हरेक वर्षझैँ यसपालि पनि भदौ ६ गते तामाङ समुदायले पहिचान दिवस मनाउने भएको छ।
दिवसका अवसरमा भदौ ५ र ६ गते दसौँ तामाङ ज्ञान महोत्सव आयोजना गरिने महोत्सव मूल आयोजक समितिका संयोजक निष्णु थिङले जानकारी दिए।
काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भदौ ५ गते बिहान १०:३० बजे सुरु हुने ज्ञान महोत्सवमा भाषा आयोगका पूर्वसदस्य अमृत योन्जन तामाङ र अमेरिकास्थित कर्नेल विश्वविद्यालयका प्रा.डा.क्याथरिन एस. मार्चले विद्वत् प्रवचन दिनेछन्। साथमा थुप्रै तामाङ र गैरतामाङ विद्वान्ले १८ वटा कार्यपत्र, ३ वटा समूह छलफल र एउटा अन्तर्वार्ता प्रस्तुत गर्नेछन्।
यसैगरी विभिन्न जल्दोबल्दो विषयमा प्यानल छलफल, अन्तर्वार्ता, ताम्बा र झाँकी (बोम्बो) ले लोकगीत ( सेराप) समेत प्रस्तुत गर्ने आयोजकले जानकारी दिएको छ।
ज्ञान महोत्सव मूल आयोजक समितिका संयोजक थिङका अनुसार विगतमा तामाङहरूलाई विभिन्न नामले अपमान गर्ने उद्देश्यले बोलाइन्थ्यो। उदाहरणका लागि भोटे, मुर्मी, इसाङ, जाँडे, सें, कागते र लामाभोटे भनिन्थ्यो। नेपालमा लामाभोटे भनिने अरू पनि थुप्रै समूह भएकाले तामाङ पहिचानमा अलमलको स्थिति सिर्जना गरेका कारण सुवेदार जंगवीर मोक्तान तामाङले तत्कालीन राणा प्रधानमन्त्री भीम शमशेर जबरालाई एकमुस्ट तामाङ लेख्न/लेखाउन अनुरोधपत्र लेखेका थिए। यसपछि जबराले भदौ ६ गते ‘सनदपत्र’ जारी गरी नेपालमा तामाङ लेख्न आदेश गरेका थिए। सोही दिनलाई तामाङ पहिचान दिवसका रूपमा मनाउने गरिएको थिङको भनाइ छ।
Shares

प्रतिक्रिया