र ५० हजार रुपैयाँ नगद लुटेर लगेका प्रहरीले जनाएको छ।
घरका सबै सदस्यलाई औषधि सुँघाएर बेहोस बनाएर लुटपाट गरेका जानकारी सोनीका ज्वाइँ अमित कुचेरियाले प्रहरीलाई दिएका छन्।
केही दिनअघि विवाह भएकी छोरी माइत आएको मौका छोपेर डाका समूहले लुटपाट गरेका प्रहरीले जनाएको छ।
यसैबीच झापामा सवारी दुर्घटना हुँदा घाइते भएका यात्रुकाे उद्धार गर्ने निहुँमा लुटपाट भएको खुलेको छ।
शिवसताक्षीको झिलझिलेमा गत साउन २९ गते सवारी दुर्घटनामा परेका ३० वर्षीय मनोज लिम्बूको उद्धारको नाममा उनले लगाएकाे सुनकाे सिक्री लुटपाट भएको हो।
झापाकै कमल गाउँपालिका–६ घर भएको लिम्बू सवार स्कुटर दुर्घटना हुँदा उनी घाइते भएका थिए।
त्यसक्रममा उनको ५६ ग्राम तौल बराबरको सुनको सिक्री हराएको थियो।
प्रहरी अनुसन्धानबाट उक्त सक्री शिवसताक्षी–८ का २८ वर्षीय सुरज हलुवाई र २६ वर्षीय गोबिन हाङ लिम्बूले लुटेको खुलेको हो।
उनीहरूलाई नगद ३० हजार र सुनको सिक्रीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
Shares

प्रतिक्रिया