केन्द्रीय सुरक्षा समितिको बैठक सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको छ।
गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आइतबार बसेको बैठकमा पर्साको वीरगन्जमा फैलिएको हैजा र देशको सुरक्षा अवस्थाबारे छलफल भएको हो।
बैठकमा वीरगन्ज क्षेत्रमा फैलिएको हैजा नियन्त्रणका लागि मेडिकलसहित सुरक्षाकर्मी खटाइने निर्णय समेत भएको छ।
बैठकमा गृहमन्त्री लेखकले हैजा प्रकोप मध्यनजर गरेर आवश्यक परेर तत्काल परिचालन हुन सक्ने गरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तयारी अवस्थामा रहन निर्देशन दिएका थिए।
‘चिकित्सकसहितको मेडिकल टोली आवश्यक परे परिचालन गर्ने गरी तयारी रहन मन्त्रीज्यूबाट निर्देशन भएको छ,’ गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले भने, ‘सोही अनुसार सुरक्षा निकाय पनि तयारीमा जुटिसकेको छ।
हैजाले अहिलेसम्म विरगञ्जमा २ जनाको मृत्यु भइसकेको छ भने सयौँ बिरामी परेका छन्।
हैजाको प्रकोप समुदायस्तरमै फैलिएपछि वीरगन्ज महानगरपालिकाले सम्पूर्ण शैक्षिक संस्था दुई दिनका लागि बन्द गर्ने निर्णय समेत गरेको छ।
त्यस्तै बैठकमा मुलुकभरको शान्ति सुरक्षाको समीक्षा गरिएको समेत प्रवक्ता काफ्लेले जानकारी दिए। ‘विभिन्न माग राखि भइरहेका धर्ना, जुलुश, आन्दोलन तथा अवाञ्छित गतिविधीहरुलाई मध्यनजर गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने विषयमा पनि छलफल भएको छ,’ उनले भने, ‘मुलुकभरको शान्ति सुरक्षाका विषयमा गहन समीक्षा भयो।’
बैठकमा गृहसचिब गोकर्णमणि दुवाडीसहित सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधी सहभागी थिए।
Shares

प्रतिक्रिया