समाज


उपत्यकामा लकडाउन : प्रहरी देख्दासम्म पालना, ओझेल पर्नासाथ अवज्ञा

उपत्यकामा लकडाउन : प्रहरी देख्दासम्म पालना, ओझेल पर्नासाथ अवज्ञा

सञ्चिता घिमिरे
बैशाख ६, २०७७ शनिबार १२:४८,

कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि यसको अवज्ञा गर्दै सडकमा हिँड्ने र दिनभर पसल खोल्ने बढिरहेका छन्।

काठमाडौँ उपत्यकाका तीनै जिल्लामा प्रहरीको आँखा छलेर स्थानीयवासी खाद्यान्न किन्न र घुम्नका लागि हिँडिरहेको भेटिन्छ।

शनिबार प्रहरीले पसल बन्द गराउन हिँडिरहँदा जडीबुटी, पेप्सीकोला, लोकान्ली, इमाडोललगायतका स्थानमा प्रहरीको आँखा छलेर पसल खोलिरहेको देखिन्थ्यो।

स्थानीय तहले कुन समयमा पसल खोल्ने भनेर तोके पनि यी स्थानमा पुग्दा दिनभरजसो नै भित्री भागमा पसल खुला पाइएको छ। अधिकांश पसलमा आधा सटर खोलेर व्यापार गरिरहेको देखिन्थ्यो। व्यापारीले प्रहरी र मिडियाका प्रतिनिधि आएको देख्नासाथ बन्द गर्ने र उनीहरु जानासाथ खोल्ने गरेका छन्। कतिपय व्यक्ति मोटरसाइकल र स्कुटरमा पानी, ग्यास किन्न हिँड्ने गरेको दृश्य विभिन्न स्थानमा दैनिक देखिन्छ।

तरकारी र खाद्यान्नका ती पसलमध्ये कतिपयले घरभित्रबाट दिनभर बिक्री गरेको देखिन्थ्यो। ती पसमा बिहान तोकिएको अवधिमा सामाजिक दूरी कायम गरेको भए पनि दिउँसोको समयमा एकै पटक भीडभाड देखिन्छ र धेरै उपभोक्ता एकैपटक पसलभित्र सामान किनिरहेका दृश्य भित्री सडक छेउमा पसलमा देखियो। नरेफाँटकी सन्ध्या चापागाईँ दिउँसो झण्डै १२ बजेतिर चाउचाउ किन्न जाँदै गर्दा भेटिइन्। उनी बिहान आफूलाई याद नभएकाले अहिले किन्न हिँडको भन्दै थिइन्। प्रहरीको आँखा छलेर सामान किन्न जान उनी हतारमा थिइन्। उनले भनिन्, ‘छोराछोरीले लकडाउन भने पनि भनेको कुरा नभइ मान्दैनन् अनि जानैपर्छ।’

खाद्यान्न किन्नका लागि मात्रै नभएर हावा खान वा खुट्टा तन्काउन हिँडेको भन्ने व्यक्ति पनि धेरै भेटिन्छन्। तीमध्ये कतिपय मधुमेह, उच्च रक्तचाप, मुटुरोगलगायतका दीर्घरोगका बिरामी छन्। घरमै बसिरहँदा गाह्रो हुने भन्दै दैनिक पाँच÷दश मिनेट हिँड्ने गरेको लोकान्थलीका भीम मगरले बताए। झण्डै एक दशकदेखि मधुमेहको नियमित औषधि खाँदै आएका उनी पहिले बिहान–बिहान हिँड्ने गरेका थिए। लकडाउनका समयमा बिहान जतासुकै भीड भएकाले खाना खानासाथ हिँड्ने गरेको उनले बताए। उनले भने, ‘खोला छेउमा कोही नभेटिने हुँदा मनोहरा किनारैकिनार हिँड्ने गरेको छु।’

लकडाउनको कार्यान्वयन गराउन प्रहरी मुख्य सडक र भित्री सडकमा समेत खटिएका देखिन्छ। बिहान पसल बन्द गराउनेदेखि दिउँसो छड्के हेर्नका लागि प्रहरी खटिइरहेका छन्। प्रहरीले लकडाउन अवज्ञा गर्दै सडकमा हिँड्ने झण्डै तीन हजार ६०० लाई सडकमै तीन घण्टा उभ्याएर मात्रै पठाइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ। लकडाउन अझै कडाइ गर्ने सरकारको निर्णयसँगै यस्तो कारबाहीमा पर्नेको सङ्ख्या बढिरहेको छ। अझै पनि धेरै नागरिकले लकडाउन मेरा लागि भन्दा पनि नेपाल प्रहरीका लागि भन्ने बुझ्दा यसको अवज्ञा भइरहेको चोकचोकमा खटिने प्रहरी बताउँछन्।

कतिपय व्यक्ति हातमा थोरै तरकारी बोकेर बिहानभरि घुम्ने गरेको पाइएको परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए। सरकारले अत्यावश्यक कामका लागि उपलब्ध गराएको ‘सवारी पास’ पनि दुरुपयोग भइरहेको छ। कतिपय व्यापारीको त्यही सटरमा पसल र त्यहीभित्र पकाउने, खाने र त्यही सुत्ने भएकाले पनि सटर आधा खोलिएको पाइएको छ। प्रहरीले कारबाही नगर्दा पनि गरेन भन्ने र गर्दा पनि त्यसको विरोध हुने गरेको उनको भनाइ छ।

विभिन्न बहानामा छोटो दूरीमा हिँडिरहेका पैदलयात्रु हुन् वा काठमाडौँ हुँदै काठमाडौँ बाहिर घरसम्म जान लागेका नागरिकलाई रोक्दा र नरोक्दा दुवै अप्ठ्यारो भएको उनले बताए। अत्यावश्यक सामग्री किन्न जाँदा पनि प्रहरीले माक्स लगाउन, समूहमा नहिँड्न भन्ने गरेको छ। उनले भने, ‘उल्टै प्रहरीलाई जे गरे के मतलब भन्दै झगडा गर्ने र एर्काथरि सामाजिक सञ्जालमा भिडियो हाल्ने गर्छन्।’

आम नागरिकलाई सरकारले सामाजिक दूरी कायम गर्न भने पनि नेपाल प्रहरीमा लागू हुनसकेको छैन। प्रहरीले लामो समयसम्म र धेरै दिनदेखि कोरोना ड्युटी गरिरहेकाले छन्। उनीहरुले स्वास्थ्य सुरक्षाका लागि माक्स र स्यानिटाइजरको प्रयोग गर्दै लामो समयसम्म ड्युटीमा खटिरहेको उनले बताए। अरु नियमित ड्युटीसँगै लकडाउन कार्यान्वयनका लागि सडकमा खटिएका प्रहरीलाई काममा उत्साह जगाउन जरुरी छ। प्रहरीलाई एकातिर कामको चाप र अर्कातिर चुनौती दुवै भएको उनले बताए। नागरिकले मेरो लागि लकडाउन गरिएको हो भनी बुझेर घरमै बस्दा उनीहरु र प्रहरी दुवैलाई राम्रो हुन्छ।

उनले भने, àनेपाल प्रहरी अहिले पनि बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म नियमित ड्युटीमा खटिइरहेका छन्।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad