यतिबेला कोरोना महामारीबाट पीडित विश्वका विभिन्न देशसँगै नेपाल पनि लकडाउन (बन्दाबन्दी) मा छ। गत चैत ११ यता अत्यावश्यक कामबाहेक अन्य सबै गतिविधि बन्द छन्। सबै मानिस घरभित्र सीमित भएका छन्।
तर पनि कतिपय त्यस्ता पेसा वा क्षेत्र छन्, जसमा संलग्न व्यक्ति यो लकडाउनका बेला पनि घरबाहिर रहेर आफ्नो जिम्मेवारी निर्वाहमा तल्लीन छन्। जसलाई सरकारले ‘अत्यावश्यक’ सेवाअन्तर्गत राखेको छ।
सामान्यतया यो अत्यावश्यक सेवामा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी हुन् भन्ने आम बुझाइ छ। यसैकारण अहिले लकडाउनजस्तै समयमा यी तीन पेसाका मानिसका पीडा हामी सञ्चारमाध्यममा हेर्न, सुन्न र पढ्न पाउँछौं।
तर यसैगरी देशमा कुनै विपत्ति होस् वा महामारी अथवा ठूला चाडपर्व नै, चौबीसै घण्टा आफ्नो काममा खटिरहेका हुन्छन्- मौसम पूर्वानुमान महाशाखाका मौसमविद्/कर्मचारी पनि। जसले पलपल देशको मौसमी अवस्था अपडेट गरेर सरकारदेखि सर्वसाधारणसम्मलाई सुसूचित गरिरहेका छन्।
तर तिनको खटाइ र पीडा सञ्चारमाध्यममा खासै आउँदैनन्/आएका छैनन्। अहिले यो लकडाउनका बेला पनि उनीहरूका विषयमा कसैले कोट्याएको पाइएकाे छैन।
यसैकारण होला- आइतबार बिहान नेपालखबरले यही विषयमा जिज्ञासा राख्दा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसविद् वरुण पौडेलले भने, ‘पहिलोपटक यस्तो कुरा तपाईंले नै सोध्नुभयो। ज्यादै खुसी लाग्यो। नत्र अहिलेसम्म सबैले हामीसँग मौसमका कुरा मात्रै सोधेका थिए।’
यस्तो हुन्छ मौसमविद्को २४ घण्टे डिउटी
काठमाडौंकाे कोटेश्वरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र छ- जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाको कार्यालय।
जहाँ चौबीसै घण्टा मौसमविद् खटिरहेका हुन्छन्। मौसमविद् प्रतिभा मानन्धरका अनुसार ११ जना अब्जरबर (मौसम अवलोकनकर्ता), १० जना फरकास्टर (प्रकाशनकर्ता), कार्यालय सहयोगी, चौकीदार तथा चालक गरी जम्मा २५ जना मौसम महाशाखामा कार्यरत छन्।
जसले सामान्य अवस्थामा बिहान, दिउँसो र राति गरी तीन सिफ्टमा ८-८ घण्टा काम गर्छन्। जसअनुसार अब्जरबरतर्फ ४ र फरकास्टरतर्फ ४ गरी एक सिफ्टमा ८ मौसमविद् खटिन्छन्।
तर कोरोना संक्रमण सुरु भएयता एक सिफ्टको समय ८ घण्टाबाट ह्वात्तै बढाएर २४ घण्टा पुर्याइएकाे छ भने मौसमविद्को संख्या पनि स्वाट्टै घटाएर ४ जनामा सीमित गरिएको छ।
मौसमविद् मानन्धरका अनुुसार अहिले अब्जरबरतर्फ २ र फरकास्टरतर्फ २ जनाले २४ घण्टा काम गर्ने गरेका छन्। यस्तै कार्यालय सहयोगी र चौकीदारले पनि यसैगरी एक/एक जना गरेर पालो मिलाएका छन्।
‘यसो नगरी कुनै उपाय नै भएन अहिले,’ उनले आइतबार दिउँसो नेपालखबरसँग कुरा गर्दै भनिन्, ‘अहिले हामी सक्दो भौतिक सम्पर्क घटाउने गरी काम गरिरहेका छौं।’
साथै उपत्यकाका चारै दिशाबाट निकै टाढाटाढादेखि आउनुपर्ने कर्मचारी रहेकाले यो लकडाउनका बेला गाडी आवतजावत गरिरहन नपाउने तथा सवारी पासलगायत समस्याले गर्दा पनि घरिघरि आउजाउ गर्नुभन्दा एउटा टिमले २४ घण्टासम्म काम गर्ने गरिएको उनी बताउँछिन्।
‘कार्यालय विमानस्थलभित्र छ, अहिले सबै सवारीसाधनलाई सवारी पास पाइँदैन, परिचयपत्रले काम गर्दैन,’ अर्का मौसमविद् वरुण पौडेलले भने, ‘कतिपटक मोटरसाइकलमा आउँदा गेटबाट प्रवेश पाउन समस्या हुने गरेको छ।’
हरपल देशभरको मौसमी अवस्था अपडेट गर्नुपर्ने पेसा भएकाले यहाँ काम गर्ने मौसमविद्ले अन्य अत्यावश्यक सेवामा खटिनेले जस्तै न दसैँ भन्न पाउँछन् न तिहार।
‘हामी आलोपालो गरेर चाड मनाउँछौं,’ मौसमविद् पौडेलले भने, ‘एक जना दसैंमा गइयो भने अर्का साथी तिहारमा जान्छन्।’
कोरोना महामारीमा मौसमविद्को भूमिका
अहिले देश लकडाउनमा छ। देशभर यातायत ठप्प छ भने अन्तर्राष्ट्रिय उडान पनि बन्द छ। कसलाई आवश्यक छ र मौसमी जानकारीको ?
‘यसबेला झन् मौसमी जानकारीको ज्यादै जरुरी छ,’ मौसमविद् पौडेल भन्छन्, ‘अहिले हुरीबतासको मौसम छ। यातायात तथा अन्तर्राष्ट्रिय उडान बन्द भए पनि अपर्झट भीआईपी फ्लाइट हुन सक्छ, औषधि उपकरण लिएर स्वास्थ्यकर्मी विभिन्न जिल्ला जानुपर्ने हुन्छ, विदेशबाट विमानमार्फत स्वास्थ्य सामग्री ल्याउनुपर्ने हुन्छ, त्यस्तो बेला हामीले आज कहाँको मौसम कस्तो छ भनेर जानकारी दिनुपर्ने हुन्छ।’
यस्तै नियमित कामअन्तर्गत स्याटेलाइटमा हेरेर मौसम विश्लेषण गरिरहनुपर्छ, १०-१५ मिनेटको फरकमा गृह मन्त्रालयबाट फोन आइरहन्छ, त्यसमा जानकारी दिइरहनुपर्छ भने मौसमी जानकारीका लागि अन्य सर्वसाधारणका फोन पनि रिसिभ गरिरहनुपर्ने हुन्छ।
‘त्यसकारण कुनै महामारी, लकडाउन भनेर हाम्रो काम रोक्न मिल्दैन,’ मौसमविद् पौडेल भन्छन्, ‘यति सम्मकी ७२ सालको महाभूकम्पका बेला पनि हामी काममै खटिइरह्यौं, झन् त्यस्तो बेला कहाँ कस्तो मौसम छ भने जानकारी दिनुपर्ने हुन्छ।’
मौसमविद्लाई संक्रमणको जोखिम
अत्यावश्यक पेसामा खटिनेलाई जस्तै मौसम पूर्वानुमान महाशाखाका मौसमविद्लाई पनि कोरोना संक्रमणको जोखिम छ। ‘किनकि हामी पनि आफ्नो घरमा बस्न पाउँदैनौं, जे भए पनि आफ्नो घरमा त केही न केही सुरक्षित नै हुन्छ, होइन र?’
उनी अगाडि भन्छन्, ‘कार्यालय जान आफू बसेको घरबाट बाहिर निस्किनै पर्यो, बाइकमा आउँदा जाँदा बाहिरी वातावरणसँग सम्पर्क त भइहाल्छ।’
छायामा मौसमविद्
चौबीसै घण्टा गर्नुपर्ने पेसा भए पनि आफूहरू छायामा पर्ने गरेको मौसमविद्को गुनासो छ।
अहिले यो महामारीका बेला सरकारले अन्य विभिन्न क्षेत्रलाई अत्यावश्यक सेवाअन्तर्गत राखेर त्यसमा खटिनेलाई विशेष सुविधाको व्यवस्था गरिरहेको भए पनि मौसमविद्को पेसालाई पहिलो कुरा त ‘अत्यावश्यक’ मै राखिएको छैन। त्यसो भएपछि विशेष सुविधाको व्यवस्था हुने पनि कुरै भएन।
यसबारे अहिले अलिअलि कुरा त उठिरहेको मौसम महाशाखाका मौसमविद् बताउँछन्। एक जना मौसमविद् भन्छन्, ‘डिउटी त हाम्रो पनि रातरभर नसुतीकन गर्नुपर्ने खालको हो, तर खै के हो के हो हामी जहिले छायामै परिरहेको महसुस हुन्छ।’
Shares

प्रतिक्रिया