काठमाडौं महानगरपालिकाले विदेशबाट आएका नागरिकहरुको र्यापिड टेष्ट थालेको छ।
विभिन्न मुलुकबाट आएर महानगरपालिका भित्र बसोबास गरिरहेका नागरिकहरुको र्यापिड टेष्ट थालिएको हो। आइतबार कालिमाटीमा वडा नम्बर १२, १३ र १४ मा बसोबास गरिरहेका नागरिकहरुको परीक्षण गरिएको महानगरपालिकाले जनाएको छ। विदेशबाट आएका व्यक्ति भन्ने वित्तिकै फैलिरहेको त्रासलाई परीक्षणले कम गर्ने मेयर विद्यासुन्दर शाक्यले बताए।
उनले भने, ‘विदेशबाट आएका नागरिक भन्ने वित्तिकै डर फैलिएको छ। उनीहरुले पनि आफू ठिक छु भन्न सक्छन् र अरुलाई पनि बेठिक हुन दिन्न भन्न सकिने हुनाले परीक्षण सुरु गरिएको हो।’ मेयर शक्यले विदेशबाट आएका नागरिकहरुलाई परीक्षण गराएर सहयोग गर्न पनि आग्रह गरेका छन्।
आइतबार नै महानगरको वडा नम्बर २६ र १६ मा परीक्षण गरिनेछ। विदेशबाट आएका नागरिकहरुले आफ्नो पायक पर्ने वडामा गएर परीक्षण गर्न सक्नेछन्। विश्व महामारीको रुपमा फैलिएको कोरोनाको संक्रमण नेपालमा विदेशबाट आएका नागरिकमा नै देखिएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले २९ जना कोरोना पोजेटिभ देखिएका व्यक्ति उपचाररत रहेका छन्। २ जना उपचार पछि निको भएर घर फर्किएका छन्।

प्रतिक्रिया