समाज


घाइते जेन-जी भन्छन् : सुशीला चिन्दैनौँ, बालेन र हर्कले चान्स पाऊन्

‘यत्रो गोली खाइयो, जेन जीका नेता भेट्न समेत आएनन्’
घाइते जेन-जी भन्छन् : सुशीला चिन्दैनौँ, बालेन र हर्कले चान्स पाऊन्

लक्ष्मी बलायर
भदौ २७, २०८२ शुक्रबार १९:०, काठमाडौँ

शुक्रबार दिउँसो सिभिल अस्पताल पुग्दा सुभास दाहाल बेडमा पल्टेर फोन हेरिरहेका थिए। केही दिनयता आन्दोलन र सरकारबारे आइरहेका खबरले उनको ध्यान बिथोलिरहेका छन्।

‘बाहिर केके कुराहरू आइरहेको छ। गोली खाएर रगतले लतपतिएको मान्छेसँग भने कोही सोध्न र भेट्न पनि आएको छैन। जेनजीको लिडर भनेका छन्। सबै आनन्दले सोफामा बसेर पडकास्टमा बोलिरहेका छन्। पीडितको आडमा फाइदा उठाउने धेरै भए,’ उनले आक्रोश पोखे।

१९ वर्षीय सुभास आन्दोलनकै लागि भनेर बनेपाबाट सोमबार काठमाडौँ आएका थिए। सुरूमा शान्त थियो माहोल। बानेश्वर पुगेपछि अचानक गोली चल्न थाल्यो। संसद् भवनको गेटअगाडि उनको दुवै खुट्टामा गोली लाग्यो।

उनका अनुसार सटगनबाट हानिएको गोलीले मासु पुरै फुटेको छ। नसावरिपरि गोलीका छर्राहरू पनि छन्। त्यो निकाल्न खोज्दा नशा काटिने सम्भावना ज्यादा छ। जसकारण गोली निकालिएको छैन।

आफूले पीडा भोगे पनि देशले नयाँ युवा नेतृत्त्व पाउनुपर्ने उनको चाहना छ।

‘प्रधानमन्त्री कुनै पनि पार्टीबाट नहोस्। नेतृत्व युवाबाट होस् भन्ने मेरो विचार छ। कसैको दबाबमा आएर भन्दा पूरै देशको जिम्मा लिनसक्ने युवा नेतृत्त्व चाहिएको छ। बालेन र हर्कसहितका दुईतीन जना हुनुहुन्छ। उहाँहरूलाई नै दिँदा राम्रो,’ उनले भने, ‘सुशीला कार्की भनेको हामी युवाको मान्छे नै होइनन्। उहाँले आफ्नो ठाउँमा राम्रो गर्नुभएको होला। तर, उहाँले पनि नराम्रो कार्य गरेको प्रमाणसहित आएको छ। उहाँलाई चाहिँ किन दिने त?

भ्रष्टाचारले नै देश डुबाएको भन्दै नेताहरूले सम्पत्ति राज्यलाई फर्काउनुपर्ने उनी बताउँछन्।

चन्द्रागिरि बस्ने सन्देश लिम्बू भदौ २३ मा जापानी भाषा सिक्न पुतलीसडक आए। केहीअघि नै भष्ट्राचारविरुद्ध आन्दोलन हुँदैछ भन्नेबारे उनी जानकार थिए। त्यसैले कक्षा सकिएपछि घर नगई उनी सिधै माइतीघर आएर आन्दोलनमा सहभागी भए।

आन्दोलन टोली माइतीघरबाट बानेश्वरतर्फ लाग्यो। आन्दोलनकै क्रममा संसद् भवनअगाडि साढे १ बजे सन्देशलाई गोली लाग्यो। उनको घुँडामा लागेर हड्डी छेडिएको छ। अस्पतालको बेडमा पल्टिरहेका उनको एउटै माग छ: युवाहरूलाई नयाँ नेतृत्त्व अवसर दिनुपर्छ।

‘सुशीला कार्की को हो? कस्तो हुन्? मलाई ब्याकग्राउन्ड केही थाहा छैन। ब्याकग्राउन्ड केही थाहा नपाएकोलाई प्रधानमन्त्रीको लागि म कसरी हुन्छ भन्नु! हामीले चिनेका युवाहरू हर्क साम्पाङ र बालेन शाहलाई चान्स दिनुपर्छ भन्न चाहन्छु। घाइते युवाहरूको कुरा पनि सुन्नुपर्छ,’ उनी भन्छन्।

बेड नम्बर १३२ मा पल्टिरहेका महादेव बुढाक्षेत्री निकै चिन्तित देखिन्थे। गोलीको चोटभन्दा पनि बाहिर आइरहेका समाचारले टाउको दुखिरहेको उनको भनाइ थियो।

‘संसद् भवननिर ताकीताकी हानेको हो। यो खुन र जतिलाई गोली लाग्यो नि, त्यो खेर नजाओस् भन्ने हो। देशले राम्रो नेतृत्व पाउनुपर्छ। फेसबुक स्क्रोल गर्दा दिक्क लागिसकेको छ। एउटाको राम्रो कुरा आउँछ। अर्कोमा नराम्रो भनेर आउँछ। अब त विश्वास भन्ने कुरा नै उठिसक्यो। संसद् विघटन हुनुपर्‍यो। र, प्रत्यक्ष निर्वाचनबाट प्रधानमन्त्री आउनुपर्‍यो। हाम्रो आशा भनेकै बालेन शाह हो,’ नेपालगञ्ज घर भएका २७ वर्षीय महादेवले भने।  

बेड नम्बर १३४ का रोहन डिस्चार्ज हुने समय कुरिरहेका थिए। छेउमै रहेकी उनकी आमा पनि छोरालाई घर लैजान उत्साहित देखिन्थिन्। सोमबार खाना खाएर निस्किएको छोरालाई गोली लागेको खबर सुन्नुपर्दा उनको होस उडेको थियो।

‘कलेज गएको थियो। छिटो खाना पस्किनु म आन्दोलनमा जान्छु भन्यो। नजाऊ भन्दा मेरो उमेरको नगएर हुन्छ भन्दै बाइकमा निस्कियो। साढे ११ बजेसम्म सम्पर्क भइरहेको थियो। पछि त घाइते भएको खबर आयो। धन्न ज्यान बच्यो,’ उनले ढुक्कको स्वास फेर्दै भनिन्।  

रोहन दुईजना साथीहरूसँगै आन्दोलनमा आएका थिए। तर, संसद् भवनअघि पुग्दा दायाँ काँधमा प्रहरीले ताकेरै गोली हानेको दाबी गर्छन् उनी। गोली निकाल्न दुइचोटि अप्रेसन भइसकेको छ। अझै छर्राहरू बाँकी नै छन्।

गोली खाएर असह्य पीडा भोग्दा समेत जेन जी आन्दोलनको नेतृत्त्वकर्तामध्ये कोही पनि भेट्न नआएको भन्दै उनले चित्त दुखाए।

‘देशमा परिवर्तन गर्नुपर्छ भन्ने सोच लिएर आएका थियौँ। त्यो पनि सफल भयो। तर, अब नयाँ नेतृत्व कसरी गर्ने भनेर थुप्रै छलफल चलिरहेको छ। स्वार्थकेन्द्रित कुरा आइरहेको छ। गोली खाएर हामीले गरेको बलिदानको कदर होस् भन्ने छ,’ उनले भने, ‘हामीलाई भेट्न वा हाम्रो रायसुझाव लिन कोही पनि जेनजी नेतृत्व आउनुभएको छैन। जुन दु:खद हो। त्यो देख्दा आफ्नो स्वार्थ मात्रै लिन खोजेको जस्तो लाग्यो।’

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण हालसम्म देशभरि ५१ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ। १ हजार ८७२ जना घाइते छन्। यतिखेर सिभिल अस्पतालमा २३ जनाको उपचार भइरहेको सिभिल अस्पतालकी सूचना अधिकारी रञ्जना नेपालले जानकारी दिइन्। उनका अनुसार एकजनाको भने अवस्था गम्भीर छ भने केही आजै डिस्चार्ज भएका छन्।

गोंगबु गणेशस्थान बस्ने नारायण श्रेष्ठले पनि मंगलबार छातीमा गोली खानुपर्‍यो। तर, रबरको गोली भएकाले २६ वर्षका उनी बाँच्न सफल भए।

जेनजीको नाममा परिचालित मान्छेहरू सत्तामा जाँदा आफ्नो माग पूरा नहुने आशंका उनमा बढेको छ।

‘हामी परिवर्तन चाहेर लडेका हौँ। प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संविधान नै संशोधन होस् भन्ने हाम्रो माग हो। जसको लागि गोली पनि खाइयो। तर, हाम्रो भनेजस्तो माग नै पूरा भएन। जेनजीको नाममा एकदम खराब र परिचालित मान्छेहरू गएका छन्। त्यसमा चाहिँ चित्त बुझेको छैन,’ उनले भने।

बालेन शाह र हर्क साम्पाङजस्ता स्वतन्त्रहरू प्रधानमन्त्री बन्नुपर्ने उनको माग छ। परिवर्तनका लागि लडेको बताउँदै संसद् विघटन गरेर नयाँ नेतृत्त्व ल्याउँदा मात्रै नेपाल बन्ने सुनाउँछन् श्रेष्ठ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad