सिरहाको लहानका डा.अरुणकुमार साहले सुदूरपश्चिममा कहिल्यै पाइला टेकेका थिएनन्। आफ्नै देशको पश्चिमी भूभाग पुग्ने रहर नभएको हैन, समयले साथ नदिएका कारण उनलाई त्यो अवसर जुरेको थिएन।
कुनै समय फुर्सद निकालेर पश्चिमी भूभाग घुम्ने उनको योजना थियो। तर, विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको उपचारमा फ्रन्टलाइनमा खटिई पश्चिम नेपालमा पाइला टेक्नुपर्ला भनेर उनले सोचेका पनि थिएनन्।
‘सुदूरपश्चिम हेर्न रहर थियो तर बुटवल यता आएको थिइनँ’, सरकारले कोरोनाविरुद्ध खटाएपछि पहिलोपटक सुदूरपश्चिम पाइला टेकेका डा. साहले भने, ‘यो विशेष अवस्था हो। सरकारले जहाँ खटायो त्यसलाई हामीले सहज रुपमा स्वीकार्दै जानुपर्छ। संक्रमणको अवस्थामा सुदूरपश्चिम आउनु र यहाँको जनताको सेवा गर्न पाउँदा खुसी लागेको छ।’
सुदूरपश्चिममा ५ जना कोरोना संक्रमित भेटिनुका साथै यस प्रदेशको जोखिम मध्यनजर गर्दै सरकारले गत शुक्रबार साहसँगै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका ३४ जना चिकित्सकहरुलाई हवाइजहाज चार्टड गरी धनगढी ओरालेको थियो।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा एमडी तहमा अध्ययनरत उनीहरुलाई एक महिनाको काजमा सुदूरपश्चिम खटाइएको हो। सुदूरपश्चिम प्रदेश सरकारको समन्वयनमा उनीहरुलाई विभिन्न ९ जिल्लामा खटाइने छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका मेडिकल अधिकृत डा. भूषण मिश्रका अनुसार कोरोना डेडिकेटेड अस्पताल घोषणा गरिएको र पाँचै संक्रमित रहेको सेती प्रादेशिक अस्पतालमा १४, महाकाली प्रादेशिक अस्पतालमा चार, पहाडी जिल्ला अछाम, डडेल्धुरा, बझाङमा तीन/तीन जना चिकित्सक खटाइनेछ। यस्तै बैतडी, दार्चुला र कैलालीको टीकापुरमा दुई/दुई जना खटाइने भएको छ।
सोही टोलीका अर्का सदस्य डा. कृष्ण अधिकारी भने घुमफिरको सिलसिलामा यसअघि नै सुदूरपश्चिम पुगिसकेका रहेछन्। उनले दुर्गम भएकाले यस क्षेत्रमा चिकित्सकहरु पनि बस्न मान्दैनन् भन्ने कुरा सुन्दै आएका थिए। अहिले संक्रमित देखिएकै स्थानमा आएर काम गर्न पाउँदा आत्मसन्तुष्टिसँगै देशका लागि सेवा गर्न पाएको महसुस उनले गरेका छन्।
‘अरु नआएको ठाउँमा हामी आएर सेवा दिनु चुनौतीको कुरो हो’, डा. अधिकारीले भने, ‘महामारीको बेला संक्रमित भएकै ठाउँमा आएर काममा खटिनाले देशका लागि योगदान दिन पाए झैँ महशुस हुनुका साथै आत्मसन्तुष्टि पनि मिलेको छ।’
उनीहरु दुवै जना काठमाडौंको वीर अस्पतालमा खटिरहेका चिकित्सक हुन्। वीर अस्पतालमा पनि कोरोनाका केसहरु आउनसक्ने भन्दै दुबैलाई पहिलेदेखि नै तयारी गरिएकाले सुदूरपश्चिममा कोरोनाविरुद्धको लडाइँ आफूहरुले जित्ने दुवैको विश्वास छ।
यस्तै धनगढी काजमा पठाइएका अर्का चिकित्सक चेतराज भट्टले अहिलेको अवस्थामा अहिले पठाइएको जनशक्ति पर्याप्त रहेको र संख्या बढेमा मन्त्रालयले थप जनशक्ति पठाउने विश्वास व्यक्त गरे।
कोरोना भाइरसका सङ्क्रमितको उपचारका लागि धनगढी विमानस्थलमा शुक्रबार पुगेको चिकित्सक टोली। तस्बिर : रासस
‘अहिले अवस्थामा यो जनशक्तिले धान्छ भन्ने लाग्छ’, उनले भने, ‘थप केस नदेखियोस् भन्ने कामना गरौं। यदि केस बढ्यो भने मन्त्रालयले त्यहीअनुसार जनशक्ति परिचालन गर्छ भन्ने हाम्रो अनुमान छ।’
होेटलमा बास, आइतबारदेखि खट्ने
शुक्रबार दिउँसो यति एयरलाइन्सको चार्टड फ्लाइटबाट धनगढी पुगेका चिकित्सकहरुको सो दिन परिचयात्मक कार्यक्रममा बितेको थियो। शनिबार बसोबास र व्यक्तिगत प्रबन्ध मिलाएका उनीहरु आइतबारबाट खटिएका छन्।
उनीहरुले अस्पतालमा के कस्तो जनशक्ति आवश्यकता छ र को कहाँ खटिने आज टुंग्गो लाग्ने बताए।
संक्रमितहरुको सम्पर्कमा आउने भएकाले उनीहरुबाट पनि अरुलाई सर्नसक्ने जोखिमलाई ध्यान राख्दै सबैलाई स्थानीय फ्लोरा होटलमा अलग्गै कोठामा दिएर राखिएको छ। स्थानीय व्यवस्थापनबाट आगन्तुक चिकित्सकहरुले सन्तुष्ट व्यक्त गरे।
‘लकडाउनका बेला केही समस्या त हुन्छ नै। समग्रमा यहाँको समन्वयन राम्रो पायौं’, धनगढी पुगेका डा. साहले भने, ‘प्रदेश सरकारका माननीयहरु, सचिव तथा अरुहरु भेट्न आउनुभएको छ। यहाँ उपलब्ध सेवा सुविधा दिई हामीलाई राखिएको छ। हामी सन्तुष्ट छौं।’
अर्का चिकित्सक डा. चेतराज भट्ट पनि समन्वयन तथा व्यवस्थापनमा सन्तुष्ट देखिए। उनले काम गर्ने क्रममा केही सानातिना समस्याहरु देखिए पनि त्यसलाई ठूलो इस्यु बनाउँन नहुने बताए।
‘अहिले व्यवस्थापन र समन्वयन राम्रै देखिएको छ। हामीहरुको मनोबल पनि उच्च छ’, डा. भट्टले भने, ‘काम गर्ने क्रममा केही सानातिना समस्याहरु आउन सक्छन्। समस्याको सामाधान गर्दै अघि बढ्ने हो। त्यसलाई धेरै ठूलो इस्यु बनाउँनु पनि हुँदैन।’
डा. अधिकारीले पनि सबैले एकदम सहयोग गरेको भन्दै खान, बस्न तथा व्यवस्थापनमा समस्या नरहेको बताए।
‘डाक्टरले डराउने हैन’
स्वास्थ्य मन्त्रालयले पहिले नै आवश्यकता परेका स्थानमा सरकारी छात्रवृत्तिमा अध्ययन चिकित्सकहरुलाई खटाउने निर्णय गरेको थियो। सोही निर्णय अनुसार गत चैत ३० गते यस ३४ जनाको टोलीलाई सुदूरपश्चिममा खटाउने निर्णय गरिएको हो।
आफूहरुलाई संक्रमित देखिएको र जोखिम बढी भएको ठाउँमा खटाउने सरकारको निर्णयलाई सहर्ष स्वीकार गरेको चिकित्सकहरुले बताएका छन्।
‘बिरामी जाच्ने हाम्रो धर्म हो। बिरामीसँग हामी डरायौं भने धर्मै रहँदैन’, तीन वर्षदेखि वीर अस्पतालमा खटिइरहेका डा. साहले भने, ‘फ्रन्टलाइनमा खटिन सुदूरपश्चिम जादैँछौं भन्ने सुन्दा डर लागेन र लागेको पनि छैन। हाम्रो काम नै यही हो, हामीले सेवा नदिएर कसले दिन्छ।’
साहले चिकित्सकहरु धेरै बिरामीको सम्पर्कमा आउने भएकाले उनीहरु थप सुरक्षित हुनुपर्ने बताए। ‘आफू बाँचे अरुलाई बचाउन सकिन्छ’, उनले भने।
अर्का चिकित्सक भट्टले सुदूरपश्चिम आएर पनि आफूले यसअघि गरिरहेकै कामलाई निरन्तरता दिएको भन्दै डराउने पर्ने अवस्था नरहेको बताए।
‘यो हामीले गरिरहेकै काम हो। सुदूरपश्चिममा डिमान्ड बढेकोले यहाँका स्वास्थकर्मीले गरिरहेकै कामलाई पछाडिबाट टेवा दिने उद्देश्यले हामीलाई खटाइएको हो’, डा. भट्टले भने, ‘हाम्रो दैनिक काममा पनि जोखिम हुन्छ। यो विशेष अवस्था भएकाले व्यक्तिगत सुरक्षाका सामग्रीहरु प्रयोगमा बढी ध्यान दिइएको हो। यहाँ पीपीई छँदै रहेको जानकारी पाएका छौं। हरेक बिरामी हेर्दा पीपीई नै चाहिने हैन। आत्तिनुपर्ने अवस्था छैन। यहाँ जस्तो अवस्था छ। त्यही अनुसार काम गर्नेछौं।’

प्रतिक्रिया